लघु उद्यमको प्रदर्शनी
सुर्खेत: वीरेन्द्रनगरमा लघु, घरेलु तथा महिला उद्यमीले उत्पादन गरेका सामग्रीको प्रदर्शनी गरिएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको परिसरमा रहेको औद्योगिक ग्राममा प्रथम लघु, घरेलु एवम् महिला उद्यमीद्वारा उत्पादित वस्तुहरूको प्रादेशिक प्रदर्शनी गरिएको हो । महिला उद्यमी संघ कर्णाली प्रदेशका अध्यक्ष गोमा वलीले कृषि, साना, लघु, घरेलु महिला उद्यमीहरूले उत्पादन गरेको वस्तु तथा सामग्रीको प्रदर्शनी मेलाले बजारीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरिन । उनले यस्ता मेलाहरूले उद्यमीबीच एक आपसमा समन्वय तथा सहकार्यको विकासका साथै सीप हस्तान्तरणसमेत हुने बताइन् । उनका अनुसार मेलामा कर्णाली प्रदेशका दशै जिल्लाका महिला उद्यमीहरूले उत्पादन गरेका कृषि, लघु, घरेलु वस्तुहरूको प्रर्दशनी गरिएको छ ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव मोहनदेव जोशीले उद्योग स्थापना परिचालनका लागि कर्णालीका दुई सय २० जना लघु तथा घरेलु उद्यमीलाई १० देखि २० लाख रूपैयाँसम्म निःशुल्क व्याज ऋण उपलब्ध गराउने कार्यक्रम प्रदेश सरकारले ल्याएको जनाए । स्थानीय कच्चा पदार्थमा आधारित उद्योगको सदृढिकरण गर्न चाहने एक सय जना उद्यमीका लागि १० देखि २५ लाख रूपैयाँ अनुदानको कार्यक्रम रहेको उनले बताए । स्थानीय कच्चा पदार्थमा आधारित उद्योग स्थापना गर्न चाहिने उद्यमीलाई डेढ करोड रूपैयाँ व्याज अनुदानको समेत व्यवस्था मिलाइएको छ ।
त्यस्तै, नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय अध्यक्ष उमेशप्रसाद सिंहले स्वदेशी वस्तुको उत्पादन वृद्धि नगरी स्वदेशी वस्तु निर्यात घटाउन नसिकने बताएका छन् । त्यसका लागि तीनै तहका सरकारले पालिकामा एउटा औद्योगिक ग्राम निर्माणमा जोड दिनुपर्ने उनको भनाइ छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशका अध्यक्ष चन्द्रबहादुर विसीले बजारीकरणको अभावमा कर्णालीका २७ हजार लघु घरेलु उद्योगहरूको अवस्था दिनप्रतिदिन कमजोर बन्दै गइरहेकाले राज्यले ती उद्योगको संरक्षणका लागि नीतिगत सुधार गर्न आवश्यक रहेको औल्याए । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित तीनदिने प्रदर्शनी मेला बुधवार सम्पन्न हुने बताइएको छ ।
प्रकाशित मितिः १५ असार २०७९, बुधबार ०५:०२
साझा बिसौनी ।