मदन जयन्तीमा विविध कार्यक्रम

सुर्खेत: नेकपा (एमाले) का तत्कालीन महासचिव मदन भण्डारीको मंगलवार ७१औँ जन्म जयन्ती मनाइएको छ । सोही अवसरमा सुर्खेतमा विविध कार्यक्रम गरिएको छ । एमाले सम्वद्ध विभिन्न जनसंगठनहरूले विचार गोष्ठी, अन्तरक्रिया र रक्तदानलगायतका कार्यक्रम गरी मदन जयन्ती मनाएका हुन् । मदन भण्डारी फाउण्डेसन सुर्खेतको आयोजनामा वीरेन्द्रनगरमा ‘जनताको बहुदलीय जनवाद र जननेता मदन भण्डारी’ विषयक अन्तरक्रिया भएको छ । फाउन्डेसन सुर्खेतका अध्यक्ष नवराज रावतको अध्यक्षता तथा एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलको प्रमुख आतिथ्यतामा अन्तरक्रिया सम्पन्न भएको हो । अन्तरक्रियाका सहभागिहरूले मदन भण्डारीले प्रतिपादन गरेका विचार र सिद्धान्तको विकास गर्दै त्यसलाई व्यवहारमा उतार्न आवश्यक रहेको औंल्याएका थिए । उक्त कार्यक्रममा झन्डै एक सय जनाको सहभागिता रहेको थियो ।

यसैबीच, मदन जयन्तीकै अवसरमा मंगलवार रक्तदान कार्यक्रम गरिएको छ । फाउन्डेसनको समन्वयमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ‐अनेरास्ववियू) कर्णाली प्रदेश कमिटीले रक्तदान कार्यक्रम आयोजना गरेको हो । एमाले सुर्खेतको पार्टी कार्यालय परिसरमा भएको कार्यक्रममा २६ जनाले रक्तदान गरेका थिए । भण्डारी र एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते दासढुङ्गा भएको जीप दुर्घटनामा परी रहस्यमय निधन भएको थियो । नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि ‘जनताको बहुदलीय जनवाद (जबज)’ को सिद्धान्त प्रतिपादन गरेका भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा भएको थियो ।

प्रकाशित मितिः   १५ असार २०७९, बुधबार ०५:०१