एसओएस दिवसमा लोकनृत्य र म्याराथन प्रतियोगिता

सुर्खेत: एसओएस हर्मन माइनर विद्यालयमा लोक नृत्य तथा खुला म्याराथन प्रतियोगिता भएको छ ।३६औँ अन्तर्राष्ट्रिय एसओएस दिवसका अवसरमा अन्तर विद्यालयस्तरीय प्रतियोगिता आयोजना गरिएको हो ।

म्याराथन प्रतियोगितामा छात्रतर्फ जनज्योति माध्यमिक विद्यालय बड्डीचौरका अजय विक प्रथम भए । सोही विद्यालयका रेशमबहादुर शाही द्वितीय, शिव माध्यमिक विद्यालय लाटीकोइलीका हरिबहादुर रावत तृतीय र जन माध्यमिक विद्यालय वीरेन्द्रनगरका प्रभात बुढा चौथो भएका छन् ।

छात्रातर्फ श्रीकृष्ण माध्यमिक विद्यालय इत्रामका विमला कार्की प्रथम, मदरसा स्कुल पिपिराका विमला विक द्वितीय, श्रीकृष्णकै खगीसरा जैसी तृतीय र कोपिला भ्याली स्कुलका अस्मिता नेपाली चौथो हुन सफल भए ।

यसैगरी १४ वटा विद्यालयको सहभागिता रहेको अन्तर विद्यालय लोक नृत्य प्रतियोगितामा कोपिला भ्याली स्कुल प्रथम, सैनिक आवासीय महाविद्यालय द्वितीय, सिद्धपाइला बोर्डिङ स्कुल तृतीय र एडभान्स बोर्डिङ स्कुल सान्त्वना भएका छन् । दुवै प्रतियोगिताका विजेताहरूलाई नगद पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, उपप्रमुख निलकण्ठ खनाल, विद्यालयका कार्यवाहक प्राचार्य हरिहर बस्नेत, एसओएस बालग्रामका निर्देशक गोपाल घिमिरेसहितको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   ९ असार २०७९, बिहीबार ०५:०२