फोहोर विसर्जनमा दुई पालिकाबीच विवाद

सुर्खेत: एउटा पालिकाको फोहोर अर्को पालिका क्षेत्रमा लगेर फालिएको भन्दै विवाद उत्पन्न भएको छ । वीरेन्द्रनगर नगरपालिकाले नगरबाट उठाएको फोहोर बराहताल गाउँपालिकाको वन क्षेत्रमा जथाभाबी फाल्ने गरेको आरोप लागेको छ ।

वीरेन्द्रनगर–१ को पश्चिम र बराहताल–१० को पूर्व सीमाना जोडिएको छ । वीरेन्द्रनगर नगरपालिकाले वडा नं. १ को तारेभिर नजिकै फोहोर फाल्छ । सोही स्थानमा फोहोर फाल्दा आफ्नो क्षेत्रमा परेको भन्दै बराहताल गाउँपालिकाको वडा नं. १० ले आपत्ती जनाएको हो । वीरेन्द्रनगरले फोहोर फाल्ने गरेको आधा भू–भाग आफ्नो क्षेत्रमा पर्ने बराहतालको दाबी छ ।

जानकारीविना आफ्नो वन क्षेत्रमा फोहोर फाल्न थालिएपछि जेठ ३१ गते बराहताल–१० का बासिन्दाले जिल्ला प्रशासन कार्यालय र वीरेन्द्रनगर नगरपालिकाको ध्यानाकर्षण गराएका थिए । समस्याको समाधान खोज्न वीरेन्द्रनगर नगरपालिका तयार नभएको बराहताल–१० का वडा अध्यक्ष हरिलाल सलामीले बताए । अघिल्लो कार्यकालदेखि नै आफूले यो विषयमा आवाज उठाउँदै आए पनि समाधान नखोजिएको उनी बताउँछन् । ‘वीरेन्द्रनगरले हामीमाथि हेपाह प्रवृति देखायो,’ उनले भने, ‘पटक–पटक यो सवाल उठाउँदा पनि बेवास्ता भयो ।’ वीरेन्द्रनगरको फोहोर बराहतालको वन क्षेत्रमा फालिदा दुर्गन्ध फैलिएको सलामीले बताए । ‘वीरेन्द्रनगरले फोहोरको उचित व्यवस्थापन नगर्दा बराहतालका बासिन्दालाई सास्ती भएको छ,’ उनी भन्छन्, ‘पैदल हिँडेर वीरेन्द्रनगर आउँदासमेत बाटोभरी फोहोर देखिन्छ, आवतजावतमै निकै समस्या भइरहेको छ ।’

जथाभाबी फोहोर विसर्जन गर्दा दुई पालिकाबीच द्वन्द्व चर्किने देखिएको बराहतालका स्थानीय बताउँछन् । वन क्षेत्रमा यत्रतत्र फोहोर फाल्दा त्यसको असर आफूहरूलाई परिरहेको उनीहरूको गुनासो छ । सहमति र सहकार्यविना मनपरी फोहोर फाल्ने र जलाउँने गर्दा निकै प्रदुर्षण भइरहेको वडा अध्यक्ष सलामीले जनाए । उनले भने, ‘दैनिक रूपमा प्लाष्टिकजन्य फोहोर जलाउँदा त्यसको धँुुवाले नजिकैका बस्तीहरूमा असर परिरहेको छ । जंगलका बोट विरुवा मासिएका छन्, घाँस दाउरा, मेलापात गर्न सकिने अवस्था छैन ।’ उनका अनुसार वडा नम्बर १० को सिमलचौर, पाती, धुुम्के, फौजापानी लगायतका क्षेत्र फोहोरका कारण बढी प्रभावित भएका छन् । फोहोर व्यवस्थापनमा वीरेन्द्रनगर बेखबर बनेको बराहतालका जनप्रतिनिधिको आरोप छ । साउन १ गतेसम्म फालिएको फोहोरलाई सम्बन्धित ठाउँमा व्यवस्थापनका लागि बराहतताल–१० ले वीरेन्द्रनगरलाई आग्रह गरेको छ । तोकिएको समयमा व्यवस्थापन नगरिए आगामी दिनमा फोहोर फाल्न अवरोध गर्ने चेतावनी दिइएको छ । ‘अब पनि चासो नदिए फोहोर लिन नदिने गरी अवरोध गर्छांै,’ वडा अध्यक्ष सलामी भन्छन् ।

बराहताल–१० सँग साँधसीमा जोडिएको वीरन्द्रनगर–१ का अध्यक्ष दिनेश खत्रीले फोहोर व्यवस्थापनमा नगरपालिकाले खासै चासो नदिएको बताए । ‘सम्बन्धित ठाउँमा फोहोरको व्यवस्थापन हुन नसकेको सत्य हो,’ उनले भने, ‘फोहोर जंगल, बाटोघाटो र खोलामा फाल्ने गरिएको छ ।’ कुहिने नकुहिने फोहोरसमेत छुट्याउने नगरिएको उनी बताउँछन् । प्लाष्टिकजन्य पदार्थ दैनिक जलाइँदा त्यसको असर नजिकका बस्तीमा परिरहेको खत्रीले जनाए । फोहोर फाल्ने गरिएको क्षेत्र सामुदायिक वन भएकाले जग्गा कहाँ कति कसको पर्छ भन्नेबारे यकिन जानकारी नरहेको उनको भनाइ छ । सम्बन्धित ठाउँमा फोहोर विसर्जन नहुने समस्या भने रहेको उनी स्वीकार्छन् । केही दिन पहिले वीरेन्द्रनगर–१ का स्थानीयले पनि फोहोर जथाभाबी फाल्दा दुर्गन्ध फैलिएको भन्दै नगरपालिको विरोध गरेका थिए । उनीहरूले सोही कारण एक दिन फोहोर ढुवानीमा अवरोधसमेत गरेका थिए ।

वीरेन्द्रनगर नगरपालिकाले भने फोहोर व्यवस्थापनमा केही समस्या रहेपनि आफ्नै क्षेत्रमा फोहोर विसर्जन गर्दै आएको दाबी गरेको छ । फोहोर फाल्ने स्थान वीरेन्द्रनगरकै सामुदायिक वन क्षेत्र रहेको नगरप्रमुख मोहनमाया ढकालले बताइन् । यसबारे वास्तविकता बुझ्न तत्कालै अनुगमन गरिनेसमेत उनले जनाइन् । ‘बराहताल गाउँपालिकाको जंगलमा फालिएको वा के भएको हो भन्नेबारे एकपटक अनुगमन गरिनेछ,’ उनले भनिन्, ‘फोहोरको दुर्गन्धले असर गरेको छैन भन्न सकिन्न, यससम्बन्धी जानकारी लिएर आवश्यक कदम चालिनेछ ।’ उनले वीरेन्द्रनगर–१ का स्थानीयका माग सम्बोधन हुर्नेगरी फोहोर व्यवस्थापनलाई आधुनिकरण गर्न लागिएको जानकारी दिइन् । ‘स्थानीयको माग सम्बोधन गर्न नगरपालिका तत्पर छ,’ उनले भनिन्, ‘हामीले फोहोर व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने योजना बनाएका छौँ ।’

वीरेन्द्रनगर–१ का बासिन्दाले मोटर बाटो विस्तार, फाहोर सम्बन्धित ठाउँमा विसर्जन गर्नुपर्ने लगायतका माग राखेका छन् । नगरपालिकाले उक्त विषयलाई भने सम्बोधन नगरेको उनीहरूको गुनासो छ । नगर प्रमुख ढकालले ल्याण्डफिल साइट निर्माणलाई तीव्रता दिइने भन्दै त्यसका लागि लगानीको स्रोत खोजी भइरहेको बताइन् । फाहोरले दुर्गन्ध फैलिएको विषयलाई मध्यजनर गर्दै छिट्टै कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै व्यवस्थापन गरिने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मितिः   ७ असार २०७९, मंगलवार ०५:०५