बजेटको दुरूपयोग

चालु आर्थिक वर्षको अन्त्यतिर आइपुग्दा सहरदेखि गाउँसम्म विकास–निर्माणको गति बढेको देखिन्छ । यो नयाँ दृष्य भने होइन । हरेक वर्ष असारमा हतारको विकास हुने परम्परा नै बनिसकेको छ । यसैले ‘असारे विकास’ समेत भन्ने गरिन्छ । असार अर्थात् आर्थिक वर्षको अन्तिम महिना सुरु भएसँगै भौतिक पूर्वाधार निर्माणका काम धमाधम गर्न थालिएको हो । आर्थिक वर्षको लामो समयसम्म काम नगर्ने र समय घर्किएपछि हतारमा बजेट खर्चिने सरकारी प्रवृत्तिले यो वर्ष पनि निरन्तरता पाएको छ । चालु वर्ष २०७८/०७९ सकिन तीन साता बाँकी रहँदा स्थानीय, प्रदेश र संघीय सरकारका निकायहरू बजेट सक्ने चटारोमा छन् । यसपालि पनि असारमै सडक विस्तार, कालोपत्रे, ढल निर्माण र मर्मतलगायतका अन्य विकास निर्माणका काम भइरहेका हुन् ।

असारे विकास बजेट सक्ने विकल्प हो । विकासको दीर्घकालीन सोच होइन । वर्षभरी काम नगर्ने तर अन्तिममा बजेट खर्च बढाउन गरिने विकासले राज्यकोषको दोहोन मात्रै गरेको छ । कर्णालीका अधिकांश स्थानीय तहको हालसम्मको विकास बजेट खर्च निराशाजनक छ । चालु आर्थिक वर्ष सकिनै लाग्दा पनि धेरै पालिकाको वित्तीय प्रगति निकै कमजोर देखिएको हो । कर्णाली प्रदेश सरकारले समेत चालु आर्थिक वर्षको जेठ मसान्तसम्म जम्मा ३० प्रतिशत बजेट कार्यान्वयन गरेको छ । त्यसकामा पनि पुँजीगत खर्चको झनै विजोग छ । प्रदेश सरकारले पुँजीगततर्फको २५ प्रतिशत बजेट मात्र खर्च गरेको छ । बजेट खर्च बढाउन प्रदेशले पनि यतिबेला पूर्वाधार निर्माणका कामलाई तीव्रता दिएको छ । असारमा गरिने विकासले एकातिर कामको गुणस्तर कमजोर हुने र अर्कोतिर बजेटको दुरूपयोग हुने देखिन्छ ।

वार्षिक विनियोजित विकास बजेटको ठूलो हिस्सा असार मसान्तमै खर्च हुँदै आएको छ । बजेट सक्ने ध्याउन्नमा हतारमा काम गर्दा पूर्वाधार गुणस्तरहीन बन्ने जोखिम हुन्छ । स्थानीय, प्रदेश र संघ तीनै तहका सरकारले हरेक वर्ष साउनबाटै बजेट कार्यान्वयन गर्ने बताउँदै आएपनि सुधारका प्रयास भने भएको पाइँदैन । विकासे निकायले पुरानै प्रवृत्तिको पुनरावृत्ति गर्दै आएका हुन् । खर्च बढाउन असार मसान्तमा रकमान्तर गर्ने समस्या पनि बढ्दै गएको छ । यसपटक पनि एक शीर्षकमा छुट्याएको बजेट रकमान्तर गरेर अर्कोमा खर्च गर्न थालिएको छ । हरेक वर्ष यति प्रवृत्तिले निरन्तरता पाउँछ । यसलाई रोक्न जरुरी छ । हरेक वर्ष असारमा आउने आगामी वर्षको बजेट अर्थिक वर्षको सुरुवातबाटै प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकेको खण्डमा असारे विकासको प्रवृत्ति अन्त्य हुनेछ ।

प्रकाशित मितिः   ७ असार २०७९, मंगलवार ०५:०३