बालबालिकालाई फाइजर खोप लगाइँदै

सुर्खेत: बालबालिकालाई कोरोना भाइरस ‐कोभिड–१९) विरुद्धको फाइजर खोप लगाइने भएको छ । यही असार ९ देखि १५ गतेसम्म सुर्खेतका पाँच वर्षदेखि ११ वर्ष मुनि उम्मेर समूहका बालबालिकालाई खोप दिन लागिएको हो । जनस्वास्थ्य सेवा कार्यालयका अनुसार उक्त अभियान अन्तर्गत ४९ हजार ६ सय १९ जना बालबालिकालाई फाइजर खोप दिने लक्ष्य लिइएको छ । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका सूचना अधिकारी अमरबहादुर रानाले बालबालिकालाई फाइजर खोप लगाउने तयारी भइरहेको जनाए । त्यसका लागि जिल्लाका सबै स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण गर्ने काम सम्पन्न भएको उनले बताए । खोप विद्यालयमै केन्द्र स्थापना गरेर लगाउने गरिएको तयारी छ ।

खोपको पहिलो मात्रा लगाएको २१ दिनदेखि २८ दिनपछि दोस्रो डोज लगाइने जनाइएको छ । जनस्वास्थ्य सेवा कार्यालयको विवरणअनुसार जिल्लाको कूल जनसंख्या तीन लाख ६१ हजार आठ सय ३५ मध्ये ५ वर्षदेखि ११ वर्ष मुनिका बालबालिकाको संख्या ४९ हजार ६ सय १९ रहेको छ । सो उमेर समूहका सबै बालबालिकालाई खोप दिइने जनाइएको छ । जसमध्ये वीरेन्द्रनगर नगरपालिकामा ११ हजार पाँच सय ५२, भेरीगंगा नगरपालिकामा ६ हजार ६९, बराहताल गाउँपालिकामा चार हजार २४, चौकुने गाउँपालिकामा चार हजार चार सय ७६ जना बालबालिकालाई फाइजर खोप दिइँदै छ । त्यस्तै, लेकवेसी नगरपालिकामा चार हजार तीन सय ३८, चिङ्गाड गाउँपालिकामा तीन हजार १६, गुर्भाकोट नगरपालिकामा ६ हजार ६ सय ७५, पञ्चपुरी नगरपालिकामा पाँच हजार चार सय ४७ र सिम्ता गाउँपालिकामा चार हजार २४ जना बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइने तयारी गरिएको छ । तोकिएको उमेरका बालबालिकाहरूलाई अनिवार्य रूपमा खोप लगाइ रोगविरुद्ध लड्ने क्षमता बढाउन जनस्वास्थ्य सेवा कार्यालयले अनुरोध गरेको छ । यसअघि १२ देखिमाथि र १७ वर्ष मुनिका बालबालिकालाई फाइजर खोप लगाइसकिएको छ ।

प्रकाशित मितिः   ७ असार २०७९, मंगलवार ०५:०२