बालबालिकाको स्वास्थ्य परीक्षण

सुर्खेत: एसओएस हर्मन माइनर विद्यालय सुर्खेतमा बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । ३६औँ अन्तर्राष्ट्रिय एसओएस दिवसको अवसर पारेर करिब एक सय ५० जना विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गरिएको हो ।

विद्यालयका पूर्व विद्यार्थीहरूको संगठनले स्वास्थ्य परीक्षण कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै सेसका अध्यक्ष दिव्यराज खड्काले विद्यार्थीहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराइएको जानकारी दिए । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्दै जाने बताए ।

डा. नवराज के. सी. र डा. अर्चना कार्कीको नेतृत्वमा प्रदेश अस्पतालमा कार्यरत चिकित्सकहरूको टोलीले बालबालिकाको स्वास्थ्य परीक्षण गरेको थियो । स्वास्थ्य परीक्षणबाट बालबालिकालाई प्रत्यक्ष लाभ भएको विद्यालयका सहप्राचार्य हरिहर बस्नेतले बताए ।

एसओएस हर्मन माइनर विद्यालय सुर्खेतले एसओएस दिवसका उपलक्ष्यमा सप्ताहव्यापी विविध कार्यक्रमको आयोजना गरेको छ । छात्र–छात्राको आन्तरिक र बाह्य म्याराथन (लामो तथा छोटो दूरीकोे) दौड, वातावरणीय सरसफाइ, शिक्षक कर्मचारीको आन्तरिक मैत्रीपूर्ण फुटबल तथा भलिबल खेललगायत विविध कार्यक्रम सम्पन्न भइसकेका छन् । जुन २३ मा प्राध्यापक डाक्टर हर्मन माइनरको जन्म दिवसको अवसर पारेर हरेक वर्ष संस्थाले विभिन्न कार्यक्रम गरेर मनाउँदै आएको छ ।

प्रकाशित मितिः   ७ असार २०७९, मंगलवार ०५:०१