असारे विकासको चटारो

सरकारी अधिकारीहरू भन्छन्, विकासको परिपाटी नै असारमुखी भयो

सुर्खेत: यतिबेला टोल–टोलमा विकासका कामले तीव्रता पाएका छन् । असार लागेपछि जताततै विकास निर्माण भइरहेको देखिन्छ । असार अर्थात् आर्थिक वर्षको अन्तिम महिना सुरु भएसँगै भौतिक पूर्वाधार निर्माणका काम धमाधम गर्न थालेको हो । आर्थिक वर्षको लामो समयसम्म काम नगर्ने र समय घर्किएपछि हतारमा बजेट खर्चिने सरकारी प्रवृत्तिले यो वर्ष पनि निरन्तरता पाएको छ । चालु वर्ष २०७८/०७९ सकिन तीन साता बाँकी रहँदा स्थानीय, प्रदेश र संघीय सरकारका निकायहरू बजेट सक्ने चटारोमा छन् । यसपालि पनि असारमै सडक विस्तार, कालोपत्रे, ढल निर्माण र मर्मतलगायतका अन्य विकास निर्माणका काम भइरहेका हुन् ।

वीरेन्द्रनगर नगरपालिकाका अधिकांश क्षेत्रमा सडक विस्तार र कच्ची सडक कालोपत्रे गर्न थालिएको छ । अहिले वीरेन्द्रनगर नगरपालिकाभित्र साना–ठूला गरी झन्डै ७० वटा सडक पूर्वाधारका काम भइरहेका छन् । असार १५ सम्म निर्माण सम्पन्न गर्नेगरी ती सडकहरू स्तरोन्नतिको काम चलिरहेको नगरपालिकाका इन्जिनियर विशाल अधिकारीले बताए । उनका अनुसार अधिकांश सडकको मर्मत अन्तिम चरणमा पुगेको छ भने केहीमा भर्खरै काम थालिएको हो । वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रको सडक फराकिलो बनाउने काम भर्खरै सुरु गरिएको छ । ठेक्का सम्झौता भएको नौ महिनापछि केही दिन पहिलेदेखि स्तरोन्नतिको काम अघि बढाइएको छ । मंगलगढीदेखि गणेशचोकसम्म सडक निर्माणका लागि गत भदौ १७ गते पूर्वाधार विकास निर्देशनालयले खड्का निर्माण सेवा बाँकेसँग ठेक्का सम्झौता गरेको थियो । मनसुन सुरु भइसकेपछि मात्रै उक्त काम सुरु गरिएको छ । पूर्वाधार विकास निर्देशनालय मातहत यस्ता थुप्रै पूर्वाधार निर्माणका काम यतिबेलै भइरहेका छन् ।

सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको संघीय आयोजना कार्यान्वयन इकाईले पनि वीरेन्द्रनगरका कतिपय स्थानमा सडक पूर्वाधार निर्माणका काम गरिरहेको छ । संघीय आयोजना कार्यान्वयन इकाई सुर्खेतले वीरेन्द्रनगरमा यो आर्थिक वर्षमा सञ्चालित नौमध्ये पाँच वटा सडक पूर्वाधारको काम सम्पन्न गरेको छ भने चार वटाको काम बाँकी नै छ । चार वटा सडक पूर्वाधारको काम अन्तिम चरणमा पुगेको इकाई प्रमुख अम्मरबहादुर थापा बताउँछन् । ‘वीरेन्द्रनगरमा मात्रै साना–ठूला गरी नौ वटा सडक पूर्वाधारका काम हुन्,’ उनले भने, ‘केही सम्पन्न भए, कतिपयको काम अन्तिम चरणमा छ ।’ निर्माणका काम असार १५ भित्रै सक्ने लक्ष्य लिइएपनि स्थानीय निर्वाचन, पेट्रोलियम पदार्थको अभाव, ठेकेदारको ढिलासुस्तीजस्ता कारणले केही समय धकेलिने देखिएको उनले बताए । संघीय आयोजना कार्यान्वयन इकाईले पक्की सडक, नाली निर्माण, ग्राबेल गर्नेलगायतका काम भइरहेको जनाएको छ । इकाई प्रमुख थापाले ठेकेदारको लापरबाहीले तोकिएको अवधिमा काम सम्पन्न गर्न कठिनाइ हुने भन्दै यसले नागरिकहरूमा विकासप्रति नकारात्मक विचार पैदा भइरहेको बताए । ‘असारमा हुने काम बजेट सक्नका लागि हो भन्ने बुझाइ देखिन्छ,’ उनी भन्छन् ।

वर्षायाम सुरु भएपछि गरिने विकास निर्माणको कामप्रति स्वयम् सरकारी अधिकारीहरू सन्तुष्ट छैनन् । तर, वार्षिक विनियोजित विकास बजेटको ठूलो हिस्सा भने असार मसान्तमै खर्च हुँदै आएको छ । बजेट सक्ने ध्याउन्नमा हतारमा काम गर्दा पूर्वाधार गुणस्तरहीन बन्ने जोखिम रहने गरेको वीरेन्द्रनगर नगरपालिकाका योजना शाखा प्रमुख हरि केसीले बताए । ‘विकासको परिपाटी नै असारमुखी भएको छ,’ उनी भन्छन्, ‘चालु वर्षमा पनि विगतकै अवस्था दोहोरिएको देखियो ।’ उनले निर्माण समयमै सम्पन्न नहुनुमा मुख्य समस्याका रूपमा ठेकेदारहरू रहेको औल्याए । वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्षको यो अवधिसम्म चालु र पँुजीगत गरी करिब ६० प्रतिशत बजेट मात्रै कार्यान्वयन गरेको छ । बाँकी तीन सातामा नगरले ४० प्रतिशत बजेट खर्च गर्नुपर्ने छ । आर्थिक वर्षको अन्त्यमा धेरै बजेट कार्यान्वयन गरिँदा विकास निर्माणका काम गुणस्तरीय नहुने गरेको नगरबासीको गुनासो छ ।

वीरेन्द्रनगर मात्रै होइन कर्णालीका अधिकांश स्थानीय तहको विकास बजेट खर्च निराशाजनक छ । चालु आर्थिक वर्ष सकिनै लाग्दा पनि धेरै पालिकाको वित्तीय प्रगति निकै कमजोर देखिएको हो । कर्णाली प्रदेश सरकारले समेत चालु आर्थिक वर्षको जेठ मसान्तसम्म जम्मा ३० प्रतिशत बजेट कार्यान्वयन गरेको छ । त्यसकामा पनि पुँजीगत खर्चको झनै विजोग छ । प्रदेश सरकारले पुँजीगततर्फको २५ प्रतिशत बजेट मात्र खर्च गरेको छ । बजेट खर्च बढाउन प्रदेशले पनि यतिबेला पूर्वाधार निर्माणका कामलाई तीव्रता दिएको छ । असारमा गरिने विकासले एकातिर कामको गुणस्तर कमजोर हुने र अर्कोतिर बजेटको दुरूपयोग हुने जानकारहरू बताउँछन् । जसले गर्दा आर्थिक वर्षको अन्त्यमा गरिने विकासको विरोध र आलोचना हुने गरेको छ । कर्णाली सरकारले गत आर्थिक वर्षमा ३८ प्रतिशत बजेट असारमै सकेको थियो । स्थानीय, प्रदेश र संघ तीनै तहका सरकारले हरेक वर्ष साउनबाटै बजेट कार्यान्वयन गर्ने बताउँदै आएपनि सुधारका प्रयास भने भएको पाइँदैन । विकासे निकायले पुरानै प्रवृत्तिको पुनरावृत्ति गर्दै आएका हुन् । खर्च बढाउन असार मसान्तमा रकमान्तर गर्ने समस्या पनि बढ्दै गएको छ । यसपटक पनि एक शीर्षकमा छुट्याएको बजेट रकमान्तर गरेर अर्कोमा खर्च गर्न थालिएको सरकारी अधिकारीहरूले बताएका छन् ।

प्रकाशित मितिः   ६ असार २०७९, सोमबार ०५:०५