फेरि मलकै अभाव

किसानहरू यतिबेला धान रोपाइँको तरखरमा छन् । यसपटक अलिक चाँडै मनसुन भित्रिएकाले पनि समयमै रोपाइँ गर्न पाउने अपेक्षामा कृषकहरू छन् । तर अर्कोतर्फ रासायनिक मलको पिरलो थपिएको छ । बजारमा मलको हाहाकार भएपछि उनीजस्तै थुप्रै किसान अहिले मर्कामा परेका हुन् । कर्णाली प्रदेशका जिल्लाहरूमा रासायनिक मल बिक्री–वितरण गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयसँग यस पटकको रोपाइँ सिजन सुरु भइसक्दा पनि एक बोरा मल छैन । मलको चरम अभाव हुँदा खेतीपातीका काम निकै प्रभावित भएको किसानहरूले बताएका छन् । अनुदानको मल बिक्री–वितरणको जिम्मा पाएको पूर्ण सरकारी स्वामित्वको कार्यालयको गोदाम अहिले खाली छ । सिजनमा मलले भरिभराउ हुनुपर्ने गोदाम रित्तो भएको हो ।

सुर्खेत, दैलेख र जाजरकोटमा कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतबाट मल निर्यात हुने गरेको छ । यसरी पठाइने मल सहकारी संस्थामार्फत किसानलाई बिक्री–वितरण गरिन्छ । कम्पनीले कर्णालीका आठ जिल्लामा दर्ता भएका एक सय आठ वटा सहकारी संस्थामार्फत मल वितरण गर्छ । सल्यान र रूकुम–पश्चिम बाहेकका जिल्लामा कम्पनीको प्रादेशिक कार्यालयबाट मल पठाइँदै आएको छ । कर्णाली प्रदेशका अधिकांश जिल्लामा रासायनिक मल बढी खपत भइरहे पनि हिमाली जिल्लामा भने मलको प्रयोग कम छ । सरकारले तीन प्रकारको खेतीको लागि रासायनिक मल अनुदानमा उपलब्ध गराउँदै आएको छ । धान, गहुँ, मकैको लागि किसानलाई रासायनिक मल उपलब्ध गराउने गरिएको छ । तर, मल पर्याप्त नहँुदा किसानले हरेक वर्ष खेतीपातीको सिजनमा हैरानी खेप्दै आएका छन् । अनुदानमा आउने मलमध्ये ७० प्रतिशत कृषि सामग्री र ३० प्रतिशत अर्ध सरकारी स्वामित्वको साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडबाट वितरण हुन्छ । साल्ट ट्रेडिङ्गको गोदामा समेत यसपटक मलको मौज्दात शून्य छ ।

कर्णालीलाई अर्गानिक प्रदेश भन्ने गरिए पनि यहाँ रासायनिक मलको माग धेरै छ । वर्षायाम लागेसँगै अहिले किसानहरूलाई खेतबारीको चटारो छ । खेतीपातीका बेला बर्सेनि कर्णालीमा मल अभावको समस्या दोहोरिरहन्छ । मुख्य सिजनमै मलमा किसानलाई धोका हुने गरेको हो । कृषि बालीमा प्रयोग हुने युरिया, डीएपी र पोटासजस्ता मलको उत्पादन नेपालमा हुँदैन । मल आयातका लागि ग्लोबल टेण्डरमा जानुपर्ने हुन्छ । सरकारले समयमै मल खरिदका लागि आवश्यक प्रक्रिया अघि नबढाउँदा हरेक वर्ष उही समस्या आउने गरेको हो । बर्सेनि हुने मल अभावको समस्या समाधान गर्न सरोकारवालाले समयमै ध्यान पु¥याउन जरुरी छ ।

प्रकाशित मितिः   ५ असार २०७९, आईतवार ०५:०३