काँक्रेविहार म्याराथन प्रतियोगिता हुँदै

सुर्खेत: वीरेन्द्रनगरमा प्रथम काँक्रेविहार खुल्ला हाफ म्याराथन दौड प्रतियोगिता हुने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसर पारेर असार ७ गते प्रतियोगिता सञ्चालन गरिने भएको हो । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को समन्वयमा मिड वेस्टर्न फिटनेस सेन्टर सुर्खेतले प्रतियोगिता आयोजना गर्न लागेको जनाइएको छ । आयोजकका अनुसार प्रतियोगितामा करिब एक हजार खेलाडीहरू सहभागी हुनेछन् । प्रतियोगितामा खुल्ला पुरुषतर्फको हाफ म्याराथनमा २१ किलोमिटर र विद्यालयस्तरको छात्रछात्रातर्फको म्याराथनमा पाँच किलोमिटर दौड प्रतियोगिता हुने आयोजक संस्थाले जनाएको छ ।

प्रतियोगिताबारे जानकारी दिन शुक्रवार आयोजित पत्रकार सम्मेलनमा कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको पूर्वतयारीमा रहेको भन्दै अहिले त्यसका लागि विभिन्न अभ्यास र प्रतियोगिताहरू सञ्चालन भइरहेको जनाए । ‘यो म्याराथन प्रतियोगिताले पनि कर्णाली खेलकुद क्षेत्रको विकासमा दौडिरहेको सन्देश दिनेछ,’ उनले भने । म्याराथन प्रतियोगिता वीरेन्द्रचोकबाट सुरु भइ मंगलगढीहुँदै सुब्बाकुना, बुलबुले, बाङ्गेसिमल, खोर्केखोला भएर पुनः वीरेन्द्रचौकमै पुगेर सम्पन्न हुनेछ । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने बताइएको छ ।

आयोजक संस्थाका अनुसार खुल्ला पुरुषतर्फको दौडमा पहिलो हुनेले ७१ हजार रूपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै, दोस्रोलाई ४१ हजार, तेस्रोलाई ३१ हजार, चौँथोलाई २० हजार, पाचौंलाई १५ हजार र छैठौं स्थान हासिल गर्ने खेलाडीलाई १० हजार रूपैयाँ पुरस्कार दिइने छ । विद्यालयस्तरको म्याराथन प्रतियोगितामा पहिलोलाई १० हजार, दोस्रोलाई सात हजार र तेस्रो हुनेलाई पाँच हजार नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता सञ्चालनका लागि प्रदेश खेलकुद विकास परिषद्ले ६ लाख रूपैयाँ उपलब्ध गराएको छ । काँक्रेविहार म्याराथन प्रतियोगितालाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने जनाइएको छ ।

प्रकाशित मितिः   ४ असार २०७९, शनिबार ०५:०१