मालिकाको महिमा

अनेकौं विविधता र सम्भावनाहरूको मझेरी

भौगोलीक, प्राचिन, ऐतिहासिक, धार्मिक, प्राकृतिक र वावरणीय आयामले निकै सम्पन्न तर ओझेलमा परेको नाम हो, मालिका । विविध विविधताले सिंगारीएको भए पनि प्रचार, संरक्षण र प्रवद्र्धनको पर्खाइमा रहँदा नजिकको तिर्थ हेला भने जस्तै भएको छ । धार्मिक आस्था, विस्वास र भरोसाको केन्द्र, भूगोल र प्रकृतिको अनुपम सुन्दरताले, सुसुजित, जैविक तथा पारिस्थितिकिय प्रणालीमा सम्पन्न, ऐतिहासिक तथा प्राचिन पृष्ठभूमी रहेको, आर्थिक, सामाजिक, साँस्कृतिक र पर्यावरणीय विकास र समृद्धिको लागि केही इट्टा थप्न सक्ने यो क्षेत्र कस्तुरीलाई आफ्नै विना थाहा नभएजस्तो भएर गौण बनेको छ । व्यापक परिचय र प्रशिद्धिको पर्खाइमा रहेको मालीका क्षेत्रका केही अंशहरू यस लेखमा समेट्ने प्रयत्न गरिएको छ ।

भौगोलीक अवस्थितिः

सुर्खेत, दैलेख र जाजरकोटको संगम हो मालिका । कर्णाली प्रदशको राजधानी सुर्खेतको सदरमुकाम वीरेन्द्रनगरदेखि पुर्वोत्तर दिशामा पर्ने चिङ्गाड गाउँपालिकाको उत्तर दिशामा अवस्थित छ । यो स्थान समुन्द्र सतहदेखि करिब २७०० मिटरको उचाइमा पर्ने महाभारत पर्वत श्रेणीमा पर्दछ । यो सुर्खेत जिल्लाकै सबैभन्दा अग्लो स्थान हो । मालिका क्षेत्रको पूर्वमा जाजरकोट जिल्लाको शिवालय गाउँपालिका, पस्चिममा र उत्तरमा दैलेख जिल्लाको भगवतीमाई गाउँपालिका, दक्षिणमा सुर्खेत जिल्लाको चिङ्गाड गाउँपालिका र दैलेख जिल्लाको गुराँस गाउँपालिका अवस्थित छन् ।

धार्मिक महिमाः

मालिकाको टुप्पोमा मालिका देवीको प्राचिन मन्दिर रहेको छ । यिनै मालिका देवीको नामबाट यस स्थानको नाम मालिका रहन गएको हो । जनै पूर्णिमाको दिन यस मन्दिरमा ठूलो मेला लाग्ने गर्दछ । जनै पूर्णिमाको अघिल्लो दिन चतुर्दशीको साँझ भक्तजनहरू जम्मा भएर रातभर जागराम बस्ने र पूर्णिमाको बिहान उत्तरगंगाको जलले स्नान गरेर पवित्र भइ मालिका देवीको पुजा–आराधना गर्ने गर्दछन् । यस दिन मालिका देवीसँग भाकल गरेका कुरा पूरा हुने जनविस्वास रहेको छ । जनै पूर्णिमाको दिन पहिले–पहिले सुर्खेत, दैलेख, जाजरकोटबाट ठूलो संख्यामा भक्तजनहरू मेला भर्न आउने गरेकोमा हाल देश–विदेशका विभिन्न ठाउँबाट भक्तजनहरू आउने गर्दछन् ।

यो मन्दिर हिन्दु धर्मावलम्बीहरूको आस्था र विस्वासको केन्द्र बनेको छ । प्राचिन कालदेखि नै मालिका देवीप्रति मानिसहरूको ठूलो आस्था र विस्वास रहेको पाइन्छ । हर जनजनले मालिका देवीको महिमा अन्तरआत्मदेखि नै गाउने गर्दछन् । किसान, विद्यार्थी, व्यवसायी, राजनितिज्ञ, बुद्धिजीवीलगायत सबै पेसा र क्षेत्रका मानिसहरूमा मालिका देवीप्रति निकै नै विस्वास र भरोसा रहेको छ ।

मालिका मन्दिरमा पुग्नका लागि हाल दक्षिणतर्फबाट पाँच सय ६८ वटा सिँढी निर्माण गरिएका छन् । मन्दिरको दक्षिणतर्फ केही तल उत्तरगंगा रहेको छ । जुन स्थानमा पानी उत्तर दिशातर्फ बग्दछ । मालिका देवीको दर्शन गर्न जाने भक्तजनहरू यही उत्तरगंगामा आइ स्नान गरी पवित्र हुन्छन् र उत्तरगंगाको पवित्र जल लिएर उत्तरतर्फ करिव दुई किलोमिटर पैदल हिँडेपछी सिँढी चड्ने स्थानमा पुग्दछन् । त्यसपछि पाँच सय ६८ वटा सिँढी पार गरेपछि मालिकाको टुप्पो एवम् मालिका देवीको मन्दिर परिसरमा पुग्दछन् । मन्दिरमा पुगिसकेपछि उत्तरगंगाको जलसँगै आफूले देवीलाई चढाउनका लागि ल्यायका पुजा तथा अन्य सामान पुजाको विधि पूरा गरी मनोकामना पूरा होस् भनी प्रार्थना गरी चढाउने गरिन्छ । यस मन्दिरमा बली भने चढाइदैन ।

ब्राह्मण वा पण्डीत मन्दीरका मुल पुजारी हुन्छन् । जनै पूर्णीमाको दिनमा तिनै ब्राह्मण वा पण्डीतले मुल पुजाको विधि पूरा गर्दछन् भने आएका भक्तजनहरूसमेत सँगसँगै पुजामा सरिक बन्दछन् र प्रसाद ग्रहण गर्दछन् । मालिका देवीलाई फलफूल, अक्षता, टिका, नैवेद, दुवो, पाती, नयाँ अन्न, दाम्लो, डोरी, ध्वजा, पतका, कपी, कलम, किताब, घण्टका साथै आफ्नो पेसा व्यवसाय बमोजिमका चिज वस्तुहरू चढाइन्छ र मनोकांक्षा पूरा होस भनी भाकल गरिन्छ । जसको फलस्वरूप भाकल गरे अनुसारको फल प्राप्त हुने आम जनविस्वास रहेको छ । प्राचिन समयदेखि नै आस्था र विस्वासको केन्द्रको रूपमा स्थापित सुन्दर प्रकृतिको आड तथा पहाडको टुप्पोमा रहेको यस मालिका मन्दिर र देवीको धार्मीक, साँस्कृतिक र सामाजिक मान्यता एवम् महिमा समेत निकै गर्विलो छ ।

प्राचिन मानव वस्तीः

यस क्षेत्रमा हाल घना जङगल छ । जहाँ मानव बसोबास रहेको छैन । तथापी प्राचिनकालमा भने यस क्षेत्रमा मानव बसोवास रहेको तथ्यहरू प्राप्त भएका छन् । मालिका क्षेत्रका विभिन्न ठाउँमा लगाइएका पर्खाल (बान्ना), बाटाघाटाका नमुना र ओडारहरूमा कुँदेर बनाइएका खोपाहरू, सुरक्षित रूपमा बस्नका लागी बनाइएका गुफाहरूले प्राचिन समयमा मानव बसोवास रहेको पुष्टि गर्दछन् । चिङ्गाड क्षेत्रका बुद्धिजीवी तुलसिं राना र बुढापाकहरूका अनुसार मालिका क्षेत्रमा प्राचिन ‘चिङ’ जातका आदीवासीहरूको बसोबास रहेको थियो । उनीहरूमध्य नेपालतिरबाट त्यस मालिका क्षेत्रमा आई बसेका थिए । तिनै आदीवासीहरूले मालिकामा रहेको फलाम खानी उत्खनन् गरेका थिए । जुन फलाम खानी उत्खनन्को स्थान अहिले पनि हेर्न र देख्न सकिन्छ ।

फलाम खानी उत्खनन कार्य बन्द भएपछि उनीहरू हालको अवलचिङ्तर्फ बसाइ सरेको र त्यहाँबाट पनि अन्यत्रै बसाइ सरेको बुढापाकाहरू बताउँछन् । तिनै चिङ जातका आदीवासीहरू बसोवास गर्ने स्थानबाट बग्ने गाडलाई नै चिङ्गाड भनिएको हो । जसलाई हाल चिङ्गाड खोलाको रूपमा चिनिन्छ ।

मौसमी विविधताः

मालिका नेपालको महाभारत पर्वत श्रेणीमा पर्दछ । यस क्षेत्रमा समशितोष्ण प्रकृतिको हावापानीको विविधता रहेको पाइन्छ । गर्मीयाममा यस क्षेत्रको हावापानी शितल हुन्छ भने हिउँदमा ठण्डा र चिसो हावापानीको विविधता रहन्छ । हिउँदमा मालीका क्षेत्र हिउँले सेताम्मेसमेत भएको देख्न पाइन्छ । बर्षाको समयमा भने यो क्षेत्र कुहिरोले ढपक्क ढाकिएको हुन्छ । हिउँदको समयमा यस क्षेत्रमा चिसो मौषम हुने हुँदा मानव आवतजावत तथा घुमफिर कमै मात्रामा भएको पाइन्छ भने गर्मी याममा हावापानी न्यानो र मानव अनुकुल हुने हुँदा मानीसहरूको आवतजावत तथा घुमफिर बाक्लो मात्रमा भएको पाइन्छ ।

प्राकृतिक विविधताः

प्राकृतिक विविधताले सिंगारिएको स्थान हो मालिका । यो प्रकृतिको अनुपम सुन्दरताको मझेरी हो । चारैतिर घना जंगल विचमा जंगल सहितको महाभारताको अग्लो लेक निकै नै मनमोहक दृष्यले सुसुजित छ । झरना, पखेरा, गुफा, ओडार, खोच र खोल्साहरूले यस क्षेत्रको शोभा बढाएका छन् । जसको सुन्दरतामा हर नयनहरू डुबुल्की मारीराखेका हुन्छन् । चिसो पानी र अनुकुल बतासको स्पर्सले यो ठाउँलाई थप रोमाञ्चक बनाएका छन । मालिकाले पूर्वतर्फको सिस्ने जलजला, पुर्वोत्तरतर्फको कान्जीरोहा, उत्तर तर्फको चंखेली, उत्तर पस्चिम तर्फको अपी सैपाल लगायतका हिमालहरूसँगै दक्षिण तर्फका महाभारत र चुरे पहाडको अति सुन्दर दृष्यसँग मोहोनी लगाएको छ ।

घनघनेमा ढुङ्गा खसाउँदा लामो समयसम्म गुन्जीने तामा वा काँस बजेझैं ध्वनीले हरकोहिलाई चकित बनाउँछ । विभिन्न आकृतिका खोपाले सुसजित कँदरे ओडार र यसै क्षत्रमा रहेको उत्तर गंगाले थप शोभा बढाएका छन् । यसै मालीका क्षेत्रको दक्षिण तर्फबाट उत्तरगंगा, भाटीखोला र घनघने खोला मिसिएपछि सुर्खेतकै अग्लो बुरुसे झरना बनेको छ । जुन झरना १५० मिटर भन्दा अग्लो भएको अनुमान छ । चिङ्गाड खोलाको शिर मानीने यो झरना प्राकृतिक रूपमा निकै नै सुन्दर रहेको छ । मालिका क्षेत्रबाट उत्पत्ति भएको पानीबाट सुर्खेततर्फ चिङ्गाड खोला, जाजारकोटतर्फ थाला÷छेडा खोला र दैलेखतर्फ लोहोरे खोला अनवरत रूपमा बगिराखेका छन् ।

यो क्षेत्र प्रकृतिक विविधतामा निकै नै धनी मानिन्छ । यस क्षेत्रले ऋतुअनुसार थरिथरिको मनोरम दृष्य र विविधतायुक्त मौसमको विशिष्ट अनुभूति दिलाउँछ । यो क्षेत्रलाई प्रकृतिले नै अनुपम उपहारको रूपमा सुम्पिएको आभास त्यहाँ पुग्ने जोकोहीलाई हुने गर्दछ । पहाडको टुप्पोबाट वरिपरिका भागमा देखिने बेसी र टारसहितका निकै मिलेका सुन्दर गाउँबस्ती, आँखै लोभ्याउने भिरपाखार पखेरहरू, झरना, खोंच र खोलानाला, विछट्टै खालका गुफा र ओडारहरू, पहरा र कंखेरहरू प्रकृतिकै वरदानको रूपमा स्थापित छन् ।

जैविक विविधताः

मालिका जैविक विविधताको हिसावले मालीका यस क्षेत्रकै धनी स्थानको रूपमा रहेको छ । लालीगुराँस, बाँज, रयाँज, कटुस, उत्तीस, गोब्रे सल्ला, सल्ला, अँयार, दबदबे, ओखर, ठिन्के, खस्रु, काफल, गुएंली, सुनकाउली, भरभरे, लाँकुरी लगायत थरि थरिका रुख विरुवाको घना जङ्गल, नीगालो (देउलो र मालुङ्गो) को बाक्लो झाडी, लोक्ता, तेलपारो, ऐंसेलु, चुत्रा, चुके, लगायतको बुट्यान, लहलहाउँदो घाँसपात, गुच्ची च्याउ, समयो, तिते, बोजो, गुर्जोजस्ता बहुमुल्य बुटीहरूको बगैंचा, पहरा भरी कालै देखिने सिलाजित, थरि थरिका गुराँससहितका रङ्गी विरङ्गी फुलहरूको मझेरी आदी यस क्षेत्रका वनस्पतीजन्य विविधता हुन । मालीका क्षेत्रमा बाघ, भालु, मृग, रतुवा, थार, बंदेल, दुम्सी, गुना, बाँदर, मलसाप्रो लगायत विभिन्न जिवजन्य विविधता रहेको छ भने डाँफे, मुनाल, फोकाँस, कालीज, चिर, पिउरा, होलेसी, गिद्ध, गौंथली, चिल, हुचिल, ढुकुरलगायतको पंक्षीजन्य विविधता रहेको छ ।

त्यो सुन्दर प्रकृतिको काखमा रहेको जैविक विविधता र हावापानीको अनुपम अनुकुलताले प्राकृतिक, भौगोलिक, सामाजिक र पर्यावरणीय प्रणालीलाई सन्तुलित तथा चलायमान बनाएका छन् । जैविक विविधताको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनबाट प्रशस्त हुनसक्ने आर्थिक, सामाजिक तथा वातावरणीय विकास र समृद्धिका सपनाहरू सुन्दर विहानीको पर्खाइमा रहेको यो सुन्दर प्रकृतिको काखमा जो पुग्दछ अनुपम विविधता हेर्दै नअघाएका आँखाहरू उक्त सुन्दरता नाच्दै पवित्र भावना र मनहरू विविधताको मझेरीमा गहिरो डुबुल्की मार्दै खेल्न थाल्दछन् ।

सम्भावनाः

भौगोलीक अवस्थिति, ऐतिहासिक तथा साँस्कृतिक पृष्ठभूमी, धार्मिक आस्था, विस्वास र महिमा, प्राकृतिक अनुपमता, जैविक विविधता, हावापानीको पृथकता मालिकाका मुल विशेषता हुन् । तिनै विशेषताहरू भित्र त्यस क्षेत्रको आर्थिक, सामाजिक, धार्मिक, साँस्कृतिक र वातावरणीय विकासको सम्भावनाहरू विष्फोटको लागि तयारी अवस्थामा छन् ।

मालिका देवी प्रतिको जनविश्वास र आस्थाको कारण यो क्षेत्र प्रशिद्ध धार्मिक क्षेत्रको रूपमा स्थापीत हुन सक्ने हुँदा धार्मीक पर्यटनको हव नै बन्न सक्ने सम्भावना देखिन्छ । विविधताले सिंगारिएको सुन्दर प्रकृतिको दृष्यावलोकन संगै घना जङ्गल, बाक्लो बुट्यान, झाडी, विभिन्न जडीबुटी, अनेक थरिका जिवजन्तु, चराचररुङ्गी, सरिसृप, किटपतङ्ग, प्राचिन कालखण्डका गुफा, खोपा, खानी आदीको अध्ययन अनुसन्धानको प्रयाप्त अवसर यस क्षेत्रमा पाइन्छ । बुरुसे, धागेछरी लगायतका विभिन्न कंचन झरना, अनकन्टर भिर पाखा, पहरा र ओडारहरू, खोल्सा र घनघने लगायतका खोँचहरू, थरिथरिका लालीगुराँस लगायतका रङ्गी विरङ्गी फुलहरूले त्यहाँ पुग्ने जो कोहिका पनी हृदयमा बास वस्न सक्ने हुँदा सुन्दर प्राकृतिक विशिष्टताको थलोको रूपमा स्थापित हुने देदिन्छ ।

मालिकालाई धार्मिक आस्थाको हव, पर्यटनको केन्द्र, पर्यावरणीय अनुकुलन र सुन्दर पर्यावरणीय मझेरीको रूपमा विकास गर्न सकिएको खण्डमा त्यस क्षेत्रसँग जोडीएका आम नागरीकको जिवन रूपान्तरणमा प्रत्यक्ष प्रभाव पर्ने देखिन्छ । मालीकाको विकास, संरक्षण र प्रवद्र्धन गर्न सकेको खण्डमा प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी तथा स्वरोजगारीका अवसरहरू मार्फत जनजिवनमा परिवर्तन आउने निश्चित छ । मालीकाको धार्मीक सहिष्णुता कायम, पर्यटन तथा वातावरणीय विकासले सुर्खेतको चिङ्गाड गाउँपालिका, दैलेखका गुराँस र भगवतीमाई गाउँपालिका, जाजरकोटको शिवालय गाउँपालिका प्रत्यक्ष रूपमा लाभान्वीत हुने स्थानीय तह हुन । जसबाट सुर्खेत, दैलेख र जाजरकोट जिल्लाका साथै कर्णाली प्रदेश र देशलाई नै पर्यटन तथा पर्यावरणीय विकास मार्फत दिगो विकासमा लाभ पु्ग्ने छ । यस क्षेत्रमा घण्टौ हिँड्न मिल्ने पदमार्ग, सहासीक खेल (बन्जी जम्प, क्यानोनिङ्ग, जिपलाइन, प्याराग्लाइडीङ), क्याम्पीङ स्थल, पर्यावरणीय तथा बोटानिकल जियो पार्क निर्माण गरि अनुसन्धान स्थलका साथै धार्मीक एवम् पर्यापर्यटको विकास गर्न सकिने उच्च सम्भावना रहेको छ । ऐतिहासिक, प्राचिन, धार्मीक, सामाजिक, साँस्कृतिक, जैविक तथा प्राकृतिक आयामहरूले सुसुजित मालीका क्षेत्रको पर्यावरणीय सन्तुलन, जैविक विविधताको संरक्षण, पारिस्थितिकिय प्रणाली स्थिरता, धार्मीक एवम् सामाजिक सहिष्णुता कायम राख्दै दिगो संरक्षण, सम्वर्धन र प्रवर्धन गर्न सकेको खण्डमा आर्थिक, सामाजिक, साँस्कृतिक र वातावरणीय क्षेत्रको दिगो विकासको मार्ग प्रसस्त गराउन कोशे ढुङ्गा सावित हुनेछ ।

निष्कर्षः

मालिका धार्मिक, प्राकृतिक, जैविक, वातावरणीय र ऐतिहासीक रूपमा प्रशिद्ध स्थान हो । धार्मिक रूपमा प्रशिद्ध, सामाजिक रूपमा ऐतिहासिक तथा प्राकृतिक रूपमा अनुपम यो क्षेत्र प्रचार र प्रवर्धनको पर्खाइमा रहेको छ । संरक्षणका लागि प्रयाप्त प्रयासहरू भएका छैनन् । यस क्षेत्रको संरक्षण र प्रवद्र्धन गर्न सकिएको खण्डमा धार्मिक तथा पर्यटन विकास पार्यावरणीय अनुकुलनमा टेवा पुग्ने देखिन्छ । जसबाट त्यस क्षेत्रको आर्थिक, सामाजिक, धार्मीक तथा साँस्कृतिक विकासको ढोका खोलीनेछ । मालिका नाम मात्रै नभएर त्यस क्षेत्रकै समृद्धिको आशा तथा सपना हो । थुप्रै अवसर र सम्भावनाहरू बोकेको यस क्षेत्रको विकास, संरक्षण र प्रवद्र्धन आजको आवश्यकता भएको छ ।

-खड्कबहादुर चन्द

प्रकाशित मितिः   ४ असार २०७९, शनिबार ०५:०३