एमयूको १२औँ वार्षिकोत्सव

सुर्खेत: मध्यपश्चिम विश्वविद्यालय (एमयू) को वार्षिकोत्सव सम्पन्न भएको छ । विश्वविद्यालयले शुक्रवार १२औँ स्थापना दिवस मनाएको हो । सोही अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले विश्वविद्यालय विशुद्ध प्राज्ञिक थलो बन्नुपर्ने बताए । उनले विश्वविद्यालयका गतिविधि अनुसन्धानमूलक र प्राज्ञिक हुनुपर्नेमा जोड दिए । सभामुख शाहीले प्राध्यापक, कर्मचारी र विद्यार्थी राजनीतिक गतिविधिमा बढी केन्द्रित हुने गरेकाले विश्वविद्यालयको विश्वसनीयता गुम्न पुगेको धारणा राखे । ‘विश्वविद्यालय अध्ययन अनुसन्धान गर्ने थलो हो,’ उनले भने, ‘राजनीति गर्ने ठाउँका रूपमा पहिचान बन्नु राम्रो हुँदैन ।’ सभामुख शाहीले कर्णालीको बेरोजगारी समस्या हटाउन मध्यपश्चिम विश्वविद्यालयले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए । शैक्षिकभन्दा राजनीतिक गतिविधि बढी भएकै कारण नेपालका विश्वविद्यालयमाथि अविश्वास बढ्दै गएको उनको भनाइ थियो ।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले विगतका कमीकमजोरीबाट पाठ सिकेर अघि बढिरहेको बताए । ‘पछिल्ला केही वर्षयता राजनीतिक खिचातानी रोकिएको छ,’ उनले भने, ‘राम्रो काम गर्नेलाई जेसुकै आस्था र विचारको भएपनि प्रोत्साहन गर्ने काम गरिएको छ ।’ उपकुलपति सिंहले विश्वविद्यालयबाट कर्णालीका लागि मात्र नभइ विश्वबजारमा प्रतिस्पर्धा गर्नसक्ने दक्ष जनशक्ति उत्पादनमा गर्ने प्रयत्नमा लागि रहेको बताए । २०६७ साल असार ३ गते स्थापना भएको मध्यपश्चिम विश्वविद्यालयमा हाल ६ संकाय, सात केन्द्रीय र १० आङ्गिक क्याम्पस रहेका छन् । वीरेन्द्रनगरस्थित सुर्खेत सभाहलमा आयोजित वार्षिकोत्सवमा समारोहमा मध्यपश्चिम विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा. डा. भारती जोशी, विश्वविद्यालयका रजिष्ट्रार डा. नारायण पौडेल, विभिन्न संकायका डीनहरू, अनुसन्धान निर्देशक, कर्मचारी र विद्याथीहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   ३ असार २०७९, शुक्रबार १८:५१