विद्युत संकट टार्न खोजियो विकल्प

सुदूरपश्चिम प्रदेशको कैलालीबाट सुर्खेतका लागि ३३ केभी विद्युत प्रसारण लाइन विस्तार गरिँदै

सुर्खेत: कर्णालीको विद्युत अभाव टार्ने विकल्पको रूपमा सुदूरपश्चिम प्रदेशको कैलालीबाट ३३ केभी क्षमताको प्रसारण लाइन विस्तारको काम अघि बढाइएकोे छ । कोहलपुर–वीरेन्द्रनगर जोड्ने निर्माणाधीन १३२ केभी प्रशारण लाइन विस्तारमा ढिलाइ भएपछि वैकल्पिक व्यवस्थाका लागि उक्त विद्युत लाइन विस्तार गर्न लागिएको हो ।

कैलाली–सुर्खेत ३३ केभी प्रसारण लाइन विस्तारका लागि टेण्डरसमेत भइसकेको नेपाल विद्युत प्राधिकरण कर्णाली प्रादेशिक कार्यालयले जनाएको छ । प्राधिकरणका प्रादेशिक कार्यालय प्रमुख शम्भु यादवले अबको केही दिनमा लाइन विस्तारका लागि सम्झौताको तयारी भइरहेको जनाए । ‘३३ केभी विद्युत लाइन ल्याउने प्रयास भएको छ,’ उनले भने, ‘त्यसका लागि टेण्डर भइसकेको छ, केही दिनभित्रमा लाइन विस्तारको सम्झौता हुने प्रक्रियामा छ ।’

अहिले सञ्चालनमा रहेको विद्युत क्षमताले सुर्खेतसहित कर्णालीका अन्य जिल्लाको माग धान्न नसकेपछि थप प्रसारण लाइन विस्तार गर्न लागिएको हो । कर्णाली प्रदेशमा हाल ३३ केभी प्रसारण लाइनमार्फत प्राधिकरणले विद्युत सेवा दिँदै आएको छ । माग बढी र आपूर्ति कम हुँदा यहाँ विद्युत अभाव दिनानुदिन चुलिँदो छ । भरपर्दो विद्युत सेवा नभएकै कारण व्यवसायी तथा आम उपभोक्ता मर्कामा छन् । सोही समस्याको न्यूनीकरण गर्न कैलालीबाट विद्युत लाइन विस्तार गरी सुर्खेत ल्याउन लागिएको जनाइएको छ ।

प्रादेशिक कार्यालयका अनुसार कैलालीको चिसापानी–सोल्टा हुँदै सुर्खेतको बाबियाचौरसम्म प्रसारण लाइन ल्याइने छ । प्रसारण लाइनलाई बड्डिचौर–बाङगेसिमल हुँदै वीरेन्द्रनगरस्थित बुदबुदी सब–स्टेशनमा जोडिनेछ । कैलालीको मोहन्याल गाउँपालिकाको सोल्टासम्म ३३ केभी लाइन यसअघि नै विस्तार भइसकेको छ । सोल्टाबाट बाबियाचौरसम्म लाइन विस्तारका लागि २४ किलोमिटरमा पोल र तार विस्तार गर्न टेण्डर आह्वान गरिएको छ ।

असार १५ गतेसम्म सम्झौता गरेर दुई महिनाभित्रै बाबियाचौरस्थित विद्युतको सब–स्टेशनमा लाइन जडान गर्ने तयारी गरिएको छ । यो क्षेत्रमा रुखहरू नपर्ने भएकाले पनि छिटै लाइन विस्तार गर्न सकिने प्राधिकरणका प्राविधिकहरूले बताएका छन् । बाबियाचौरमा सब–स्टेशनका लागि आवश्यक विद्युतका सबै संरचना तीन वर्ष अघि नै बनिसकेका छन् । प्राधिकरण प्रादेशिक कार्यालयका इन्जिनियर लालबहादुर शाहले बाबियाचौरसम्म प्रसारण लाइन विस्तारमा कुनै अवरोध नरहेको बताए । उनका अनुसार प्रसारण लाइन विस्तारको काम निर्धारित समयमा सकेर पश्चिम सुर्खेतका बासिन्दालाई विद्युत सेवा दिने र वीरेन्द्रनगरमा देखिएको लो–भोल्टेजको समस्या कम गर्ने उद्देश्य लिइएको छ । सोल्टा–बाबियाचौर विद्युत विस्तार गर्न झन्डै ६ करोड लागत लाग्ने बताइएको छ ।

सुदूरपश्चिम प्रदेशको कैलालीबाट सुर्खेतका लागि ३३ केभी विद्युत प्रसारण लाइन विस्तार गरिँदै

कैलालीबाट ल्याउन लागिएको ३३ केभी प्रसारण लाइन हाल सञ्चालित लाइनमा भने जोडिने छैन । त्यसका लागि छुट्टै विद्युतीय संरचना खडा गर्नुपर्ने छ । ‘अब ल्याउन लागिएको लाइनको विद्युत अहिलेकै पावरमा थप्ने नभइ विकल्पको रूपमा प्रयोग हुनेछ,’ प्रादेशिक कार्यालय प्रमुख यादवले भने । उनका अनुसार वीरेन्द्रगरमा ल्याइने नयाँ लाइनको बुदबुदी सब–स्टेशनबाट छुट्टा–छुट्टै ट्रान्सफर्मरमार्फत वितरण गरिनेछ । वीरेन्द्रनगर वितरण भइरहेको लाइनका फिडरहरू अलगै भएकाले थप गरिएको विद्युत फिडरअनुसार भिन्दाभिन्दै रूपमा वितरण गर्न सकिने छ । कोहलपुरबाट आएको लाइनमा खराबी देखिए कैलालीबाट ल्याइने लाइन सञ्चालन गर्न सकिने प्रादेशिक कार्यालयले जनाएको छ । यसले गर्दा अनियमित भइरहने कर्णालीको विद्युत समस्या कम हुने अपेक्षा गरिएको छ ।

पश्चिम सुर्खेतमा विद्युत सेवा दिन राष्ट्रिय प्रसारण लाइन विस्तारको अवधारणा सुरु भएको एक दशक बढी भइसकेको छ । वि.सं. २०६८ सालदेखि पश्चिम सुर्खेतमा विद्युत लाइन विस्तारको तयारी थालिएको थियो । त्यसका लागि वीरेन्द्रनगरस्थित सब–स्टेशनबाट उपत्यकाको मध्य भाग हुँदै कोलडाँडासम्म विद्युतका पोल गाडिएका थिए । तर, अहिले रुट परिवर्तन गरेर कैलालीबाट पश्चिम सुर्खेत हुँदै वीरेन्द्रनगरमा विद्युत प्रसारण लाइन विस्तारको तयारी भएको हो ।

सुर्खेतलगायत कर्णालीका सबैजसो जिल्लामा विद्युत अनियमितसँगै भोल्टेजको समस्या बढ्दै गएको छ । प्राधिकरणको सुर्खेत वितरण केन्द्रले भोल्टेजको समस्या न्यूनीकरण गर्ने प्रयासहरू गरिए पनि सुधार हुन नसकेको जनाएको छ । ट्रान्समिटरको क्षमता बढाए पनि तारको क्षमता कम हुँदा समस्या दोहोरिरहने गरेको बताइएको छ । अनियमित विद्युतले आजित भएका उपभोक्ताले पटके लोडसेडिङ्ग अन्त्य गर्न पटक–पटक विद्युत प्राधिकरणको वितरण केन्द्र र प्रादेशिक कार्यालयलाई आग्रह गर्दै आएका छन् । प्राधिकरण भने पुराना र जीर्ण संरचना तथा प्रसारण लाइनको क्षमताका कारण विद्युत अवरुद्ध हुने गरेको बताउँदै आएको छ ।

कर्णालीमा तीन दशक अघि निर्माण गरिएका जीर्ण र कम क्षमताका विद्युतीय संरचनाका कारण विद्युत सेवा अनियमित छ । यहाँको विद्युत समस्या दीर्घकालीन रूपमा हल गर्न कोहलपुर–सुर्खेत १३३ केभी प्रसारण लाइन विस्तार थालिए पनि कामको गति भने निकै सुस्त छ । प्रसारण लाइन क्षेत्रमा पर्ने रूख कटानको अनुमतिमा ढिलाइ हुँदा निर्माणाधीन आयोजनाको काम प्रभावित बनेको छ ।

प्रकाशित मितिः   १ असार २०७९, बुधबार ०५:०२