बदलिएको समीकरण

नेपाली राजनीति स्थिर रहँदैन । विभिन्न समयमा विभिन्न उतार–चढाप आइरहन्छन् । २०७४ को निर्वाचनमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको चुनावी तालमेलसँगै पार्टी एकीकरण होस् या तीन वर्षभित्रै भएको उक्त पार्टीको विभाजन । त्यसपछि बनेको नेपाली कांग्रेस र माओवादीसहितको पाँच दलीय गठबन्धन र त्यसैको बलमा शेरबहादुर देउवाको सत्तारोहण । अनि प्रदेशहरूमा बदलिएका सरकार । यसरी पछिल्लो छोटो अवधिमै नेपाली राजनीतिमा यस्ता अनेक आरोह–अबरोह देखा परेका छन् । त्यसैको निरन्तरता गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि देखियो । जहाँ सत्तारुढ दलहरूको गठबन्धनले चुनावी तालमेल गर्यो । उक्त तालमेल कतै सफल भयो भने कतै भएन । चुनाव भएको महिना दिन नबित्दै उक्त गठबन्धनभित्र विग्रह देखिन थालिसकेको छ । जसको संकेत विभिन्न जिल्लाका स्थानीय तहका कार्यपालिका गठनदेखि जिल्ला समन्वय समिति गठनसम्ममा देखिएका छन् ।

स्थानीय निर्वाचनका लागि सुर्खेतका पाँच वटा पालिकामा नेपाली कांग्रेस र नेकपा (माओवादी) केन्द्रबीच चुनावी तालमेलको सहमति भएको थियो । तर गठबन्धनले सोचेअनुरूप नतिजा दिएन । चौकुने गाउँपालिकामा सहकार्य सफल भएपनि अन्य चार पालिकामा असफल भयो । चिङ्गाड गाउँपालिकामा त मतदानको मुखैमा आएर तालमेल भाडिएको थियो । निर्वाचनको नतिजासँग दुवै दल सन्तुष्ट थिएनन् । जसको प्रभाव चौकुनेमा गाउँ कार्यपालिका गठनदेखि जिल्ला समन्वय समिति सुर्खेतको निर्वाचनसम्म देखियो । सत्तारुढ दल कांग्रेससँगको तालमेल तोडेर माओवादीले नेकपा (एमाले)सँग सहकार्य अघि बढाएको छ । एमाले–माओवादी सहकार्यले जिल्ला समन्वय समिति सुर्खेतको नेतृत्वसमेत हात पार्न सफल भएको छ । शुक्रवार भएको निर्वाचनमा नेपाली कांग्रेसलाई पराजित गर्दै एमाले–माओवादी गठबन्धन विजयी भएको हो । जिल्ला समन्वयको निर्वाचनसँगै सुर्खेतमा सत्तारुढ पाँच दलीय गठबन्धन भत्किएको छ । पार्टी एकीकरण गरेर पनि छुट्टीएका एमाले र माओवादीबीच चुनावी सहकार्य गर्नु सजिलो थिएन । त्यसमाथि केन्द्रीयस्तरबाटै सत्तारुढ दलरुबीच गठबन्धन बनेको थियो । कार्यपालिका र समन्वय समिति गठनमा पनि गठबन्धन कायम राख्न निर्देशन नेतृत्वले दिएको थियो । तर त्यसलाई समेत लत्याउँदै सुर्खेतमा भएको एमाले–माओवादी गठबन्धनले यहाँको राजनीतिमा नयाँ तरङ्ग पैदा गरेको छ ।

सुर्खेतको जिल्ला समन्वय समितिमा भएको एमाले–माओवादीको यो सहकार्यलाई जिल्लामा बाम एकताको सुरुवातको रूपमा चर्चा गर्न थालिएको छ । दुवै पार्टीका आम कार्यकर्तामाझ आगामी चुनावमा पनि बृहमत बाम एकता गर्नुपर्ने मत बलियो देखिन्छ । चुनावी परिणाम आफ्नो पक्षमा पार्न दलहरूबीच विकास भइरहेको तालमेलको संस्कारले निरन्तरता पाउँदा आगामी निर्वाचनमा फरक खालको तालमेल नदेखिएला भन्न सकिदैन ।

प्रकाशित मितिः   २९ जेष्ठ २०७९, आईतवार ०५:०१