सडक विस्तारमा हेलचक्य्राइँ

सुर्खेत: वीरेन्द्रनगरको मंगलगढीदेखि गणेशचोकसम्म सडक स्तरोन्नतिको ठेक्का सम्झौता भएको नौ महिना भयो । यो सडक खण्ड विस्तारका लागि गएको भदौ १७ गते पूर्वाधार विकास निर्देशनालयले खड्का निर्माण सेवा बाँकेसँग ठेक्का सम्झौता गरेको थियो । तर, अहिलेसम्म सडक स्तरोन्नतिको काम भने अघि बढ्न सकेको छैन । निर्माण सम्झौतामा १८ महिनामा काम सक्नुपर्ने उल्लेख भएपनि हालसम्म सुरसार नभएको हो । सडक स्तरोन्नतिमा सरोकारवाला निकायले एक अर्कालाई देखाउँदै काममा ढिलासुस्ती गरेका हुन् ।

१८ महिनामा सक्ने सम्झौता भएको वीरेन्द्रनगर बजारको सडक विस्तार योजना नौ महिना बितिसक्दा पनि सुरु भएन

ठेकेदार कम्पनीले ‘साइड क्लियर’ नहुँदा काम अघि नबढेको बताएको छ । सडक विस्तारको ठेक्का लागेको लामो समय भइसक्दा निर्माण क्षेत्रमा पर्ने विद्युत र खानेपानीका संरचना सम्बन्धित निकायले सारेका छैनन् । ‘विद्युतका संरचना सार्ने काम अधुरै छ, खानेपानीको काम सुरु नै भएको छैन,’ सडक विस्तारको जिम्मा पाएको खड्का निर्माण सेवाका सञ्चालक टेकबहादुर खड्का भन्छन्, ‘काम गर्नुपर्ने ठाउँनै खाली नहुँदा सडक विस्तारले गति लिन सकेको छैन ।’ उनले संरचना सार्नुपर्ने निकायको ढिलासुस्तीले ठेक्का लागेको लामो समयसम्म काम सुरु हुन नसकेको जनाए ।

ठेक्का सम्झौताअनुसार निर्माण कम्पनीले २०८० जेठ मसान्तसम्म काम सक्नुपर्ने छ । साढे १३ करोड बजेटमा सडक विस्तारको काम गर्नेगरी ठेक्का सम्झौता भएको छ । विद्युत लाइन र खानेपानीका संरचनाको समयमै व्यवस्थापन नगरिँदा निर्माण कम्पनीले काम अझै अघि बढाउन सकेको छैन ।

निर्माण कम्पनीको आलटाल तथा विद्युत र खानेपानीका संरचना सार्न ढिलाइ हुँदा सडक विस्तार अलपत्र

निर्माण व्यवसायी खड्काले सडक स्तरोन्नतिका लागि गिट्टी, बालुवा र ढुङ्गालगायतका सामग्री जम्मा गरिरहेको बताए । उनी भन्छन्, ‘आवश्यक सामग्री जम्मा भइरहेको छ । बत्तिको काम नसकिएकाले मेसिन राखेर काम गर्ने अवस्था छैन ।’ सडक विस्तारको काम मेसिन लगाएर गर्नुपर्ने भएकाले निर्माणस्थल पूर्णरूपमा खाली हुनुपर्ने उनी बताउँछन् । सडक विस्तार क्षेत्रमा पर्ने विद्युतका पोल, लाइन तथा ट्रान्समिटरहरू केही सारिए पनि कतिपय काम बाँकी छ । विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रका प्रमुख युवराज रावतले बाटोदेखि पूर्वतिरको संरचना सार्ने काम सकिएको जनाए । उनका अनुसार पोल सारिएको उक्त क्षेत्रमा सडक विस्तारको काम गर्न सकिनेछ । सडकको पश्चिमतिर अरु काम सकिएपनि टान्सफर्मर सिफ्ट गर्न अझै केही दिन लाग्ने छ । ‘क्रेन नमिलेर यो काम रोकिएको हो । अबको केही दिनमै पश्चिमतिरको भाग पनि खाली गरिनेछ,’ रावतले भने । त्यस क्षेत्रमा पर्ने विद्युत लाइनको व्यवस्थापन गर्न वितरण केन्द्रले ठेक्का दिएको छ । उक्त कामको जिम्मा रेस कन्ट्रक्सन प्रा.लि.लाई दिइएको हो । जसअन्तर्गत ११ मिटरका ४५ वटा तथा आठ र नौ मिटरका ३३ वटा पोल तथा तारहरू सार्नुपर्ने छ । सम्झौताअनुसार एक महिनामा यो क्षेत्रमा पर्ने विद्युतका पोल तथा तार हटाइसक्नु पर्ने भनिएकोमा झन्डै पाँच महिना भइसक्दा काम पूरा भएको छैन ।

विस्तार गर्नुपर्ने क्षेत्रमा रहेका खानेपानीका संरचना सार्ने काम भने अझै सुरु भएको छैन । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले सडकको पूर्व र पश्चिममा गरी दुई वटा पाइप लाइन सार्नुपर्ने जनाएको छ । पाइप लाइन स्थानान्तरण गर्न यसअघि गरिएको स्टिमेट पुनः हेरफेर गर्नुपरेकाले ढिलाइ भएको जनाइएको छ । यसअघि पाइप सार्न ५२ लाख रूपैयाँ लागत लाग्ने अनुमान गरिएकोमा पछिल्लो पटक लागत बढ्ने देखिएको छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अनुसार खानेपानीका संरचना सार्न अझै एक महिनाजस्तो समय लाग्ने छ । खानेपानीका संरचना व्यवस्थापनको लागत पूर्वाधार विकास कार्यालयले व्यहोर्ने सहमति भएको छ । पूर्वाधार विकास निर्देशनालयले भने निर्माण क्षेत्रको अवरोधभन्दा पनि ठेकेदारको आलटालका कारण सडक स्तरोन्नतिमा ढिलाइ भएको जनाएको छ । ‘अवरोध हटाइसकेको ठाउँमा काम सुरु गर्न सकिने अवस्था छ । तर, निर्माण व्यवसायीको लापरबाहीले काम सुरु भएको छैन,’ निर्देशनालयका इन्जिनियर सूर्य शाहीले भने, ‘हामीले तत्काल काम थाल्न ताकेता गरिरहेका छौँ ।’ उनले मुख्य बजार क्षेत्रबाहेकका सहायक सडकहरूमा काम गर्न सकिने भएपनि त्यसमा ठेकेदारले बेवास्ता गरिरहेको बताए । मंगलगढी–गणेशचोक सडक खण्डमा पर्ने केही सहायक सडकहरूको स्तरोन्नतिको ठेक्का पनि खड्का निर्माण सेवाले लिएको छ । ती सडकहरूको पनि स्तरोन्नति थालिएको छैन ।

वीरेन्द्रनगर बजारको मुख्य क्षेत्रका सडक साँघुरो र जीर्ण छन् । सरोकारवाला निकायबीच एक आपसमा समन्वयको अभाव हुँदा सडक विस्तारको योजना अलपत्र बनेको छ । नियमन गर्ने निकायको कमजोरीका कारण पनि सडक विस्तार योजनाले गति लिन नसकेको स्थानीयको आरोप छ । वीरेन्द्रनगरको मंगलगढीदेखि गणेशचोकसम्म हाल सात मिटर चौडा सडक रहेकोमा त्यसलाई स्तरोन्नति गरी १५ मिटर चौडाइको बनाउन लागिएको छ ।

प्रकाशित मितिः   २६ जेष्ठ २०७९, बिहीबार ०५:०५