वीरेन्द्रनगरको निर्णय: निःशुल्क बिमा र एम्बुलेन्स सञ्चालन

सुर्खेत: वीरेन्द्रनगर नगरकार्यपालिकाको पहिलो बैठक एक दर्जन बढी निर्णयहरू गरेको छ । नगरपालिकाले बुधवार पत्रकार सम्मेलनमार्फत निर्णय सार्वजनिक गरेको हो ।

नगरपालिकाले निःशुल्क स्वास्थ्य बिमा कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने भएको छ । स्वास्थ्य सेवालाई प्रभावकारी बनाएर नागरिकलाई सामाजिक सुरक्षाको अनुभूति दिलाउन निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न लागिएको नगर प्रमुख मोहनमाया भण्डारीले बताइन् । उनका अनुसार नगरभित्रका ज्येष्ठ नागरिक, अति विपन्न, दीर्घ रोगीहरूको यथार्थ विवरण लिएर निःशुल्क स्वास्थ्य बिमा गरिनेछ । यसका साथै ज्येष्ठ नागरिक तथा गर्भवति महिलाहरूका लागि निशुल्क एम्बुलेन्स सञ्चालन गरिने जनाइएको छ ।

कार्यपालिकाको बैठकले फोहोरमैला व्यवस्थालाई प्रभावकारी बनाउने निर्णय पनि गरेको छ । यसका लागि फोहोर व्यवस्थापनको जिम्मेवारी दिइएको संस्थालाई समयमै फोहोर उठान र व्यवस्थापन गर्न जिम्मेवारी दिने नगरपालिकाले निरन्तर अनुगमन तथा निगरानी गर्ने निर्णय भएको हो ।

नगरपालिकाका विभिन्न समिति तथा शाखाहरूबाट बजेट बाँडफाँट गर्ने अभ्यासलाई अन्त्य गर्दै कार्यपालिकाबाट योजना तथा कार्यक्रम स्वीकृत गरेर बजेट खर्चमा एकद्वार प्रणाली अपनाउन यो निर्णय गरिएको नगरप्रमुख भण्डारीले जानकारी दिइन् । सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउन नागरिक सहायता कक्षको व्यवस्था गर्ने, सेवाग्राही विश्रामस्थल बनाउने, गुनासो सुनुवाइ संयन्त्र निर्माणसहित प्रविधिमैत्री सेवामा जोड दिने निर्णय पहिलो कार्यपालिका बैठकले गरेको छ ।

गुरूयोजनामा समावेश भएका सार्वजनिक सडकको अधिकार क्षेत्रको लगत कट्टा गरी सहरी नापी प्रक्रियालाई अगाडि बढाउने निर्णय गरिएको छ । गौशाला निर्माणका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र वीरेन्द्रनगरबीच भएको सम्झौता अनुसार भेरी पुल नजिक प्रशान्ति धार्मिक सामुदायिक वनमा पूर्वाधार निर्माण गर्ने, पशु आहारा व्यवस्थापन गरी सडकमा छाडिएका पशुचौपायाको दीगो व्यवस्थापन गर्ने, ती पशुचौपायालाई ट्याग लगाउने, गौशाला सेड निर्माण गर्ने निर्णय पनि पहिलो कार्यपालिका बैठकबाट गरिएको छ ।

सार्वजनिक जग्गाको लगत लिई उचित संरक्षण गर्ने, नगरपालिकाको प्रशासनिक भवन निर्माणको कामलाई पुनः सञ्चालन गर्ने, सडकमा अतिक्रमण गरी राखिएको निर्माण सामग्री व्यवस्थापन गर्ने, हावाहुरीले क्षति पुगेका विद्यालयका छाना मर्मत गर्ने निर्णय नगर कार्यपालिकाले गरेको छ । नगरको शैक्षिकस्तर अभिवृद्धिका लागि ‘स्वेच्छिक शैक्षिक कोष’ स्थापना गर्न कानुन बनाउने, भूमिसम्बन्धी समस्या समाधान आयोगको बाँकी कार्य प्रारम्भ गर्ने निर्णय पनि नगर कार्यपालिकाको पहिलो बैठकले गरेको छ ।

प्रकाशित मितिः   २६ जेष्ठ २०७९, बिहीबार ०५:०१