‘एक घर दुई विरुवा रोप्न’ आग्रह

सुर्खेत: वीरेन्द्रनगर नगरपालिकाले ग्रीन सिटी निर्माणका लागि हरेक घरधुरीलाई विरुवा रोप्न अनुरोध गरेको छ । नगर प्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगरमा ‘एक घर दुई विरुवा’ अभियानलाई तीव्रता दिनुपर्ने बताइन् । ग्रीन सिटी अवधारणलाई मूर्तरूप दिन प्रत्येक घरमा विरुवा रोपेर सहयोग गर्न ढकालले नगरवासीलाई अनुरोध गरेकी छन् । विश्व वातावरण दिवसको अवसरमा आइतवार वृक्षारोपण गर्दै उनले यस्तो आग्रह गरेकी हुन् ।

नगर प्रमख ढकालले वीरेन्द्रनगरको वातावरणसँग सहरीकरणलाई जोड्न खोजिएको जनाइन् । उनका अनुसार त्यसका लागि नगरभित्र फलफूलका तीन हजार पाँच सय विरुवा रोप्न सुरु गरिएको छ । ‘विरुवा रोपेरमात्रै हुँदैन । हरेक नगरवासीले विरुवाको संरक्षण तथा सम्बद्र्धनमा गर्न पनि आवश्यक छ,’ उनले भनिन्, ‘एक घर दुई विरुवा रोप्न सकेको खण्डमा हरियाली वीरेन्द्रनगर बनाउने लक्ष्य पूरा हुनेछ ।’ पुराना विरुवा विस्थापन गर्दै नयाँ बनेका सडकको दुवैतिर विरुवा रोप्न लागिएको नगरपालिकाले जनाएको छ । विरुवा संरक्षण गर्ने दायित्व सबैको भएको भन्दै नगरपालिकाले त्यसका लागि सम्पूर्ण नगरवासीलाई आह्वान गरेको छ ।

वातावरण दिवसमा वृक्षारोपण

विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण गरिएको छ । वीरेन्द्रनगर–९ स्थित प्रज्ञा पाठशालामा अध्ययनरत विद्यार्थीहरूले आइतवार वृक्षारोपण गरेका हुन् ।

त्यसैगरी वातावरणसँग सम्बन्धित चित्रहरू सिर्जना, पोस्टरहरू तयार गर्नुका साथै शिव मन्दिर परिसर सरसफाईसमेत गरिएको छ । उक्त कार्यक्रमा स्थानीय अभिभावकहरूको समेत सहभागिता रहेको थियो । प्रज्ञा पाठशाला आइएसए अवार्ड पाउने कर्णाली प्रदेशको पहिलो विद्यालय हो ।

प्रकाशित मितिः   २३ जेष्ठ २०७९, सोमबार ०५:०२