खाद्य अधिकारसम्बन्धी अभिमूखिकरण

सुर्खेत: खाद्य अधिकारका सवाल पहिचान तथा दस्तावेजीकरण सम्बन्धी पुनर्ताजकी अभिमूखिकरण गरिएको छ । खाद्य अधिकारको क्षेत्रमा काम गर्दै आएको फियान नेपाल कर्णाल प्रदेशको आयोजनामा ‘बाच्न पाउने अधिकारको आधार खाद्य अधिकार’ भन्ने नाराका साथ आइतवार वीरेन्द्रनगरमा अभिमूखिकरण भएको हो ।

कार्यक्रममा सहभागीहरूले जिल्लामा रहेका सबै भूमिहीन, सुकुम्वासीहरूको विषयमा संघ–संस्था तथा सम्बन्धित व्यक्तिहरूको साझेदारीमा लिखित पत्रसहित सरकारलाई ध्यानाकर्षण र दबाब दिनु पर्ने बताएका छन् ।

सहभागी लक्ष्मीकुमारी शर्माले वीरेन्द्रनगरभित्रका विभिन्न ठाउँहरूमा बसेका बस्तीहरूको व्यवस्थापनसँगै अन्य क्षेत्रमा पनि यस्ता बस्तीहरूको खोजी गरेर राज्यले व्यवस्थापन गर्नुपर्ने बताइन् । इन्सेक सुर्खेतका सहजकर्ता बिन्दुलाल रेग्मीले सुर्खेत जिल्लामा रहेका खाद्या अधिकारको सुरक्षाको जोखिमका विषयमा सरकारले ध्यान दिनु पर्ने बताए । साथै रेग्मीले बजार अनुगमनलाई निरन्तता दिनु पर्ने, बाढीपीडितहरूको समस्या समाधान गर्नुपर्ने बताए ।

यस्तै, जिल्ला खाद्य अधिकारका संयोजक जगतकुमार केसीले हाल निर्वाचित जनप्रतिनिधिहरूले आफ्नो पालिका वा वडा भित्र रहेका खाद्य अधिकारबाट बञ्चित नागरिकको अधिकार पुरा गर्नु पर्ने बताए । केसीले भने, ‘हालै निर्वाचित जनप्रतिनिधिहरूको बधाई खाने काम मात्रै भएको छ । नागरिकहरूको खाद्य अधिकार पूरा गर्नतर्फ लाग्नु पर्छ ।’

फियान नेपाल कर्णाली प्रदेशका संयोजक प्रकाश नेगीले वीरेन्द्रनगरका १६ वटै वडा र जिल्ला भर रहेका खाद्या अधिकारबाट वञ्चित ठाउँहरूमा ‘बाच्न पाउने अधिकारको आधार खाद्या अधिकार’ नाराका साथ सबै संघ–संस्था मिलेर लाग्नु पर्ने बताए । उक्त अभिमूखिकरण कार्यक्रमले कार्ययोजना तयार पार्दै खाद्य अधिकारका बारेमा चार वटा सवालका विषयमा छलफल गर्ने निर्णय समेत गरेको छ ।

अबको एक हप्ताभित्र किसानहरूलाई मल, बिउ उत्पदानका लागि भूमि, व्यावस्था, कृषि तथा सहकारी मन्त्रालयसँग र अषाढ २० गतेसम्म वीरेन्द्रनगरभित्रको भूमिहीन, सुकुमवासीका विषयमा नगरपालिकासँग छलफल गर्ने योजना बनाएको छ । यस्तै, असोजको पहिलो हप्ता खाद्य अधिकारीबारे वीरेन्द्रनगर नगरपालिका–५ को श्रीनगर, ३ को पञ्चकोषी झरना टोल र भदौ १५ गतेभित्र स्थानीय तहमा खाद्य ऐन निर्माणका लागि पहल गर्ने विषयमा वीरेन्द्रनगर, बराहताल र भेरीगंगा नगरपालिकासँग छलफल गर्ने कार्ययोजना बनाएको छ ।

प्रकाशित मितिः   २३ जेष्ठ २०७९, सोमबार ०५:०२