कर्णालीमा समाजवादीको सुदृढीकरण अभियान

सुर्खेत: नेकपा (एकीकृत समाजवादी) ले पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ । एकीकृत समाजवादीले अभियान अन्तर्गत कर्णालीका बस्ती–बस्तीमा पुग्ने निर्णय गरेको छ । कर्णाली प्रदेशका प्रत्येक बस्ती तथा जनस्तरमा पुग्न समाजवादीले दुई महिने अभियानको सञ्चालन गर्ने भएको हो । सुर्खेतको वीरेन्द्रनगरमा बसेको पार्टीको कर्णाली प्रदेशको तेस्रो पूर्ण बैठकले गाउँ बस्ती केन्द्रित भएर अघि बढ्ने निर्णय गरेको जनाइएको छ । पार्टीमा आवद्ध सबै नेता कार्यकर्तालाई सांगठनिक र राजनैतिक कामहरूलाई तीव्र रूपमा अगाडि बढाउँदै जनस्तरसम्म पुग्न अभियानका साथ अघि बढ्ने बैठकले निर्णय गरेको छ ।

समाजवादीका सुर्खेतका जिल्ला अध्यक्ष मोहन बढुवालका अनुसार पार्टीको दुई महिने अभियानमा संगठनको सुद्घीकरण र सुदृढीकरणसम्बन्धी क्रियाकलाप सञ्चालन हुनेछन् । ‘बैठकमा पार्टीलाई जनस्तरसम्म पु¥याउने र बलियो बनाउने विषयमा छलफल भएको छ,’ उनले भने, ‘आगामी निर्वाचनहरूमा अन्य दलहरूसँग तालमेल नगरिकनै एक्लै पनि अगाडि बढ्न सक्ने गरेर तयारी गरिनेछ ।’ अभियानका साथ प्रदेशका प्रत्येक बस्तीको तहसम्म पुग्नेगरी पार्टीका नेता र कार्यकर्ताहरू निर्देशन भएको उनले जनाए । यसका साथै बैठकमा विभिन्न सांगठनिक, राजनैतिक तथा समसामयिक प्रस्तावमाथि छलफल भएको थियो । जसअन्तर्गत विकास निर्माणमा हुने गरेका ढिलासुस्ती र विकास बजेट समयमै खर्च नहुने प्रवृत्तिका विषयमा छलफल गरी यसलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गर्ने निर्णय पनि बैठकले गरेको छ । ‘विशेष गरेर बैठकको मुख्य उद्देश्य भनेको स्थानीय तहको निर्वाचनको समिक्षा र निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई दिन रहेको थियो’ बडुवालले भने, ‘निर्वाचनमा भएका सफलता, असफलता तथा चुनौतीका विषयमा छलफल भएको छ ।’

प्रकाशित मितिः   २३ जेष्ठ २०७९, सोमबार ०५:०१