विद्युतको सास्ती

राष्ट्रिय प्रसारण लाइन अन्तर्गत अहिले कर्णालीमा ३३ केभीए क्षमताको विद्युत विस्तार गरिएको छ । उक्त लाइन अन्तर्गत सात जिल्लामा विद्युत पुग्दा प्रदेशका तीन वटा जिल्ला अझै पनि राष्ट्रिय प्रसारणमा जोडिन सकेका छैनन् । हिमाली जिल्लाहरू हुम्ला, डोल्पा र मुगु राष्ट्रिय प्रसारण लाइनबाट वञ्चिछन् । त्यसो त राष्ट्रिय लाइन विस्तार भएका अन्य सात जिल्लामा पनि विद्युत सेवा भरपर्दो छैन । विद्युत अनियमित हुँदा उपभोक्ताले सास्ती बेहोर्नुपरिरहेको छ । बिजुली कतिबेला आउँछ र कतिबेला जान्छ टुँगो हुँदैन । सँगै भोल्टेजको समस्या पनि बढ्दै गएको छ । छिनछिनमा विद्युत जाने–आउने भइरहँदा एकातर्फ उपभोक्ताहरू समस्या छन् भने अर्कोतर्फ विद्युतीय उपकरण बिग्रिएर क्षति हुने जोखिम बढेको छ ।

विद्युत सेवा नियमित नभएपछि इलेक्ट्रोनिक्स र उत्पादनमूलक व्यवसायहरू चौपट भएका छन् । लामो समयदेखि विद्युतमा देखिएको समस्या समाधान नगरिँदा उपभोक्ता र व्यवसायीहरू मर्कामा परेका हुन् । चर्को गर्मीमा विद्युत अनियमित हुन थालेपछि उपभोक्तालाई थप सास्ती भएको हो । विद्युत आएका बेला पनि भोल्टेज समस्या उस्तै छ । पावर घटबढ हुँदा इलेक्ट्रोनिक पसलहरूमा उपकरण बिग्रने खतरा छ । बारम्बार विद्युत अवरुद्ध हुनाले व्यावसायिक क्षेत्र बढी प्रभावित बनेको छ । अनियमित विद्युतले उद्योगहरूमा क्षमताअनुसार उत्पादन हुन सकिरहेको छैन । अघोषित लोडसेडिङको मारमा व्यवसायीदेखि आम उपभोक्तासम्म परेका छन् । व्यवसायी मात्र होइन विद्युत समस्याको हैरानीमा आम उपभोक्ता छन् । अत्यधिक गर्मी बढिरहेका बेला पङ्खा चल्ने भोल्टेजसमेत नहुने गरेको सर्वसाधारणको गुनासो छ ।

विद्युत अनियमित हुने समस्या समाधान गर्न सम्बन्धित निकायले सकिरहेको छैन । विद्युत प्राधिकरणले पुराना ट्रान्सफर्मर बदल्न नसक्दा भोल्टेज कम हुने समस्या बढ्दै गएको देखिन्छ । विद्युतको खपत बढी हुँदा फिडरले धान्न नसकेर अवरुद्ध हुने गरेको हो । गर्मीमा विद्युतको खपत बढ्यो, पुराना तारले धान्न सकेनन् । कुनै बेला ओभरलोड भएर पनि विद्युत जान थाल्यो । भोल्टेको समस्या न्यूनीकरण गर्न प्रयासहरू भएपनि सुधार हुन सकेको छैन । ट्रान्समिटरको क्षमता बढाए पनि तारको क्षमता कम भएका कारण समस्या रहिरहेको देखिन्छ । वर्षौं पुराना तार अपग्रेड हुन नसकेका कारण पनि यो समस्या समाधान हुन सकेको छैन । पुराना र जीर्ण संरचना तथा प्रसारण लाइनको न्यून क्षमताका कारण विद्युत समस्या भइरहेकाले संरचनाहरूको स्तरोन्नति र क्षमता वृद्धिमा ध्यान दिनु अपरिहार्य भइसकेको छ ।

प्रकाशित मितिः   २३ जेष्ठ २०७९, सोमबार ०५:०३