नीति तथा कार्यक्रम ल्याइँदै

सुर्खेत: कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम ल्याउने भएको छ । जेठ २४ गते मंगलवार प्रदेशसभामा नीति तथा कार्यक्रम पेस गर्ने तयारी गरिएको छ । सरकारकातर्फबाट प्रदेश प्रमुख तिलक परियारले नीति–कार्यक्रम पेस गर्नेछन् ।

नीति तथा कार्यक्रम पारित भएपछि असार १ गते बजेट ल्याउने तयारी सरकारको छ । यसपटक कार्यान्वयनमुखि योजना मात्रै बजेटमा समावेश गर्ने सरकारकाले जनाएको छ । विगतका अधुरा आयोजना कार्यान्वयन गर्ने नीति अपनाएको कर्णाली सरकारले यसपटक बजेट घटाएर ल्याउने तयारी गरेको हो ।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले हरेक मन्त्रालयमा बजेट घटेर आउने हुँदा नयाँ योजनामा बजेट जाने सम्भावना कम भएको जनाए । मन्त्री विष्टले प्रदेशको सन्तुलित विकास गर्नका लागि आगामी आर्थिक वर्षलाई अधुरा आयोजना सम्पन्न गर्ने वर्षको रूपमा लिइने उल्लेख गरे । ‘सडक, पुल, सिँचाइ, खानेपानी, शिक्षा र स्वास्थ्यका आयोजनाहरू सम्पन्न गर्न पर्याप्त रकम विनियोजन गरिनेछ,’ उनले भने, ‘आयोजना बैंक स्थापना गरी सोही बैंकमा रहेका आयोजनाहरूमध्येबाट प्राथमिकताका आधारमा नयाँ आयोजना छनोट गरी स्रोत विनियोजन गरिनेछ ।’

प्रदेश सरकारले आगामी वर्ष नयाँ र दीर्घकालीन महŒवका आयोजना प्रस्ताव गर्दा सोको विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय अध्ययनको आधारमा वहुवर्षीय आयोजनाको रूपमा स्वीकृत गरी कार्यान्वयन गर्ने नीति पनि लिएको छ ।

प्रकाशित मितिः   २२ जेष्ठ २०७९, आईतवार ०६:५६