अनियमित विद्युतले उपभोक्ता आजित

सुर्खेत: विद्युत सेवा भरपर्दो नहुँदा उपभोक्ताहरू मारमा परेका छन् । पछिल्लो समय विद्युत अनियमितसँगै भोल्टेजको समस्या पनि बढ्दै गएको छ । छिनछिनमा विद्युत जाने–आउने भइरहँदा विद्युतीय उपकरण बिग्रिएर क्षति हुने जोखिम बढेको छ । कर्णालीका सुर्खेत, दैलेख, जाजरकोट, कालीकोटलगायतका जिल्लामा बिजुली नियमित छैन । विद्युत सेवा नियमित नभएपछि इलेक्ट्रोनिक्स र उत्पादनमूलक व्यवसायहरू चौपट भएका छन् । लामो समयदेखि विद्युतमा देखिएको समस्या समाधान नगरिँदा उपभोक्ता र व्यवसायीहरू मर्कामा परेका हुन् । चर्को गर्मीमा विद्युत अनियमित हुन थालेपछि उपभोक्तालाई थप सास्ती भएको हो ।

वीरेन्द्रनगरमा इलेक्ट्रोनिक्स व्यवसाय गर्ने छत्र कठायतले अघोषित लोडसेडिङले सास्ती खेप्नु परिरहेको बताए । ‘बत्ति जाने आउने ठेगान हुँदैन,’ उनी भन्छन्, ‘विद्युत आएका बेला पनि भोल्टेज समस्या उस्तै छ ।’ उनले विद्युतका कारण व्यवसायीहरू निकै अप्ठ्यारोमा परेको बताए । उनका अनुसार पावर घटबढ हुँदा इलेक्ट्रोनिक पसलहरूमा उपकरण बिग्रने खतरा छ । फ्रिज, टिभिलगायतका उपकरण बिग्रने जोखिम रहेको व्यवसायी कठायतले बताए ।

बारम्बार विद्युत अवरुद्ध हुनाले व्यावसायिक क्षेत्र बढी प्रभावित बनेको छ । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले व्यवसायीलाई विद्युत समस्याले बढी नोक्सानी भइरहेको जनाए । अनियमित विद्युतले उद्योगहरूमा क्षमताअनुसार उत्पादन हुन नसकिरहेको भन्दै उनले यसको समस्या हल गर्न आफूहरूले बारम्बार सम्बन्धित निकायलाई अनुरोध गरेको जनाए । उनी भन्छन्, ‘अघोषित लोडसेडिङको मारमा व्यवसायीदेखि आम उपभोक्तासम्म परेका छन् । यसबारे हामीले आवाज उठाइरहेका छौँ ।’ उनले विद्युत सेवा नियमित गर्न प्राधिकरणको प्रादेशिक कार्यालय र सुर्खेत वितरण केन्द्रको ध्यानाकर्षण गराएको बताए । ‘हिजोमात्र वितरण केन्द्रमा पुुगेर यसबारे कुरा राखिएको छ,’ कँडेलले भने, ‘दुई–तीन दिनभित्रमा बजार क्षेत्रमा केही सुधार गरिने वितरण केन्द्र प्रमुखले भन्नुभएको छ ।’ विद्युत प्राधिकरणले पुराना ट्रान्सफर्मर बदल्न नसक्दा भोल्टेज कम हुने समस्या बढ्दै गएको उनको भनाइ छ ।

व्यवसायी मात्र होइन विद्युत समस्याको हैरानीमा आम उपभोक्ता छन् । अत्यधिक गर्मी बढिरहेका बेला पङ्खा चल्ने भोल्टेजसमेत नहुने गरेको सर्वसाधारणको गुनासो छ । वीरेन्द्रनगर–६ कि मुुना शाहले चर्को गर्मीमा पङ्खा चल्नेसम्मको भोल्टेज पनि नहुने गरेको बताइन् । विद्युत प्राधिकरणको सुर्खेत वितरण केन्द्रले उपभोक्ताको मर्का नबुझेको उनको गुनासो छ । ‘फोनमार्फत पटक–पटक गुनासो गरे पनि कार्यालयले सुनुवाइ नगरेको उनी बताउँछिन् । ‘पङ्खा नचलाई बस्न सकिन्न । सक्ने त इन्भर्टर राख्लान्, हामीजस्ता सर्वसाधारण मारमा परेका छौँ,’ उनले भनिन्, ‘गर्मीका बेला विद्युत नियमित गरिदिनुप¥यो ।’

विद्युत प्राधिकरण सुुर्खेत वितरण केन्द्रका प्रमुुख युुवराज रावलले विद्युतको खपत बढी हुँदा फिडरले धान्न नसकेर अवरुद्ध हुने गरेको बताए । ‘गर्मीमा विद्युतको खपत बढ्यो, पुराना तारले धान्न सकेनन्,’ उनी भन्छन्, ‘कुनै बेला ओभरलोड भएर पनि विद्युत जान थाल्यो ।’ उनका अनुसार भोल्टेको समस्या न्यूनीकरण गर्न प्रयासहरू भएपनि सुधार हुन सकेको छैन । ट्रान्समिटरको क्षमता बढाए पनि तारको क्षमता कम भएका कारण समस्या रहिरहेको रावल बताउँछन् । उनले वर्षौं पुराना तार अपग्रेड हुन नसकेको जनाए । यसै कारण विद्युत अनियमितदेखि लो–भोल्टेजको समस्या देखिएको उनले बताए । केही ठाउँमा सुधार गरेर विद्युत नियमित गर्ने कसरतमा लागिरहेको उनको भनाइ छ । वितरण केन्द्रका अनुसार प्रसारण लाइनमा ओभरलोड हुँदा एमसिपी अफ हुने, कहिलेकाहीँ सिस्टमबाटै पनि विद्युत जाने र विशेष गरी कोहपुुरदेखि आउने लाइनमा समस्या भइरहने गरेको छ ।

अनियमित विद्युतले आजित भएका व्यवसायी तथा उपभोक्ताहरूले पटके लोडसेडिङ्ग अन्त्य गर्न पटक–पटक आग्रह गर्दै आएका छन् । उनीहरूले विद्युत प्राधिकरणको कर्णाली प्रादेशिक कार्यालय र वितरण केन्द्रमा अल्टिमेटमसहितको ध्यानाकर्षण–पत्र बुझाउने गरेका हुन् । तर, प्राधिकरण भने पुराना र जीर्ण संरचना तथा प्रसारण लाइनको क्षमताका कारण विद्युत अवरुद्ध हुने गरेको भन्दै पन्छिने गरेको छ । हावाहुुरी चल्ने बित्तिकै यहाँ विद्युत अवरुद्ध हुन्छ । जीर्ण र न्यून क्षमताका विद्युतीय संरचनाका कारण पनि सेवा भरपर्दो हुन नसकेको हो ।

विद्युतको माग बढी र सप्लाई कम हुँदा झन्–झन् जटिल अवस्था देखिन थालेको वितरण केन्द्रका प्राविधिकहरू बताउँछन् । हाल सञ्चालित कोहलपुर–सुर्खेत ३३ केभीए प्रसारण लाइनको क्षमता अपुग छ । तीन दशक पहिले विस्तार गरिएका संरचनाको भरमा अहिले पनि विद्युत सेवा दिइँदै आएको छ । कोहलपुर–सुर्खेत एक सय ३२ केभीए प्रसारण लाइन निर्माणमा समेत ढिलाइ भएको छ । उक्त प्रसारण लाइन निर्माणअघिका प्रक्रियामै ढिलाइ हुँदै आएको हो । नेपाल विद्युत प्राधिकरणले रूख कटानसम्बन्धी प्रस्ताव पेस गरेको लामो समय भएको छ । वन तथा वातावरण मन्त्रालयले मन्त्रिपरिषद्मा उक्त प्रस्ताव लैजान ढिलाइ गर्दा आयोजनाका काम प्रभावित बनिरहेका छन् ।

प्रकाशित मितिः   २२ जेष्ठ २०७९, आईतवार ०६:५९