नयाँ जनप्रतिनिधिसँगका अपेक्षा

एकातर्फ ‘नेपाल राजनीतिले बिगारेको देश हो’ भन्दा असहमत हुने सायदै कोही भेटिन्छन् होला भने अर्काेतर्फ नेपालीहरूमा जती राजनीतिक चेत पनि अरु विकसित देशका जनताहरूसँग सायदै होला । युरोप–अमेरिकाका धेरै प्रतिशत मान्छेहरूसँग आफ्नो देशका पार्टीहरू र तिनले उठाएका उम्मेद्वारहरूबारे त्यति जानकारी हुँदैन जति एउटा चिया पसलमा गफिइरहेको आम नेपालीसँग हुन्छ । त्यो आम नेपालीले आफ्नो क्षेत्रको नेताको गुण–दोष मात्र होइन उसको इतिहास र पृष्ठभुमी पनि एकै सासमा ओकल्दिन सक्छ । त्यति हुँदाहुँदै पनि बिगतका चुनावहरूको परिणामले मतदाताका मनहरूमा भन्दा भड्किला विजय जुलुसका भिड र खादा–माला टक्राउने चाकरीबाजहरूमा मात्र उत्साह जगाइरहेको हुन्थ्यो । तर, यसपालिको चुनावले भने सानै भए पनि आम–मतदाताको एउटा अहम् हिस्सामा उत्साह थपेको छ ।

भर्खरै सम्पन्न स्थानीय चुनावको परिणाम आउने क्रमसँगै कतै विजयको उन्माद, कतै हारको निराशा त कतै घात–अन्तरघातकको दोÈारोपण सुरु भइसकेको छ । यी सबै चर्चाहरूलाई थाती राखेर पंक्तिकारलाई भने देशभरीका नतिजा भन्दा फरक प्रकृतिका नतिजा आएका स्थानीय तहको बारेमा चर्चा गर्न मन लागेको छ । आशावादी नतिजा आएका केही स्थानीय तहहरू मध्ये काठमाडौंका बालेन शाह, धरानका हर्क साम्पाङ्ग, धनगढीका गोपाल हमाल सर्वाधिक चर्चामा छन् । यी सबै उम्मेद्वारहरू कुनै दलले सिफारिस गरेको उम्मेद्वार नभएर जनताका लागी काम गर्छु भनी स्वस्फुर्त रूपमा निर्दलीय उम्मेद्वारी दर्ता गरेका व्यक्तिहरू हुन् । हाम्रो जस्तो ठाउँ, जहाँ ठूला दलहरूले राजनैतिक सिन्डिकेट खडा गरेका छन्, यस्तोमा निर्दलीय उम्मेद्वारी दिएर जमानत जोगाउन पनि मुस्किलै हुन्छ । तिनै दलहरूले कब्जा गरेको प्रणालीमा इन्जिनिय र्यापर बालेन शाहले कुनै संगठनविना उम्मेद्वारी घोषणा गर्दासम्म पंक्तिकारको मनमा एउटा काबिल उम्मेदवार उठेकोमा हर्ष त थियो तर उनले चुनाव नै जित्लान् भन्ने विश्वास चाहीँ थिएन ।

मिडियामा उनको अन्तरवार्ताहरू आउन थालेसँगै उनका अध्ययन, अनुभव र योजना बारे पनि राम्रै जानकारी मिल्यो । जति जति बालेनबारे जान्दै गइयो उती उती ‘यति राम्रो उम्मेद्वार काठमाडौंले गुमाउने भयो’ भन्ने आशंका बढ्दै थियो । अझ उनी विरुद्ध दलले उठाउने एउटा उम्मेद्वार गठबन्धनको र अर्को बलियो पार्टीको उम्मेद्वार दुई दशक पहिले मेयरकै हैसियतमा काम गरेर चर्चा बटुलेका व्यक्ति भएपछि त बालेनले जित्ने असम्भव जस्तो नै लागेको थियो । यस्तोमा स्वतन्त्र उम्मेद्वारलाई यतिका मत भिन्नताले जिताएर काठमाडौंका मतदाताहरूले दलहरूको दादागिरी माथि धावा त बोले नै, उनीहरूको कार्यशैली परिवर्तन नगरे अब खैरियत छैन है भन्ने सन्देश पनि छोडे । काठमाडौं बाहेक पनि धरान र धनगढीको नतिजाले देशभरकै ध्यान खिचेको छ । यी तीन बाहेक थप दशवटा स्थानीय तहहरूमा सनातन दल बाहेकका उम्मेद्वारहरूले अनपेक्षित बाजी मारेका छन् ।

यी नतिजाहरूलाई केलाउँदा पंक्तिकारलाई के लाग्छ भने, ति ठाउँहरू जहाँका जनता अलि शिक्षित, चेतनशील र परिवर्तनशील छन्, उनीहरू आफ्नो मत पनि परिवर्तन गर्न सक्छन् । आजका जनताहरू छेउ न टुप्पोको भड्किलो भाषण गर्ने ‘बा’हरूभन्दा मुद्दाको बात गर्ने ‘ब्रो’हरू आफ्नो नेता भएको हेर्न चाहन्छन् । जनताहरू मैले भोट हाल्ने उम्मेद्वारले योजना सार्वजनिक गर्दा पत्याउने आधार सहित कुरा राखोस् भन्ने चाहन्छन् । आजका जनताहरू आफुले भोट हाल्ने उम्मेद्वारलाई उम्मेद्वारी दर्ताको अन्तिम दिन भन्दा अलि पहिलादेखि चिन्न चाहन्छन् । आजको मतदाताहरू आफ्नो उम्मेद्वारले कुनै जात, भाषा, धर्म, समुदाय, लैङ्गिक पहिचान बोकेका मान्छेहरूलाई भड्काउने बोली नाबोलोस् भन्ने चाहन्छन् । अब बन्ने नेताले बीस मिनेट बोल्ने मौका पाउँदा पन्ध्र मिनेट गाली–गलौज र ‘हेट–स्पीच’ नबोलोस् भन्ने चाहन्छन् । आफ्नो ‘चारसौबिसी व्यक्तित्व’लाई ढाका टोपि र दौराले छोप्दैमा नदेखेजस्तै गर्न आजका जनता तयार छैनन् ।

यति भन्दै गर्दा अब देश ‘बालेनहरू’कै हातमा सुम्पिसकिएको पनि होइन । आफ्ना प्रतिबद्धताहरू पूरा गरेनन्, जनताका आधारभूत समस्याहरू हल गर्ने पहल पनि गरेनन् र पुरानै कार्यशैलीमा चल्दै गए भने आज शङ्काको लाभले जितेर आएका नौला अनुहारहरूलाई दण्डित गर्न पनि जनता पछि पर्ने छैनन् । त्यो अवस्था आयो भने आफ्नो बचाउ गर्न यिनीहरूले राजनीतिक दलको बर्को ओढ्न पाउने छैनन् । तर, दलीय पालिका प्रमुखहरूको कार्यकाल यी स्वतन्त्र जितेका प्रमुखहरू जत्ती पनि फलदायी भएन भने चल्तीका दलहरूभने अबको पाँच वर्षमा दुलो भित्रै पसे हुन्छ ।

उसो त, आम मानिसलाई पालिकाको बागडोर कसले समायो भन्ने भन्दा कता डो¥यायो भन्ने कुरा महत्वपूर्ण हुन्छ । दलीय हुन् या निर्दलीय, नवनिर्वाचित पालिकाका पदाधिकारीहरूले जन–अपेक्षा अनुरूप काम गर्न सकुन् । रेलै कुदाउन सक्लान–नसक्लान, घर अगाडिका फोहर उठाइदिन सकुन् । ठूला–ठूला ड्याम बरु अर्को कार्यकाललाई राखुन्, यो पटक बाटोको नाला घरभित्र नपस्ने व्यवस्था गरिदिउन् । सयौँ मेगावाटका जलविद्युतका लागि बरु प्रदेश–केन्द्रको सरकारलाई अनुरोध गरुन्, बस्ती भित्रका सडक, गोरेटोमा बल्ब हाल्दिन सकुन् । ठूला–ठूला घोषणाले चुनाव जितेर आए पनि, साना–साना कामले मतदाताको मन जित्न सकुन् । स्थानीय नेताहरूले स्थानीय समस्याहरू नै हल गर्दिन सकुन्, सबै निर्वाचित पदाधिकारीहरूलाई शुभकामना ।

प्रकाशित मितिः   २२ जेष्ठ २०७९, आईतवार ०५:०४