सुर्खेतमा पाँच सय शिक्षक अपुग

आधारभूत तहमा दरबन्दी मिलान हुँदै, ४७ दरबन्दी कटौती हुने

साझा बिसौनी संवाददाता

सुर्खेत, १७ फागुन । 

पाँच सय १९ वटा सामुदायिक विद्यालय रहेको सुर्खेतमा पाँच सय भन्दा बढी नै शिक्षक अपुग रहेको पाइएको छ । विद्यार्थी संख्याको अनुपातमा हाल जिल्लामा पाँच सय पाँच जना शिक्षक दरबन्दी अपुग भएको जिल्ला शिक्षा कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

आधारभूत तह (कक्षा १ देखि ८ सम्म) मा ३ सय ३३ जना शिक्षक दरबन्दी कम रहेको सहायक जिल्ला शिक्षा अधिकारी ध्रुवराज पौडेलले जानकारी दिए । आधारभूत तहका लागि न्यूनतम सात वटा शिक्षक दरबन्दी हुनुपर्ने भए पनि अधिकांश विद्यालयमा न्यूनतम दरबन्दी समेत नभएको उनी बताउँछन् । त्यस्तै माध्यमिक तहमा पनि एक सय ७२ जना शिक्षक दरबन्दी अपुग छ । माविमा न्यूनतम पाँच जना शिक्षक दरबन्दी हुनुपर्ने प्रावधान छ । 
विद्यार्थी संख्या प्रत्येक वर्ष बढ्दै गए पनि शिक्षक दरबन्दी थप नहुँदा पठनपाठनमा समस्या उत्पन्न हुँदै आएको छ । शिक्षक अभावले गर्दा शैक्षिक गुणस्तर खस्किनुका साथै अन्य तहका साथै प्रवेशिका परीक्षाको नतिजामा समेत प्रभाव परेको सहायक जिल्ला शिक्षा अधिकारी पौडेलको भनाइ छ । उनी भन्छन्, ‘आवश्यक शिक्षक नहुँदा समयमै कोर्ष सकिदैंन, तल्लो तहका शिक्षकले माथिल्लो तहमा अध्यापन गराउनुपर्ने हुन्छ । यसले गर्दा बालबालिकाहरूले गुणस्तरीय शिक्षा पाउनबाट वञ्चित मात्र हुँदैनन्, समग्र नतिजा समेत बिग्रदै जान्छ ।’
आवश्यक दरबन्दी नहुँदा कतिपय विद्यालयले निजी स्रोतबाट शिक्षक राखेर समेत अध्यापन कार्य सञ्चालन गरेका छन् । निजी स्रोतबाट शिक्षक राख्दा क्षमतावान भन्दा पनि कम पारिश्रमिकमा काम गर्ने खोज्ने प्रवृत्तिले पढाइमा थप समस्या निम्तिएको बताइन्छ । जिल्लामा पनि अधिकांश विद्यालयले निजी स्रोतमा शिक्षक राखेका छन् । तर निजी स्रोतबाट शिक्षक राख्दा अभिभावकहरू समेत मारमा परेका 
छन् । ‘आधारभूत तह निःशुल्क घोषणा गरिएकोले विद्यालयले कुनै पनि वहानामा शुल्क लिन पाउँदैन’ पौडेलले भने, ‘तर निजी स्रोतमा शिक्षक राख्दा उनीहरूको पारिश्रमिकका लागि अभिभावकबाट पैसा उठाउनुपर्ने बाध्यता हुने गरेको छ, यसले विद्यालय र अभिभावक दुवै हैरान छन् ।’
अपुग दरबन्दी पूर्ति गर्न सरकारसँग माग भने गरिएको छ । जिल्ला शिक्षा कार्यालय सुर्खेतले जिल्लामा अपुग रहेको दरबन्दी पूर्ति गरिदिन शिक्षा मन्त्रालयमा पत्र पठाइसकेको छ । यद्यपि मन्त्रालयले दरबन्दी पठाउने कुनै टुङ्गो लागिसकेको छैन । दरबन्दी थप हुने टुङ्गो नलागिसकेकाले जिल्ला शिक्षा समिति सुर्खेतले भने हाललाई दरबन्दी मिलान प्रक्रिया अघि बढाएको छ । पठनपाठन कार्यलाई सहज बनाउन जिल्ला शिक्षा समितिले आधारभूत तह (कक्षा १ देखि ८)को शिक्षक दरबन्दी मिलानको प्रक्रिया अघि बढाएको हो । विद्यार्थी संख्याको अनुपात हेरेर दरबन्दी मिलानको प्रक्रिया अघि बढाइएको जिल्ला शिक्षा कार्यालय सुर्खेतले जनाएको छ । 
विद्यार्थी अनुपातभन्दा बढी शिक्षक भएको विद्यालयको दरबन्दी कटौती गरिने र कम भएको विद्यालयमा मिलान गरिने सहायक जिल्ला शिक्षा अधिकारी पौडेलले जानकारी दिए । उनका अनुसार जिल्लामा ४७ वटा दरबन्दी कटौती हुने भएको छ । त्यसैगरी ७३ वटा दरबन्दी एक विद्यालयबाट अर्को विद्यालयमा सार्नुपर्ने अवस्था रहेको पौडेलले जनाए । निमावि र मावि तहमा शिक्षक अभाव भए पनि प्राथमिक तहमा भने दरबन्दी पर्याप्त रहेको जनाइएको छ ।  
प्रकाशित मितिः   १८ फाल्गुन २०७२, मंगलवार १२:५९