नगरबासीलाई निःशुल्क पानी

सुर्खेत: दैलेखको नारायण नगरपालिकाले नगरबासीलाई खानेपानी निःशुल्क वितरण गर्ने भएको छ । नगरका एक हजार सात सय धारामा मासिक पाँच हजार लिटरको दरमा निःशुल्क खानेपानी वितरण गर्ने भएको हो । नगर कार्यपालिकाको पहिलो बैठकले उक्त निर्णय गरेको नगर प्रमुख लोमन शर्माले बताए । साउन १ गतेदेखि लागू हुनेगरी यस्तो निर्णय भएको शर्माले जनाए । उनका अनुसार यो निर्णयबाट कम्तीमा एक हजार सात सय घरधुरीका झन्डै १० हजार नागरिक लाभान्वित हुनेछन् । उनीहरूले महिनामा पाँच हजार लिटर पानी निःशुल्क रूपमा पाउने भएका हुन् ।

नगरमा साना सहरी खानेपानी आयोजना ‘सहारे’ अन्तर्गत एक हजार सात सय घरमा खानेपानीका धारा जडान गरिएका छन् । पाँच सय धारा जडान हुने प्रक्रियामा रहेका छन् । सो आयोजनाबाट प्रतिसेकेण्ड १२ लिटरको दरमा पानी उपलब्ध हुँदै आइरहेको छ । अहिले प्रतिधारा मासिक न्यूनतम् एक सय ५० रूपैयाँ तिर्नुपर्छ । पाँच युनिटसम्मको त्यही न्यूनतम् शुल्क नगरपालिकाले तिरिदिन लागेको हो । पाँच युनिट पानीभन्दा बढी प्रयोग गर्ने घरधुरीले बढी लाग्ने महसुल भने बुझाउनुपर्ने बताइएको छ । नगर प्रमुख शर्माले नगरको आन्तरिक आम्दानीबाट उपभोक्ताको पानीको महशुल तिर्नेगरी निर्णय भएको जनाए । उनका अनुसार खानेपानीको न्यूनतम् शुल्क मिनाहका लागि आवश्यक कार्यविधि तयार गरिनेछ ।

प्रकाशित मितिः   २१ जेष्ठ २०७९, शनिबार ०५:०४