रासायनिक मल अभाव

सुर्खेत: खेतीपातीको सिजनका बेला कर्णालीमा रासायनिक मलको अभाव देखिएको छ । खेतीपातीको सिजन सुरु भएसँगै बर्सेनी कर्णालीमा मल अभाव हुने गरेको छ । वर्षायाम सुरु हुनै लाग्दा यतिबेला किसानहरू खेतबारीतिर लागेका छन् । तर, यहाँका सिकानले यसपटक पनि मल नपाउने भएका छन् । कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश भन्ने गरिए पनि यहाँ रासायनिक मलको प्रयोग बढ्दो छ । विगतका वर्षझैँ यसपालि पनि मल नपाउने भएपछि किसानहरू चिन्तित भएका छन् । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतमा हाल एक सय ५० टन डिएपी र १० टन पोटास मल मौज्दात छ । अहिले कम्पनीसँग युरिया मल छैन । युरिया चालु आर्थिक वर्षको मंसिर मसान्तमा आठ सय ९४ टन आएकोमा गत चैत २३ गते नै सकिएको छ ।

दैनिक वितरणको विवरण हेर्दा कम्पनीसँग १० दिनलाई मात्र पुग्ने युरिया बाहेकको मल मात्र बाँकी रहेको कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख अमूल्यलाल श्रेष्ठले बताए । उनका अनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तमा ६ सय ३५ टन डीएपी मल आएकोमा पाँच सय ३० टन बिक्री भइसकेको छ । त्यस्तै, गत मंसिरमै आएको ७३ टन पोटास मल ६३ टन बिक्री भइसकेको उनी बताउँछन् । ‘डीएपी र पोटास मलमात्र बाँकी रहेको छ,’ उनले भने, ‘यसलाई समानुपातिक तरिकाले वितरण गरिरहेका छौँ ।’ भारतबाट मल आयात नहुँदा अभाव भएको जनाइएको छ । कम्पनीमा मल कहिले आउने भन्ने निश्चितसमेत छैन । कम्पनीले प्रदेशका सल्यान र रूकुमबाहेकका आठ जिल्लामा दर्ता भएका एक सय आठ सहकारी संस्थामार्फत मल वितरण गर्दै आएको छ ।

कर्णालीमा युरिया मल बढी खपत भइरहेपनि साविक कर्णाली अञ्चलका जिल्लाहरूमा भने रासायनिक मलको प्रयोग कम हुने गरेको कार्यालयले जनाएको छ । कर्णालीमा कम्पनीले ७० प्रतिशत र साल्ट ट्रेडिङ्ग कर्पोरशनले ३० प्रतिशत मल वितरण गर्दै आएको छ । पछिल्लो समय साल्ट ट्रेडिङ्गमा पनि युरिया मलको अभाव छ । आपूर्ती कम र रासायनिक मलको प्रयोग बढ्दै जाँदा हरेक वर्ष मल अभाव हुने गरेको छ ।

प्रकाशित मितिः   २१ जेष्ठ २०७९, शनिबार ०५:०२