बौद्ध ग्रामीणद्वारा विद्यालय सञ्चालन
सुर्खेत: बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाले विद्यालय सञ्चालनमा ल्याएको छ । सहकारी संस्थाद्वारा वीरेन्द्रनगर–९ लाटीकोइलीमा स्थापना गरिएको बिजी एकेडेमी एण्ड रिर्सच सेन्टरको शनिवार उद्घाटन गरिएको हो ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि भूमि व्यवस्था तथा सहकारी रजिस्ट्रारको कार्यालयका रजिस्ट्रार खुमप्रसाद सुवेदीले सहकारीमार्फत सामाजिक क्षेत्रमा थुप्रै काम गर्न सकिने उदाहरण बौद्ध ग्रामीणले दिएको बताए ।
वीरेन्द्रनगर–९ का वडा अध्यक्ष ऋषि गिरीले सहकारीले विद्यालयमा लगानी गर्नु प्रशंसनीय कार्य भएको बताए । उनले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा वडा कार्यालयले सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । सहकारीका अध्यक्ष सिङबहादुर गुरुङले संस्थाका सदस्यहरूको आर्थिक र समाजिक विकासमा केन्द्रित भएर गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिए ।
२०५७ मा स्थापना भएको बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाले सुर्खेत, दैलेख, जाजरकोट र जुम्ला गरी चार जिल्लामा वित्तीय सेवा दिँदै आएको छ । संस्थाले वित्तीय कारोबारसँगै डेरी उद्योग, पानी उद्योग, शित भण्डार, कृषि फर्मलगायत क्षेत्रमा पनि लगानी गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल केसीले जानकारी दिए । विद्यालय स्थापनासँगै सहकारीले शैक्षिक क्षेत्रमा पनि लगानी बढाएको उनले जनाए ।
प्रकाशित मितिः २१ जेष्ठ २०७९, शनिबार ०५:०१
साझा बिसौनी ।