‘गठबन्धनबाटै धोका भयो’

सुर्खेत: नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूले इमान्दारीता देखाउँदा पनि गठबन्धन दलहरूबाटै धोका पाएको बताएका छन् । उनले स्थानीय तहको निर्वाचनमा गठबन्धनभित्रै समस्या देखिएको बताएका हुन् । ‘धोका दिने तरिका विभिन्न पार्टीहरूले यसपटक पनि अंगालेका छन्,’ नेता नेपालले भने, ‘उहाँहरूलाई भन्न चाहान्छु, बेइमानी नगर्नुस् । बेइमानी गरे तपाईंहरूको पनि हरिबिजोग हुनेवाला छ ।’ पार्टीका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिन बिहीवार वीरेन्द्रनगर आएका उनले गठबन्धन दलहरू पनि सुध्रिन आवश्यक रहेको औंल्याए ।

नेता नेपालले अहिले आफू प्रधानमन्त्रीको प्रलोभनमा नपर्ने प्रष्ट पारे । आफू कुनै प्रकारको प्रलोभन तथा लालचमा नपर्ने उनले जिकिर गरे । ‘प्रचण्डजीले एउटा कार्यक्रममा प्रधानमन्त्रीको अफर आयो भन्नुभएको थियो, त्यसको जवाफमा मैले तपाईंलाई मात्र हैन, अन्त पनि आएको छ भनेर संकेत गरेको थिएँ,’ उनले भने । यस्तो कार्ड फाल्नु मुर्ख बनाउने तरिका मात्रै भएको उनले बताए । अहंकारी र षड्यन्त्रकारीहरूले विभिन्न खालका भ्रम फैलाइरहेको भन्दै उनले आफूलाई कुनै लालच नभएको दाबी गरे । अध्यक्ष नेपालले नेकपा (एमाले)सँग एकीकरण वा गठबन्धनको सम्भावनासमेत नरहेको बताए । ‘वाम गठबन्धन र एमालेसँग एकीकरणको चर्चा चलेपनि तत्काल यो दुवै सम्भावना छैन,’ उनले भने ।

प्रकाशित मितिः   २० जेष्ठ २०७९, शुक्रबार ०५:०४