राष्ट्रपतिद्वारा काँक्रेविहारको अवलोकन

सुर्खेत: राष्ट्रपति विद्यादेवी भण्डारीले काँक्रेविहार भ्रमण गरेकी छन् । मंगलवार सुर्खेत आएकी उनले पुरातात्विक एवम् ऐतिहासिक काँक्रेविहारको अवलोकन गरेकी हुन् । भ्रमणका क्रममा वीरेन्द्रनगर नगरपालिकाले राष्ट्रपति भण्डारीलाई स्वागत गर्दै मायाको चिनो प्रदान गरेको छ । राष्ट्रपति भण्डारी मंगलवार सुर्खेतमै बास बस्ने र आज (बुधवार) बडिमालिका दर्शनका लागि जाने कार्यतालिका रहेको सचिवालयले जनाएको छ । उनी मंगलवार दिउँसो पौने २ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत आएकी हुन् । राष्ट्रपति भण्डारीको सुर्खेतमा कुनै औपचारिक कार्यक्रम भने थिएन । अनौपचारिक भ्रमणका क्रममा उनले वीरेन्द्रनगर–९ स्थित लाटीकोइलीमा रहेको काँक्रेविहारको अवलोकन गरेकी हुन् । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले काँक्रेविहार संरक्षणमा चासो व्यक्त गरेकी थिइन् ।

प्रकाशित मितिः   १८ जेष्ठ २०७९, बुधबार ०५:०२