विद्युत प्रसारण लाइन निर्माणमा ढिलाइ
सुर्खेत: कोहलपुर–सुर्खेत विद्युत प्रसारण लाइन निर्माणमा ढिलाइ भएको छ । एक सय ३२ केभीए प्रसारण लाइन विस्तार अघिका काममा ढिलाइ भएको हो । आगामी भदौमा म्याद सकिने भए पनि आयोजनाले अहिलेसम्म रुख कटानको अनुमति पाएको छैन । नेपाल विद्युत प्राधिकरणले रुख कटानसम्बन्धी प्रस्ताव पेश गरेको लामो समय भएको छ । वन तथा वातावरण मन्त्रालयले मन्त्रिपरिषद्मा उक्त प्रस्ताव लैजान ढिलाइ गर्दा आयोजना प्रभावित भएको हो । कोहलपुर–सुर्खेत ५२ किमी लामो प्रसारण लाइनको अधिकांश भू–भाग बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्छ । आयोजनाका लागि बाँके, बर्दिया र सुर्खेतमा गरी १३ हजार एक सय १९ रुख कटान गर्नुपर्ने हुन्छ ।
आयोजना प्रमुख रविकुमार चौधरी रुख कटानसम्बन्धी निर्णय नहुँदा तोकिएको समयमै आयोजना नबन्ने देखिएको बताउँछन् । ७० करोड लागतमा भारतीय कम्पनी आरएस इन्फाप्रोजेक्टले आयोजना निर्माणको जिम्मा पाएको छ । आयोजनाको निर्माण अवधि आगामी भदौमा सकिँदैछ । ‘वनजंगल नभएको ठाउँमा प्रसारण लाइनको काम भइरहेको छ,’ आयोजना प्रमुख चौधरीले भने, ‘निजी जग्गाको मुआब्जा वितरण प्रक्रिया पनि थालिएको छ । मन्त्रिपरिषद्बाट रुख कटानको निर्णय नहुँदा आयोजनाको निर्माण अवधि धकेलिने देखिन्छ ।’
आयोजना अन्तर्गत डबल सर्किटका एक सय ७० टावर निर्माण गर्ने प्रस्ताव छ । ती टावरको उचाइ एक सय १५ मिटरदेखि एक सय ६० मिटरसम्म रहेको छ । प्रसारण लाइन निर्माणको कार्यान्वयनका लागि विभिन्न जमिन, सामुदायिक वन तथा सरकारी वन क्षेत्र गरेर कुल दुई सय २५ वर्गकिलोमिटर जमिन समेटिने बताइएको छ । बाँकेको कोहलपुरबाट सुरु भएको प्रसारण लाइन वीरेन्द्रनगरको बुदबुदीस्थित सवस्टेशनमा पुगेर टुङ्गिनेछ । एक सय ३२ केभीए विद्युत प्रसारण लाइन विस्तार नहुँदा कर्णालीवासीले विद्युत सेवामा सास्ती भोग्दै आइरहेका छन् । हाल सञ्चालित कोहलपुर–सुर्खेत ३३ केभीए प्रसारण लाइन वि.सं. २०४५ सालमा विस्तार गरिएको हो । जुन कर्णाली प्रदेशका लागि अपर्याप्त छ ।
प्रकाशित मितिः १८ जेष्ठ २०७९, बुधबार ०५:०२
साझा बिसौनी ।