कृषि उद्यममा युवाको आकर्षण

गाउँदेखि सहरसम्म व्यावसायिक तरकारी खेती

सुर्खेत: वीरेन्द्रनगर–४ की रम्भा गिरीलाई यतिबेला बारीको तरकारी रेखदेखमा भ्याइनभ्याइ छ । बारीमा बेमौसमी तरकारी लटरम्म फलेको छ । वीरेन्द्रनगर बजारदेखि झन्डै १५ मिनेटको दूरीमा रम्भा व्यावसायिक तरकारी खेती गर्छिन् । केही वर्षयता शीतल कृषि तथा पशुपालन समूहमार्फत तरकारी खेती गर्दै आएकी उनी त्यसअघि भने घरका लागि मात्रै तरकारी उत्पादन गर्थिन् । बजारमा तरकारीको माग अत्यधिक देखेपछि उनले निर्वाहमुखी खेतीलाई बढाएर व्यावसायिक बनाएकी हुन् । आठ कठ्ठा जमिनमा टनेल बनाएर मौसमी तथा बेमौसमी तरकारी खेती गर्ने उनले यसैबाट मनग्य आम्दानी गर्दै आएकी छिन् । वर्षमा तीन सिजन तरकारी उत्पादन गर्ने रम्भाले वार्षिक पाँच लाख रुपैयाँसम्म आम्दानी भइरहेको बताइन् । ‘तरकारी फलाउन सक्नुमात्र प¥यो, बजार नपाइएला भन्ने समस्या नै छैन,’ उनले भनिन्, ‘घरमै तरकारी लिन आउनेको घुइँचो लाग्छ ।’ गिरीले बारीमा कम्पोष्ट मलको मात्र प्रयोग गर्ने भएकाले अर्र्गानिक तरकारी उत्पादन हुन्छ । अर्गानिक तरकारी बारीमै पुगेर किन्न पाएपछि सिजनमा ग्राहकहरूको भिड लाग्ने गर्छ ।

गाउँदेखि सहरसम्म व्यावसायिक तरकारी खेती

३८ वर्षीया रम्भा सहर बजार नजिकै पनि व्यावसायिक तरकारी खेती गर्ने बिरलैमध्येकी एक हुन् । खासगरी तरकारी खेती ग्रामीण क्षेत्रमा गर्ने प्रचलन बढी छ । तरकारी खेतीका लागि आवश्यक जमिन तथा सिँचाइलगायतका समस्याले बजार क्षेत्रमा व्यावसायिक खेतीको सम्भावना न्यून मानिन्छ । रम्भाले सुरुमा एक लाख लगानीमा तरकारी खेती थालिन् । व्यावसायिक तरकारी खेती सुरु गर्दा उनले एउटा योजना बनाइन्, अर्गानिक मल र विषादीको प्रयोग मात्र गर्ने । यही योजनाले उनको व्यावसायिक खेतीमा सफलता मिल्यो । रम्भा भन्छिन्, ‘तरकारी खेती त धेरैले गर्नुहुन्छ । तर, अर्गानिक उत्पादनमा खासै कसैले चासो दिएको पाइँदैन । मैले अर्गानिक उत्पादनमा जोड दिएँ ।’ खेतीका लागि गड्यौलाबाट मल र विषादीको रुपमा गाईको गउँत प्रयोग गर्दै आएको उनले बताइन् ।

आफ्नै जग्गामा खेती गर्ने उनलाई परिवारको उत्तिकै साथ छ । सिँचाइ सुविधा र बजारको समस्या समेत नभएकाले निकै सहज भएको छ । व्यावसायिक रूपमा खेती गर्दा धेरै आम्दानी हुने उनको अनुुभव छ । आफूले व्यावसायिक तरकारी खेती सुरु गरेपछि विभिन्न निकायको सहयोगसमेत प्राप्त गर्दै आएको उनले जनाइन् । रम्भाले कृषि विकास निर्देशनालय र वीरेन्द्रनगर नगरपालिकाबाट तरकारी खेतीका लागि सहयोग पाएकी छन् । ‘व्यावसायिक रूपमा खेती गरेपछि सहयोगी हातहरू पनि भेटिने रहेछन्,’ उनी भन्छिन् । व्यवसायलाई थप बढाउने योजनामा रहेकी उनले चिचिन्डा, करेला, काँक्रा, बोडी, खुर्सानी र आलु खेती गर्दै आएकी छन् । उनको कृषि फर्ममा सात जनाले रोजगारी समेत पाएका छन् । त्यसका साथै उनले गड्यौला मल र प्राङ्गारिक विषादी उत्पादन गरेर बिक्री–वितरण पनि गर्छिन् ।

तरकारीको माग बढ्दै गएपछि पछिल्लो समय यसलाई व्यावसायिक रूपमा अघि बढाउने युवाहरूको संख्या पनि बढेको छ । गाउँदेखि सहरसम्म तरकारी खेतीमा आकर्र्षण देखिने गरेको हो । दैलेख नारायण नगरपालिका–१ कुसाडाका २८ वर्षीय नरेन्द्र सिजापति तरकारी खेतीमै रमाएका छन् । कुनै बेला आर्थिक अवस्था निकै नाजुक भएका उनको तरकारी खेतीले अहिले जीवनशैली नै फेरिएको छ । उनी भन्छन्, ‘अहिले पैसाको अभाव छैन । मेरा लागि तरकारी व्यवसाय पैसा फल्ने बोटजस्तै भएको छ ।’ तरकारी खेती सुरु गर्नुअघि उनले वैदेशिक रोजगारीका लागि प्रयास गरे । विदेश जाने प्रयास असफल भएपछि तरकारी खेतीमा होमिएका उनको यतिबेला जिल्लामै सफल कृषकको पहिचान बनेको छ । आठ वर्षअघि ५० हजार रुपैयाँ लगानीमा व्यावसयिक तरकारी खेती थालेको उनले बताए ।

पाँच रोपनी जमिनमा व्यवसाय बढाउँदै लगेका नरेन्द्र तरकारी बेचेर वार्षिक सात लाखसम्म आम्दानी गर्छन् । बजारमा बेमौसमी उत्पादनले राम्रो मूल्य पाउने र एक किलो तरकारीमा आधाभन्दा बढी नाफा हुने नरेन्द्र बताउँछन् । यसै तरकारी खेतीको आम्दानीमा १० जनाको परिवार आश्रित रहेको उनले बताए । नरेन्द्र व्यवसायमा सफल मात्र भएका छैनन्, गाउँका अरु युवाहरूका लागि प्रेरणाका स्रोतसमेत बनेका छन् । तरकारीमा सामान्य रोगकिरा लाग्दा समाधानका उपायसम्बन्धी पनि ज्ञान बटुलेका उनले निरन्तर मिहेनत गर्दै जाँदा जुनसुकै व्यवसायमा पनि सफल हुन सकिने बताए । नरेन्द्रले तरकारी व्यवसायलाई निरन्तरता दिने सोच बनाएका छन् । गिरखानी कृषि तथा पशुपालन फर्म सञ्चालन गर्दै आएका उनले रोजगारी खोज्दै भौतारिनुभन्दा युवाहरूले आफ्नै बारीमा कृषि उत्पादनमा लाग्नुपर्ने सुझाव दिए ।

प्रकाशित मितिः   १७ जेष्ठ २०७९, मंगलवार ०५:०५