चुनावलक्षित बजेट

संघीय सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतवार प्रतिनिधिसभामा बजेट प्रस्तुत गरेका हुन् । सरकारले चालु आर्थिक वर्षको संशोधित बजेटभन्दा करिब २४ प्रतिशत ठूलो आकारमा बढाएर बजेट ल्याएको हो । जुन १७ खर्ब ९३ अर्ब ८३ करोड बराबरको छ । चालु आर्थिक वर्षका लागि सुरुमा १६ खर्ब ३२ अर्ब रुपैयाँको बजेट ल्याएको सरकारले मध्यावधि समीक्षामार्फत १५ खर्ब ४६ अर्ब रुपैयाँ खर्च हुने गरी संशोधन गरेको थियो । संशोधन गरेर आकार घटाइए पनि बजेट खर्च भने सन्तोषजनक हुन सकेको छैन । विगतका वर्षहरूमाजस्तै यो वर्ष पनि संघीय सरकारको बजेट खर्च निराशाजनक नै छ । मध्यावधि संशोधन मार्फत् घटाइएको बजेट पनि खर्च हुन नसक्ने भन्दै अर्थमन्त्री शर्माले पुनः संशोधन गरेर यो वर्ष १४ खर्ब ४७ अर्ब ५१ करोड रुपैयाँ मात्रै बजेट खर्च हुने जनाएका छन् । यसले पनि सरकार बजेट कार्यान्वयनमा असफल भएको देखाउँछ ।

लक्ष्यअनुसार बजेट खर्च गर्न नसक्ने पुरानै प्रवृत्ति हो । यसमा सुधार हुन सकेको छैन । तर हरेक वर्ष वार्षिक बजेट बनाउँदा भने सरकारले आकार बढाउने गरेको छ । आगामी वर्षका लागि विनियोजित बजेटको आकार पनि संशोधित बजेटभन्दा ठूलो छ । अर्थात् तीन खर्ब ४६ अर्ब ३२ करोड रुपैयाँ बढी विनियोजन गरिएको छ । तर आम्दानी र खर्चको तालमेल भने मिलेको देखिंदैन । आगामी वर्षको बजेटमा १२ खर्ब ४० अर्ब ११ करोड रुपैयाँ राजस्व प्राप्त हुने दाबी सरकारले गरेको छ । त्यस्तै आन्तरिक ऋणबाट दुई खर्ब ५६ अर्ब, वैदेशिक ऋणबाट दुई खर्ब ४२ अर्ब २६ करोड र वैदेशिक अनुदानबाट ५५ अर्ब ४६ करोड रुपैयाँ स्रोत प्राप्त हुने लक्ष्य बजेटमा उल्लेख छ । तर उक्त लक्ष्य प्राप्त हुने आधार निकै कमजोर छन् । विगतको अनुभवले पनि राजस्वको लक्ष्य पूरा गर्नु चुनौतीपूर्ण छ । वैदेशिक ऋण र अनुदानमा पनि अपेक्षाकृत प्रगति हुन सक्ने देखिदैन ।

बजेटलाई विभिन्न कोणबाट हेर्ने र विश्लेषण गर्ने गरिएको छ । खासगरी आगामी निर्वाचनलाई लक्षित गरेर लोकप्रिय हुने कार्यक्रममा सरकार केन्द्रित भएको देखिन्छ । यसलाई चुनावमा मतदाता प्रभावित पार्ने बजेट भन्न सकिन्छ । किनभने सोहीअनुसारका कार्यक्रम घोषणा गरिएको छ । तलबभत्ताको वृद्धिदेखि वृद्धभत्ता प्राप्त गर्ने उमेर घटाउनेसम्मका योजना मतदातालक्षित छन् । अनुत्पादक क्षेत्रमा बजेटको ठूलो हिस्सा विनियोजन गरिएको छ । यसले पनि बजेट आलोचनको घेरामा परेको छ ।

प्रकाशित मितिः   १७ जेष्ठ २०७९, मंगलवार ०५:०३