बारसहितको दोहोरी साँझ सञ्चालनमा

सुर्खेत: वीरेन्द्रनगरमा सुविधासम्पन्न किचन बारसहितको दोहोरी साँझ सञ्चालनमा आएको छ । लेजेन्ड गु्रप अफ कम्पनी प्रालिले न्यूरोडमा ‘भिन्टेज किचन बार तथा चौतारी दोहोरी साँझ’ सञ्चालनमा ल्याएको हो । बिहीवार नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले उक्त दोहोरी साँझको उद्घाटन गरे । किचन बार तथा दोहोरी साँझको उद्घाटन गर्दै शाहीले मनोरञ्जनमूलक व्यवसायले प्रदेश राजधानीको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले लगानीकर्ताको लगानीको सुरक्षा नभएसम्म पाहुनाले राम्रो सुविधा नपाउने र व्यवसायी जोखिममा पर्ने खतरा रहेको समेत औल्याए ।

कार्यक्रममा वीरेन्द्रनगर–६ का वडाध्यक्ष जनकबहादुर रावलले दोहोरी साँझले स्थानीय कला संस्कृतिको प्रवद्र्धनमा मद्दत पुग्ने बताए । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले रोजगारी सिर्जना गर्नमा किचन बार तथा दोहोरी साँझ ठूलो प्लेटफर्म बन्ने धारणा व्यक्त गरे । व्यवसायीलाई सफल बनाउन सबै कर्णालीबासीको दायित्व रहेको उनको भनाइ थियो । सञ्चालकका तर्फबाट बोल्दै उपेन्द्र खड्काले रेष्टुरेन्ट र दोहोरी साँझमा आउने ग्राहकको पूर्ण सुरक्षाको ग्यारेन्टी गरिने जनाए । उनले ग्राहकहरूलाई ढुक्क भएर सेवा लिन आग्रह गरे । सुर्खेतका युवा व्यवसायी उपेन्द्र खड्का, डम्बर गौतम, विशाल ढकाल र मानव बमको साझेदारीमा दोहोरी साँझ सञ्चालनमा ल्याइएको हो । यो समूहले यसअघि फेसियल हाउस, हर्बल स्पालगायतका व्यवसाय पनि सञ्चालनमा ल्याइसकेको छ । तीन करोड लगानीमा एउटै घरमा फेसियल हाउसदेखि रेष्टुरेन्ट, बार, दोहोरी साँझ व्यवसाय सुरु गरेको लगानीकर्ताहरूले जनाएका छन् । फेसियल हाउसको तेस्रो तलामा दोहोरी साँझ, चौथो तलामा रेष्टुरेन्ट, र पाँचौ तलामा बार सञ्चालन गरिएको छ । लिफ्ट सुविधा, पार्किङ क्षेत्रदेखि बारसम्म अत्याधुनिक सिसिटिभी क्यामरा जडान गरिएको सञ्चालकले बताएका छन् ।

प्रकाशित मितिः   १२ जेष्ठ २०७९, बिहीबार १९:३८