विपन्न समुदायलाई बाख्रा उपहार
सुर्खेत: सिम्ताका विपन्न समुदायलाई बाख्रा वितरण गरिएको छ । सिम्ता गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सुन्दर नेपाल संस्थाद्वारा सञ्चालित कृषि तथा पशु उद्यमशीलता विकास परियोजना अन्तर्गत गाउँपालिकाका नौ वटै वडामा बाख्रा वितरण गरिएको हो ।
एक हजार तीन सय ५० विपन्न, दलित तथा जनजाति समेतका परिवारहरूलाई ५४ वटा स्वावलम्बी समूह र सहकारीमा आवद्ध गराएर उद्यमशीलता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएको छ । कृषि उपज तथा पशु वस्तुहरूको गुणस्तरिय उत्पादन, उत्पादकत्व र उद्यमशीलता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । यसका साथै बजारीकरण गर्न समेत सहजीकरण गर्ने गरिएको कार्यक्रम संयोजक ओमप्रकाश थापाले जानकारी दिए । कार्यक्रम अन्तर्गत नौ वटा मूल समूहलाई नौ वटा उन्नत जातको बोका तथा ७२ वटा बाख्रा वितरण गरिएको छ । गाउँपालिकाको वडा नं. ३ का अध्यक्ष लोकबहादुर शाही र वडा नं. ४ का अध्यक्ष वीरेन्द्र सिंहको सहभागितामा बाख्रा उपहार कार्यक्रम सम्पन्न गरिएको कार्यक्रमका फोकल पर्सन उमा आचार्यले जनाइन् ।
सोही कार्यक्रम अन्तर्गत १८ वटा समूहमा चार दिने हेफर आधारशीला तालिम पनि सम्पन्न गरिएको छ । दुई दिने पशु तथा स्रोतको उचित व्यवस्थापन तालिमका साथसाथै कृषिजन्य बीउबिजन वितरण कार्य समेत गरिएको छ ।
प्रकाशित मितिः १२ जेष्ठ २०७९, बिहीबार २१:३०
साझा बिसौनी ।