गठबन्धनको नाफा–नोक्सान !

सुर्खेत: स्थानीय निर्वाचन अन्तर्गत यसपटक कर्णाली प्रदेशका अधिकांश पालिकामा चुनावी गठबन्धन बने । राजनीतिक दलहरूले आफू बलियो भएको स्थानमा एक्लाएक्लै र कमजोर भएका पालिकामा अनुकूलका गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । प्रदेशका ७९ मध्ये २२ पालिकमा एक्लाएक्लै प्रतिस्पर्धा गरेका दलहरूले अन्य ५७ वटामा भने चुनावी गठबन्धन गरेका हुन् ।

कर्णालीका सबै पालिकामा गठबन्धन गर्ने प्रयास गरेपनि सत्तारुढ दलहरूले त्यसलाई कार्यान्वयनमा ल्याउन सकेनन् । भागबन्डामा सहमति जुट्न नसकेपछि कतै सहकार्य र कतै प्रतिस्पर्धामा उत्रिए । प्रदेशका धेरै स्थानीय तहमा सत्तारुढ दलहरूबीच नै तालमेल भयो । तर केहीमा भने प्रतिपक्षी दल एमालेसँग पनि तालमेलका लागि हात बढाउन पुगे माओवादी र कांग्रेस ।

गठबन्धनका प्रमुख तीन दल कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच प्रदेशका १२ पालिकामा मात्रै गठबन्धन भएको छ । त्यस्तै १७ वटा पालिकामा कांग्रेस र माओवादी मिलेर चुनाव लड्दा १४ वटामा माओवादी र समाजवादबीच सहकार्य भएको छ । सात वटामा पालिकामा कांग्रेस र एमालेले तालमेल गरेर निर्वाचनमा भाग लिएका छन् । यसरी हेर्दा दलहरूले स्थानीयस्तरको अनुकूलताका आधारमा गठबन्धन बनाएको देखिन्छ ।

कर्णालीमा चुनावी तालमेलका अलग–अलग रोचक दृष्यहरू देखा परेका छन् । यद्यपि गठबन्धनको लाभ भने कांग्रेस र माओवादीले लिएका छन् । संख्यात्मक रूपमा माओवादीलाई बढी फाइदा पुगेको देखिन्छ । ३२ पालिकासहित पहिलो दल बन्दा कांग्रेसले पनि गठबन्धनको भरपूर फाइदा उठाएको छ ।

अघिल्लो पटक २५ पालिका जितेको कांग्रेसले यसपटक थप सात पालिका जित्यो । त्यसो त कांग्रेसले जितेका ३२ मध्ये १० वटा गठबन्धनको बलमा जितेको हो । कांग्रेस एक्लैले भने २२ पालिकाको नतिजा आफ्नो पोल्टामा पारेको हो ।

अझ रोचक नतिजा के छ भने सत्तारुढ साझेदार माओवादीको प्रभाव क्षेत्र मानिने रूकुम–पश्चिममा एमालेसँग गठबन्धन गरेर कांग्रेसले माओवादीबाट दुई वटा पालिकाको नेतृत्व खोस्न सफल भयो । सदरमुकाम मुसिकोट नगरपालिकाको प्रमुख र बाँफीकोट गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । २०७४ मा रूकुमका सबै पालिका माओवादी केन्द्रले जितेको थियो ।

यस्तो रोचक तालमेल रुकुममा मात्रै भएको भने होइन । कालिकोटको महाबै गाउँपालिकामा कांग्रेसविरुद्ध माओवादी र एमालेले तालमेल गरे । प्रदेशबाट गरिएको गठबन्धनको निर्णयमा पालिकाको नेतृत्व नेपाली कांग्रेसको भागमा परेपछि स्थानीय तहमा भने माओवादीले एमालेसँग सहकार्य ग¥यो । उक्त सहकार्य सफल पनि भयो । अध्यक्षमा माओवादीका खेमबहादुर सिंह र उपाध्यक्षमा एमालेका दानसिंह सेजुवाल निर्वाचित भएका छन् ।

डोल्पाको जगदुल्ला गाउँपालिमा त माओवादी केन्द्रविरुद्ध कांग्रेस, एमाले र एकीकृत समाजवादीले तालमेल गरेका थिए । तर नतिजा भने माओवादीकै पक्षमा गयो ।

प्रदेशका अधिकांश स्थानीय तहमा गठबन्धन गरेको माओवादी केन्द्रले केही नयाँ पालिकामा जित हात पारेपनि अघिल्लो पटक जितेका केही पालिका भने जोगाउन सकेन । २०७४ मा २५ स्थानीय तहमा सफलता पाएकोे माओवादी यसपटक २३ पालिकामा सिमित हुनपुग्यो । अघिल्लो पटक नतिजाशून्य भएको सुर्खेतमा एउटा र दैलेखमा दुई वटा पालिकाको नेतृत्व जित्दा रूकुम, कालीकोटलगायतका अन्य जिल्लाहरूमा भने गुमाएको छ । माओवादीले आठ वटा पालिकामा एक्लै लडेर जित हात पार्दा बाँकी १५ मा गठबन्धनको साथ पाएको देखिन्छ ।

कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनका कारण धेरै पालिका गुमाएको एमालेले प्रदेशका नौ वटा स्थानीय तहमा चुनावी गठबन्धन बनाएपनि त्यसको पर्याप्त लाभ भने पाएन । दुई वटामा उपाध्यक्ष भने थपेको छ । तर गठबन्धन गरेर कुनै पनि पालिकाकाने नेतृत्व एमालेको भएन । उसले जितेका १५ वटै पालिकामा एकल प्रतिस्पर्धाबाट जित हात पारेको हो । तथापी एमालेले आफू कमजोर भएका केही पालिमाका माओवादी हराउन कांग्रेस र केहीमा कांग्रेस हराउन माओवादीलाई सहयोग भने गरेको देखिन्छ ।

नेकपा (एकीकृत समाजवादी) ले पनि गठबन्धनको बलमा दुई वटा पालिकामा जित हात पारेको छ । दुई वटा स्थानीय तहमा यसअघि नै माजवादीका उम्मेदवार निर्विरोध भएका थिए । निर्वाचनमार्फत थप दुई वटा पालिकाको नेतृत्व समाजवादीले पाएको छ ।

प्रकाशित मितिः   १२ जेष्ठ २०७९, बिहीबार ०५:०५