माओवादीको निष्कर्ष: कांग्रेसबाट धोका, पार्टीभित्रै अन्तर्घात
सुर्खेत: नेकपा (माओवादी केन्द्र) ले स्थानीय तहको निर्वाचनमा अपेक्षाकृत नतिजा नआएपछि गठबन्धनमाथि दोषारोपण गरेको छ । गठबन्धन दल नेपाली कांग्रेसले बेइमानी गरेको निष्कर्ष माओवादीले निकालेको हो ।
माओवादीका कर्णाली प्रदेश अध्यक्ष विमला केसी सहयात्री दलबाट धोका हुँदा माओवादीले पराजय बेहोर्नुपरेको बताइन् । उनले कर्णालीमा माओवादी बलियो भएका कारण सहकर्मी दलबाटै हराउने प्रयास भएको जिकिर गरिन् । ‘कांग्रेसले हाम्रोविरुद्ध एमालेसँग समेत तालमेल गरेको थियो’ उनले भनिन्, ‘जसरी पनि माओवादीलाई हराउनुपर्छ भनेजसरी कर्णालीमा फरक खालको तालमेल गरियो ।’ त्यसो त माओवादीले पार्टीभित्रै पनि अन्तरघात भएको निष्कर्ष निकालेको छ । अध्यक्ष केसी भन्छिन्, ‘पार्टीभित्रै पनि अन्तरघात भएको छ, यसको समीक्षा गर्दैछौं ।’
अध्यक्ष केसी कर्णालीमा माओवादी एक्लै पनि बलियो अवस्थामा रहेको बताउँछिन् । ‘कर्णालीमा हामी अरु दलभन्दा कमजोर छैनौं’ उनले भनिन्, ‘गठबन्धन गर्ने केन्द्रको सहमतिबमोजिम अघि बढेका हौं, तर गठबन्धनभित्र इमान्दारिता देखिएन । बेइमानी भयो ।’ उनले विगतको नतिजाभन्दा यसपटक बढ्नुपर्नेमा झन घट्नु माओवादीका लागि राम्रो नतिजा नभएको बताइन् ।
२०७४ मा एक्लै चुनाव लड्दा कर्णाली प्रदेशका २५ वटा स्थानीय तहमा जित हात पारेको माओवादी यसपटक गठबन्धन गर्दा पनि २३ ठाउँमा मात्रै विजयी भयो । दुई वटा पालिका गुमाएको छ । कतिसम्म भने माओवादीको सबैभन्दा पकड क्षेत्र मानिएको रूकुम–पश्चिमकै दुई वटा पालिका उसले गुमाउन पुगेको छ । मुसिकोट नगरपालिकामा एमालेसँग गठबन्धन गरेर कांग्रेसले माओवादीका उम्मेदवारलाई पराजित गरेको हो । अघिल्लो पटक रूकुमका सबै पालिका माओवादीले एक्लै जितेको थियो ।
प्रकाशित मितिः १२ जेष्ठ २०७९, बिहीबार १५:५४
साझा बिसौनी ।