फेरि विमानस्थलको चर्चा
सुर्खेत: सुर्खेतमा नयाँ विमानस्थल निर्माणको विषयले पुनः चर्चा पाएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको नीति तथा कार्यक्रममा नयाँ विमानस्थल निर्माणको योजना समावेश गरिएपछि यसले पुनः चर्चा पाएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा संसद्मा प्रस्तुत नीति–कार्यक्रममा भेरीगंगा नगरपालिकाको रामघाटमा नयाँ प्रादेशिक विमानस्थल निर्माण सुरु गरिने योजना समावेश गरिएको छ । यसअघि पनि भेरीगंगाको विमानस्थल निर्माणको योजना अघि सारिएको थियो । प्रारम्भिक अध्ययनसमेत गरिएको थियो । तर प्राविधिक समस्याका कारण विमानस्थल निर्माण हुन नसक्ने भएपछि उक्त योजना ओझेलमा परेको थियो । तर सरकारको आगामी नीति तथा कार्यक्रममा परेपछि उक्त योजना कार्यान्वयनमा जाने बताइएको छ ।
वीरेन्द्रनगरमा सञ्चालन भइरहेको विमानस्थल साँघुरो भएपछि यसको विकल्पको खोजी भइरहेको छ । विमानस्थल विस्तारको प्रयाससमेत सफल हुन नसकेपछि नयाँ विमानस्थल निर्माणको लागि विगतदेखि नै पहल हुँदै आएको छ । यसपटक सरकारले पनि त्यसलाई सम्बोधन गरेको छ ।
यसैगरी नीति तथा कार्यक्रममा भेरी बबई डाइभर्सनको हेडवक्र्स र पावर हाउस निर्माण गर्ने योजनालाई पनि प्राथमिकता दिइएको छ । भेरी बबई निर्माण कार्य चलिरहेको छ । यो वर्ष पावर हाउस निर्माण गरिसने जनाइएको छ ।
यसबाहेक कर्णाली करिडोर निर्माण तथा स्तरोन्नति गरिने भएको छ । करिडोर अन्तर्गत बाँकी रहेको ट्रयाक खोल्ने काम सम्पन्न गरे हुम्लालाई आगामी वर्षभित्र राष्ट्रिय सडक सञ्जालमा जोड्ने नीति राष्टपति भण्डारीले सार्वजनिक गरेकी हुन् ।
प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । नीति तथा कार्यक्रमका आधारमा सरकारले जेठ १५ गते बजेट ल्याउने तयारी गरिरहेको छ ।
प्रकाशित मितिः ११ जेष्ठ २०७९, बुधबार ०५:०२
साझा बिसौनी ।