चुनौतीसँगै अवसर

स्थानीय तहको आगामी पाँच वर्षे कार्यकालका लागि जनप्रतिनिधि निर्वाचित भएका छन् । पालिकामा नयाँ जनप्रतिनिधि आएसँगै नागरिकले आफ्नो क्षेत्रको विकास तथा सुधारको अपेक्षा गरेका छन् । अहिलेका जनप्रतिनिधिलाई अघिल्लो स्थानीय सरकारले गर्न नसकेका काम, अधुरो रहेका योजना र निर्वाचनमा आफूले गरेका प्रतिबद्धता कार्यान्वयन गर्नुपर्ने छ । संविधानतः स्थानीय सरकार अधिकार सम्पन्न छन् । ति अधिकारको अधिनमा रहेर कार्यसम्पादन गर्नु जनप्रतिनिधिहरूको दायित्व हुन आउँछ । अधिकार क्षेत्रको सीमा सँगसँगै बजेटको पनि सीमा छ । बजेटको सीमाभित्र रहेर योजना कार्यान्वयन गर्नुपर्दछ । त्यसैले सबै काम सँगसँगै वा एकैपटक हुन सम्भव हुँदैन । कतिपय योजना क्रमागत रूपमा कार्यान्वयन गर्दै जानुपर्ने हुन्छ । तर यसको तालमेल मिलाउने र नागरिक अपेक्षा पूरा गर्ने कर्तव्य जनप्रतिनिधिमा निहित छ ।

वीरेन्द्रनगर कर्णालीको राजधानी सहर हो । यहाँ आधारभूत पूर्वाधार निर्माणदेखि सामाजिक क्षेत्रमा थुप्रै काम गर्नुपर्ने चुनौती जनप्रतिनिधिलाई छ । दिनानुदिन सहरीकरणतर्फ उन्मुख वीरेन्द्रनगरमा अनेकन् समस्या छन् । सडक पूर्वाधारको विकास र सुधारसँगै विमानस्थलको विकास वीरेन्द्रनगरको महङ्खवपूर्ण योजना हुन् । सुर्खेत विमानस्थल विस्तारको लामो समय चर्चा भएपनि अहिले यो विषय ओझेलमा परेको छ । अघिल्लो वर्ष तीनै तहका सरकारको साझेदारीमा विमानस्थलको विकास गरिने भनिए पनि प्रभावित क्षेत्रका बासिन्दाको अवरोधका कारण अघि बढाइएको प्रक्रियासमेत रोकिएको थियो । सोही कामलाई पुनः अघि बढाउन वीरेन्द्रनगर नगरपालिकासँग निजी क्षेत्रले आग्रह गर्दै आएको छ । फोहोर व्यवस्थापन यहाँको अर्को महङ्खवपूर्ण सवाल हो । केही वर्षअघिसम्म सुन्दर नगरीको उपमा पाएको वीरेन्द्रनगर पछिल्ला वर्षहरूमा दुर्गन्धित बन्दै गएकोे छ । खासगरी मुख्य बजार क्षेत्रको फोहोर व्यवस्थापनको उचित प्रबन्ध हुन सकेको छैन । उपत्यकाभित्रका पर्यटकीय क्षेत्रहरूको संरक्षण तथा प्रवद्र्धनका लागि सुरु गरिएका काम अधुरै छन् । साँघुरा र जीर्ण सडकमा सवारी साधनको चाप अधिक छ । ट्राफिक व्यवस्थापनको ठोस योजना नबन्दा दुर्घटनाको दर बढ्नुका साथै बजार अस्तव्यस्त बनेको छ ।

स्थानीय सरकार स्वायत्त छन् । क्षेत्राधिकारसमेत धेरै भएका कारण पालिकाहरूले कानुन निर्माण गर्नेदेखि सबैजसो विषयगत निकायको रेखदेख गर्नुपर्ने दायित्व छ । शिक्षा, स्वास्थ्यजस्ता विषय पनि स्थानीय सरकारको कार्यक्षेत्रमा पर्दछ । यसबाहेक फूटपाथ, पार्किङ्ग, ट्राफिक र फोहोर व्यवस्थापन, ढल निकास, खानेपानीजस्ता समस्याका चाङ्ग जनप्रतिनिधिका अगाडि छन् । यीमध्ये केही सवालको तत्कालै सम्बोधन गर्नुपर्ने सरोकारवालहरूको अपेक्षा छ । नयाँ जनप्रतिनिधिले विमानस्थल विस्तारका लागि पहल, फुटपाथ तथा फोहोर व्यवस्थापनसँगै शिक्षा र स्वास्थ्यका क्षेत्रमा तत्कालै गर्नुपर्ने थुप्रै कामहरू छन् ।

प्रकाशित मितिः   १० जेष्ठ २०७९, मंगलवार ०५:०२