जनप्रतिनिधि सामु चुनौतीका चाङ्ग
सुर्खेत: स्थानीय तहको आगामी पाँच वर्षे कार्यकालका लागि जनप्रतिनिधि निर्वाचित भएका छन् । पालिकामा नयाँ जनप्रतिनिधि आएसँगै नागरिकले आफ्नो क्षेत्रको विकास तथा सुधारको अपेक्षा गरेका छन् । वीरेन्द्रनगर कर्णालीको राजधानी सहर हो । यहाँ आधारभूत पूर्वाधार निर्माणदेखि सामाजिक क्षेत्रमा थुप्रै काम गर्नुपर्ने चुनौती जनप्रतिनिधिलाई छ । अहिलेका जनप्रतिनिधिलाई अघिल्लो स्थानीय सरकारले गर्न नसकेका काम, अधुरो रहेका योजना र निर्वाचनमा आफूले गरेका प्रतिबद्धता कार्यान्वयन गर्नुपर्ने छ । दिनानुदिन सहरीकरणतर्फ उन्मुख वीरेन्द्रनगरमा अनेकन् समस्या छन् । सडक पूर्वाधार र विमानस्थलको विकास, फूटपाथ, पार्किङ्ग, ट्राफिक र फोहोर व्यवस्थापन, ढल निकास, खानेपानीजस्ता समस्याका चाङ्ग जनप्रतिनिधिका अगाडि छन् । यीमध्ये केही सवालको तत्कालै सम्बोधन गर्नुपर्ने देखिएको सरोकारवाला निकायहरूले बताएका छन् ।
नयाँ जनप्रतिनिधिले विमानस्थल विस्तारका लागि पहल, फुटपाथ तथा फोहोर व्यवस्थापनसँगै शिक्षा र स्वास्थ्यका क्षेत्रमा तत्कालै गर्नुपर्ने थुप्रै कामहरू रहेको सरोकारवालाले बताएका छन् ।
प्रदेश उद्योग वाणिज्य महासंघ कर्णालीका अध्यक्ष पदमबहादुर शाही स्थानीय सरकारले सुुर्खेत विमानस्थल विस्तारको योजना अघि बढाउन जरुरी रहेको बताए । वीरेन्द्रनगर प्रदेशको राजधानीसमेत भएकाले गतिलो विमानस्थल नहुँदा कर्णालीकै समग्र विकास पछाडि परिरहेको उनी बताउँछन् । शाही भन्छन्, ‘विमानस्थल विस्तारको योजना छिटो सञ्चालनमा ल्याउने गरी नयाँ जनप्रतिनिधिले आवश्यक पहल थाल्नुपर्छ । जुन काम अघिल्लो कार्यकालमा पूूरा हुुन सकेन ।’ सुर्खेत विमानस्थल विस्तारको लामो समय चर्चा भएपनि अहिले यो विषय ओझेलमा परेको छ । अघिल्लो वर्ष तीनै तहका सरकारको साझेदारीमा विमानस्थलको विकास गरिने भनिए पनि प्रभावित क्षेत्रका बासिन्दाको अवरोधका कारण अघि बढाइएको प्रक्रियासमेत रोकिएको थियो । सोही कामलाई पुनः अघि बढाउन वीरेन्द्रनगर नगरपालिकासँग निजी क्षेत्रले आग्रह गरेको हो । स्थानीय सरकारले निजी क्षेत्रसँगको सहकार्र्यमा व्यवसाय प्रवद्र्धन तथा रोजगारी सिर्जनाका योजना अघि बढाउनुपर्ने शाहीले बताए । ‘कोरोना महामारीका कारण चौपट भएको उद्योग व्यवसाय क्षेत्रलाई स्थानीय सरकारले विशेष कार्यक्रम बनाएर सम्बोधन गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘घरेलुु उद्यमीहरू थला परिरहेका बेला यसलाई माथि उठाउने कुुरामा जोड दिनुुपर्छ ।’ साना व्यवसायीको सुरक्षा र ठूला व्यवसायीलाई लगानीको वातावरण बनाउनसमेत स्थानीय सरकारले पहलकदमी गर्न आवश्यक रहेको व्यवसायीहरूको भनाइ छ ।
केही वर्षअघिसम्म सुन्दर नगरीको उपमा पाएको वीरेन्द्रनगर पछिल्ला वर्षहरूमा दुर्गन्धित बन्दै गएकोे छ । खासगरी मुख्य बजार क्षेत्रको फोहोर व्यवस्थापनको उचित प्रबन्ध हुन सकेको छैन । उपत्यकाभित्रका पर्यटकीय क्षेत्रहरूको संरक्षण तथा प्रवद्र्धनका लागि सुरु गरिएका काम अधुरै छन् । यसले गर्दा पर्यटन क्षेत्रसमेत फस्टाउन सकेको छैन । वीरेन्द्रनगरमा जटिल बन्दै गएको अर्को समस्या हो, टा«फिक व्यवस्थापन । साँघुरा र जीर्ण सडकमा सवारी साधनको चाप अधिक छ । ट्राफिक व्यवस्थापनको ठोस योजना नबन्दा दुर्घटनाको दर बढ्नुका साथै बजार अस्तव्यस्त बनेको छ । बितेको कार्यकालमा यसबारे जनप्रतिनिधिहरूको ध्यान नपुगेको नगरबासीको गुनासो छ । ‘नगरमा सबै क्षेत्र अव्यवस्थित देखिन्छन्,’ वीरेन्द्रनगर–६ का चुडामणि लामिछाने भन्छन्, ‘स्थानीय सरकारले नगरलाई सुन्दर र व्यवस्थित बनाउन योजनाबद्ध रूपमा काम गर्नुपर्ने देखिन्छ ।’ उनले नगरमा बढ्दो अव्यवस्थित बसोबास पनि ठूलो समस्याका रूपमा रहेको बताए । लामिछानेले यसले गर्दा सहर नै कुुरूप देखिन थालेको जनाए ।
स्थानीय सरकार स्वायत्त छन् । क्षेत्राधिकारसमेत धेरै भएका कारण पालिकाहरूले कानुन निर्माण गर्नेदेखि सबैजसो विषयगत निकायको रेखदेख गर्नुपर्ने दायित्व छ । शिक्षा, स्वास्थ्यजस्ता विषय पनि स्थानीय सरकारको कार्यक्षेत्रमा पर्दछ । वीरेन्द्रनगरभित्रका कतिपय विद्यालय भौतिक संरचना र जनशक्तिको अभाव झेलिरहेका छन् । त्यसतर्फ नगरपालिकाले उल्लेखनीय काम गर्न नसकेको आरोप लाग्ने गरेको छ । शिक्षा क्षेत्रमा स्थानीय सरकारले लगानी बढाउनुुपर्ने श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालयका प्रधानाध्यापक यामलाल घिमिरे बताउँछन् । सामुुदायिक विद्यालयभित्र विद्यार्थीको चाप बढी र शिक्षकको दरबन्दी कम हुँदा गुणस्तरीय शिक्षा दिन चुनौती भइरहेको उनको अनुभव छ । घिमिरे भन्छन्, ‘दरबन्दी कम भएकाले निजी शिक्षक भर्ना गर्नुुपरेको छ, पहिलो कुुरा त नगर शिक्षाले त्यसलाई सम्बोधन गर्नुुपर्ने देखिन्छ ।’ भौतिक पूर्वाधार र जनशक्ति अभाव भएका विद्यालयका लागि नयाँ जनप्रतिनिधिले आवश्यक पहल गर्नुपर्ने उनले जनाए । स्थानीय सरकारले शिक्षा क्षेत्रको विकासका लागि दीर्घकालीन योजना बनाउनेतर्फ जोड दिनुपर्ने उनले सुझाए । पालिकाहरूलाई एउटा विषयको स्थानीय पाठ्यक्रम निर्माण गरेर लागू गर्ने अधिकार दिइएको छ । वीरेन्द्रनगरमा कतिपय कक्षाको स्थानीय पाठ्यक्रम बनाइ लागू गरिएपनि विद्यार्थीले भने पाठ्यपुस्तक पाएका छैनन् । पाठ्यपुुस्तक नहुँदा सिकाइ गतिविधि प्रभावित भइरहेको प्रधानाध्यापक घिमिरेले बताए ।
त्यस्तै, वीरेन्द्रनगरको स्वास्थ्य क्षेत्रको सुधारका लागि नगरपालिकाले योजनाबद्ध रूपमा काम गर्नुुपर्ने देखिएको डा. नवराज केसीले बताए । अघिल्लो कार्यकालमा समेत वीरेन्द्रनगरको स्वास्थ्य क्षेत्रमा सुधारका थुप्रै प्रयासहरू भएको उनले जनाए । ‘स्थानीय सरकारले राम्रा अभ्यासहरू गरेको छ,’ उनले भने, ‘नयाँ जनप्रतिनिधिले त्यसलाई निरन्तरता दिनुुपर्ने आवश्यक छ ।’ नगरभरका स्वास्थ्य केन्द्रको सेवा क्षेत्रलाई विस्तार गर्ने र नगर अस्पतालको स्तरोन्नतिको योजना ल्याइनुपर्ने डा. केसीले बताए । सरसफाइ अभियन्तासमेत रहेका उनले वीरेन्द्रनगरको फोहोर व्यवस्थापनलाई विशेष ध्यान दिएर प्राथमिकताका साथ काम गर्न जनप्रतिनिधिलाई सुझाए । हरियाली वीरेन्द्रनगरको अवधारणालाई प्रभावकारी कार्यान्वयन जोड दिइनुपर्ने उनको भनाइ छ ।
प्रकाशित मितिः ९ जेष्ठ २०७९, सोमबार ०७:१७
रजनी याेगी ।