रोहित चन्द नयाँ क्लबमा अनुबन्ध

सुर्खेत : नेपाली फुटबल खेलाडी रोहित चन्द इन्डोनेसियनकै अर्को क्लब पर्सिक कदिरीसँग अनुबन्ध भएका छन् । त्यहाँको शीर्ष लिग लिगा वानको क्लब पर्सिजा जाकर्तासँगको सम्झौता समाप्त भएलगत्तै रोहित अर्को क्लबसँग अनुबन्ध भएका हुन् ।

पर्सिक कदिरीले आइतवार रोतिहलाई अनुबन्धन गरेको जनाएको छ । पर्सिक कदिरीले फेसबुकमा लेखेको छ, ‘हिमालय ह्वाइट टाइगरलाई स्वागत छ ।’

रोहितको पूर्व क्लब पर्सिजा जाकर्ताले शनिवार रोहितसँगको सम्झैता समाप्त भएको भन्दै बिदाईको भिडियो सार्वजनिक गरेको थियो । सन् २०१७ मा दोस्रोपटक जाकार्तासँग जोडिएका रोहितले ११९ खेल खेल्दा १० गोल गर्नुका साथै आठमा अवसर सिर्जना गरिदिएका थिए ।

रोहितले जाकार्ताबाट घरेलु लिगसहित तीन उपाधि जितेका थिए । सन् २०१८ मा रोहित लिगको उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

रोहितले पहिलोपटक सन् २०१३ देखि २०१५ सम्म जाकार्ताबाट खेलेका थिए । रोहितले सुरुमा पीएसपीएस पेकेनबारुबाट खेलेका थिए । पर्सिक कदिरी इन्डोनेसियामा रोहित अनुबन्ध भएको तेस्रो क्लब हो । स्रोतकाअनुसार ३० वर्षे रोहितले पर्सिक कदिरीसँग तीन वर्षको सम्झौता गरेका छन् ।

प्रकाशित मितिः   ८ जेष्ठ २०७९, आईतवार १९:२४