सकियो मतगणना: कर्णालीमा कांग्रेस पहिलो
सुर्खेत: स्थानीय तहको निर्वाचन–२०७९ अन्तर्गत कर्णाली प्रदेशमा मतगणना सकिएको छ । वैशाख ३० गते भएको निर्वाचनबाट यहाँका ७९ वटै पालिकाको आगामी नेतृत्व चुनिएका छन् । अबको पाँच वर्ष उनीहरूले नै स्थानीय सरकारको नेतृत्व हाँक्नेछन् ।
निर्वाचनको नतिजाले कर्णाली प्रदेशका प्रमुख प्रतिस्पर्धी राजनीतिक दलहरूको शक्ति परीक्षण भएको छ । पाँच वर्षअघिको दलीय ‘पोजिसन’मा ठूलो फेरबदल आएको छ । अघिल्लो स्थानीय निर्वाचनमा प्रदेशका ७९ मध्ये सबैभन्दा धेरै २७ पालिकाको नेतृत्व जितेर एमाले पहिलो शक्ति बनेको थियो । कांग्रेस र माओवादीले समान २५–२५ पालिका जितेका थिए । पाँच वर्ष पछाडि आइपुग्दा एमालेले आफ्नो शक्ति गुमाएको छ भने कांग्रेसले बढाएको देखिन्छ । निर्वाचनको नतिजाअनुसार यो निर्वाचनबाट कांग्रेसले प्रदेशका ३२ वटा पालिकाको नेतृत्व पाएको छ । अर्थात् अघिल्लो निर्वाचनको भन्दा सात वटा पालिका बढाएको छ । उसले २८ पालिकामा उपप्रमुख पनि जितेको हो ।
एमाले भने यसपटक १२ वटा पालिका गुमाएर १५ वटामा सिमित हुनपुग्यो । त्यति मात्रै होइन पहिलोबाट तेस्रो शक्तिमा झरेको छ । एमालेको शक्ति कतिसम्म परीक्षण भएको देखियो भने प्रदेशका दश जिल्लामध्ये पाँचवटामा नतिजा शून्य भयो । अर्थात् पाँच जिल्लाका कुनै पनि पालिकाको प्रमुख पद पाउन सकेन । १५ पालिका प्रमुखसँगै एमालेले २० पालिकाको उपप्रमुख पनि जितेको छ ।
नेकपा (माओवादी केन्द्र) ले यसपटक दुई वटा पालिका गुमाए पनि २३ वटा पालिकाको प्रमुख र २५ उपप्रमुख आफ्नो पक्षमा पार्दै सम्मानजनक शक्ति आर्जन गरेको छ । उसले अघिल्लो चुनावमा नजिताविहीन भएका केही जिल्लामा समेत यसपटक पालिकाको नेतृत्व जित्न सफल भएको छ ।
एमालेबाट टुक्रिएर बनेको नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेशमा भने निकै कमजोर देखिएको छ । समाजवादीले चार वटा पालिकाको नेतृत्व जितेको छ । जितेका चारमध्ये दुई वटामा निर्विरोध भएका थिए । बाँकी दुई वटामा निर्वाचनमार्फत समाजवादीका उम्मेदवार विजयी भएका छन् । यी दुवैमा गठबन्धनको बलमा जितेको देखिन्छ । गठबन्धन नगरेर एकल उमेदवारी दिएका अन्य कुनै पनि पालिकामा एकीकृत समाजवादीले जित हात पार्न सकेन । प्रदेशका चार वटा पालिकाको प्रमुखसहित समाजवादीले ६ वटामा उपप्रमुख समेत जितेको छ ।
कर्णाली प्रदेशमा यसपटक प्रमुख राजनीतिक दलका उम्मेदवारहरूलाई स्वतन्त्र उम्मेदवारहरूले चुनौती दिए । कतिसम्म भने प्रदेशका पाँच वटा पालिकामा स्वतन्त्र उम्मेदवारले नै बाजी मारेका छन् ।
यसैबीच कर्णाली प्रदेशका दुई वटा पालिकाको नेतृत्व महिलाले गर्ने भएका छन् । वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा एमाले उम्मेदवार मोहनमाया भण्डारी विजयी भइन् । नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई पराजित गर्दै उनी नगर प्रमुखमा निर्वाचित भएकी हुन् । भण्डारी यसअघि वीरेन्द्रनगरको उपप्रमुख थिइन् । २०७४ मा नगर प्रमुखमा एमालेका उम्मेदवार पराजित हुँदा पनि भण्डारीले उपप्रमुखमा जित हात पारेकी थिइन् । यसपटक एमालेले उनै भण्डारीलाई प्रमुख पदको उम्मेदवार बनाएको थियो । जसमा उनी सफल भएकी छिन् । प्रदेश राजधानी समेत रहेको वीरेन्द्रनगरको नेतृत्व अब उनैले हाँक्नेछिन् । यस्तै दैलेखको भैरवी गाउँपालिकाले पनि महिला नेतृत्व पाएको छ । नेपाली कांग्रेसकी रीताकुमारी शाही पालिका अध्यक्षमा निर्वाचित भएकी छन् ।
प्रकाशित मितिः ७ जेष्ठ २०७९, शनिबार ०९:३७
साझा बिसौनी ।