नयाँ जनप्रतिनिधिका यस्ता छन् योजना

सुर्खेत: पाँच वर्षअघि निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल बिहीवारदेखि सकिएको छ । स्थानीय सरकारको दोस्रो कार्यकालका लागि नयाँ प्रतिनिधि चुनिएर आइसकेका छन् । वैशाख ३० गतेको चुनावबाट निर्वाचित प्रतिनिधिले अबको पाँच वर्ष ‘गाउँका सिंहदरबार’ हाँक्नेछन् । स्थानीय सरकारका संयन्त्रमा यसपटक धेरैजसो नयाँ र केही पुराना अनुहार पनि दोहोरिएका छन् । उम्मेदवार बनेर मतदाताको घरदैलोमा पुग्दा जे–जस्ता प्रतिबद्धता गरेका थिए, निर्वाचितपछि पनि उनीहरूले त्यसैअनुरूप आफूहरू अघि बढ्ने प्रतिक्रिया दिएका छन् । निर्वाचित भएपनि धेरैजसो पालिकामा सपथ ग्रहरण र स्थानीय सरकार ‐कार्यपालिका) बनिसकेका छैनन् । सरकार गठन भएलगत्तै मतदातकाबीचमा राखेका संकल्प पूरा गर्न योजनाबद्ध रूपमा लाग्ने स्थानीय जनप्रतिनिधिहरू बताउँछन् ।

वीरेन्द्रनगर नगरपालिकाको आगामी कार्यकालका लागि प्रमुखमा मोहनमाया भण्डारी निर्वाचित भएकी छन् । उनी यसअघि नगरको उपप्रमुख थिइन् । नेकपा ‐एमाले) बाट नवनिर्वाचित ढकाल भन्छिन्, ‘मैले अघिल्लो कार्यकालमा आफ्नो ज्ञान, सीप र क्षमताले भ्याएसम्म नगरबासीको हितमा काम गरेँ, विगतको सिकाइले अबको जिम्मेवारी पूरा गर्न मद्दत पुग्ने अपेक्षा छ ।’ वीरेन्द्रनगरको दीर्घकालीन विकासका लागि आफूसँग कार्यान्वयन गर्न सकिने केही ठोस योजनाहरू रहेको ढकालको दाबी छ । शिक्षा, स्वास्थ्य, रोजगारी, प्रविधि र पूर्वाधार विकासमा जोड दिनेगरी नीति–कार्यक्रम र बजेट निर्माण गर्ने उनको योजना छ । ‘शिक्षा, स्वास्थ्य गुणस्तरीय बनाउन त्यसैअनुसारका पूर्वाधार र दक्ष जनशक्ति तयार गर्नुपर्छ भन्ने हामीलाई यसअघिको कार्यकालबाट सिकाइ भएको छ,’ उनले भनिन्, ‘त्योसँगै राजधानी सहरका पूर्वाधार निर्माणमा पनि विशेष योजना बनाएर कार्यान्वयनमा लगिने छ ।’ बजेट अभाव, कतिपय कानुनी अड्चन र पर्याप्त जनशक्ति नहुँदा बितेको कार्यकालमा चाहेर पनि सम्पन्न गर्न नसकिएका योजनालाई यसपटक प्राथमिकताका साथ अघि बढाउने उनको लक्ष्य छ । भण्डारीले निर्वाचनमा मत माग्न जाँदा मतदातालाई नगरको दीर्घकालीन गुरुयोजना निर्माण कार्यलाई पूर्णता दिने, व्यवस्थित सफा र हराभरासँगै प्रविधियुक्त नगर बनाउने तथा तीन वर्षभित्र उपत्यकाको खानेपानी समस्या हल गर्ने बचन दिएकी छन् ।

वीरेन्द्रनगरमा प्रमुख र उपप्रमुखसहित १६ वटै वडामा अध्यक्ष र सदस्यहरू निर्वाचित भएका छन् । नगरको प्रमुख र उपप्रमुखसँगै ११ वटा वडा नेकपा ‐एमाले) ले जितेको छ भने पाँच वटा वडा कांग्रेसले लिएको छ । स्थानीय सरकारका सेवा प्रवाह गर्ने मुख्य संयन्त्र वडा कार्यालयहरू हुन् । त्यसको नेतृत्व वडा अध्यक्षहरूले गर्छन् । नगरले अघि सारेकाबाहेक वडाहरूले स्थानीय आवश्यकता आधारमा थुप्रै एकल योजनाहरू पनि सञ्चालन गर्दै आएका छन् । वडाका जनप्रतिनिधिले मतदातासँग मत माग्दा टोल–टोलमा विकासका योजना अघि बढाउने विभिन्न प्रतिबद्धता जनाएका छन् । अब निर्वाचित भइसेकाकाले वडाबासीलाई दिएका तीनै बचनको कार्यान्वयमा लाग्ने उनीहरूको भनाइ छ । वीरेन्द्रनगर–१ का नवनिर्वाचत अध्यक्ष दिनेश खत्री अघिल्लो कार्यकालका जनप्रतिनिधले अघि बढाएर सम्पन्न हुन बाँकी रहेका योजनालाई प्राथमिकता दिने बताउँछन् । ‘वडामा व्यवस्थित बसपार्क बनाउने कामको थालनी गरिने छ,’ उनले भने, ‘बेरोजगारका लागि सीपमूलक तालिमको व्यवस्था गर्नेगरी योजना बनाइएको छ ।’ उनले वडा सदस्यमा फरक दलबाट निर्वाचित भएर आएका प्रतिनिधि र आफ्ना प्रतिबद्धतालाई संयुक्त रूपमा सम्बोधन हुनेगरी कार्यान्वयनमा लागिने बताए । खत्री नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका हुन् भने वडाका चारै जना सदस्य भने नेकपा ‐एमाले) बाट निर्वाचित भएका छन् । वडाको विकासमा दुवै दल र प्रतिनिधिको योजना बमोजिम अघि बढिने खत्री बताउँछन् ।

वीरेन्द्रनगर–२ भौगोलिक हिसाबले नगरको ठूलो वडा हो । यहाँ नेकपा ‐एमाले) बाट उम्मेदवार बनेका गजबहादुर बुढाक्षेत्री वडा अध्यक्ष निर्वाचित भएका छन् । उनले पनि वडाको शिक्षा, स्वास्थ्य र पूर्वाधारसँगै कृषि र पर्यटन क्षेत्रलाई उच्च प्राथमिकता दिइने बताए । उनी भन्छन्, ‘हाम्रो वडामा सुकुम्बासी समस्या अधिक छ । त्यसको समाधानका लागि भूमिहीन तथा सुकुम्बासी परिवारलाई जग्गाको स्वामित्व दिलाउन मेरो प्रयास हुनेछ ।’ वडाको सडक पूर्वाधारको विकासमा समेत थुप्रै कामहरू गर्नुपर्ने भएकाले सम्बन्धित निकायहरूसँगको समन्वय र सहयोगमा ती कामहरू अघि बढाइने अध्यक्ष बुढाक्षेत्रीले बताए ।

वीरेन्द्रनगर–६ मुख्य बजार क्षेत्रको वडा हो । उक्त वडामा प्रमुख समस्याका रूपमा फोहोर र ट्राफिक व्यवस्थापन रहँदै आएको छ । नवनिर्वाचित वडा अध्यक्ष जनकबहादुर रावल यी सवालमा आफूहरूले वडाबासीले रामै्र महसुस गर्नेगरी काम गर्ने बताउँछन् । ‘एक वर्षभित्र वडा नं. ६ मा केही परिवर्तन गर्न सक्छौँ भन्ने विश्वास छ,’ उनले भने, ‘अहिले निर्वाचित मात्रै भएका छौँ । सपथ लिएपछि योजनाबद्ध रूपमा वडाका समस्या हल गर्नेगरी कामहरू अघि बढाइने छ ।’ रावल नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका हुन् । त्यस्तै, वीरेन्द्रनगर–५ को वडा अध्यक्षमा निर्वाचित लोकबहादुर शाही मत माग्दा वडाका बासिन्दासँग गरेका प्रतिबद्धता पूरा गरिने बताउँछन् । नेकपा ‐एमाले) बाट अध्यक्षमा निर्वाचित शाहीले चुनावमा जाँदा पार्टीको घोषणा–पत्रमा सुकुम्बासी समस्या समाधान गर्नेदेखि पर्याप्त खानेपानीको प्रबन्ध गनेसम्मका प्रतिबद्धता जनाएको बताए । ‘जनमतको कदर गर्दै हामी वडाका प्रतिनिधिहरूले सोहीअनुरूप योजना बनाएर कामहरू गर्नेछौँ,’ शाही भन्छन् ।

प्रकाशित मितिः   ७ जेष्ठ २०७९, शनिबार ०९:३९