कर्णालीमा तीन दलको शक्ति परीक्षण : को सफल, को असफल ?

स्थानीय निर्वाचन : नतिजा विवेचना
सुर्खेत – स्थानीय तहको निर्वाचन–२०७९ अन्तर्गत कर्णाली प्रदेशमा मतगणना सकिएको छ । वैशाख ३० गते भएको निर्वाचनबाट यहाँका ७९ वटै पालिकाको आगामी नेतृत्व चुनिएका छन् । अबको पाँच वर्ष उनीहरुले नै स्थानीय सरकारको नेतृत्व हाँक्नेछन् ।

मतगणना सकिएसँगै हामीले कर्णाली प्रदेशको निर्वाचनको नतिजालाई विवेचना गर्ने प्रयास गरेका छौं । यो नतिजाभित्रका विभिन्न कोणलाई यो समाचार सामग्रीमा समेट्न खोजिएको छ । सबैभन्दा पहिला राजनीतिक दलहरुले जितेको सिट संख्या र उनीहरुको ‘पोजिसन’मा आएको फेरबदलको चर्चा गरौं ।

फेरियो ‘पोजिसन’

निर्वाचनको नतिजाले कर्णाली प्रदेशका प्रमुख प्रतिस्पर्धी राजनीतिक दलहरूको शक्ति परीक्षण भएको छ । पाँच वर्षअघिको दलीय ‘पोजिसन’मा ठूलो फेरबदल आएको छ । कर्णालीमा खासगरी प्रमुख तीन दलको बलियो प्रतिस्पर्धा छ । नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) यहाँका प्रमुख शक्ति हुन् । अघिल्लो स्थानीय निर्वाचनमा प्रदेशका ७९ मध्ये सबैभन्दा धेरै २७ पालिकाको नेतृत्व जितेर एमाले पहिलो शक्ति बनेको थियो । कांग्रेस र माओवादीले समान् २५–२५ पालिका जितेका थिए ।
पाँच वर्ष पछाडि आइपुग्दा एमालेले आफ्नो शक्ति गुमाएको छ भने कांग्रेसले बढाएको देखिन्छ । निर्वाचनको नतिजाअनुसार यो निर्वाचनबाट कांग्रेसले प्रदेशका ३२ वटा पालिकाको नेतृत्व पाएको छ । अर्थात अघिल्लो निर्वाचनको भन्दा सात वटा पालिका बढाएको छ ।

एमाले भने यसपटक १२ वटा पालिका गुमाएर १५ वटामा सिमित हुनपुग्यो । त्यति मात्रै होइन पहिलोबाट तेस्रो शक्तिमा झरेको छ । एमालेको शक्ति कतिसम्म क्षिण भएको देखियो भने प्रदेशका दश जिल्लामध्ये पाँचवटामा नतिजाशून्य भयो । अर्थात पाँच जिल्लाका कुनै पनि पालिकाको प्रमुख पद पाउन सकेन ।

नेकपा(माओवादी केन्द्र)ले यसपटक दुई वटा पालिका गुमाए पनि २३ वटा तहको नेतृत्व आफ्नो पक्षमा पार्दै सम्मानजनक शक्ति आर्जन गरेको छ । उसले अघिल्लो चुनावमा नजिताविहीन भएका केही जिल्लामा समेत यसपटक पालिकाको नेतृत्व जित्न सफल भएको छ ।

यसरी हेर्दा स्थानीय सरकारको दोस्रो कार्यकालका लागि भएको निर्वाचनले कर्णाली प्रदेशमा नेपाली कांग्रेसलाई ठूलो फाइदा पुगेको छ भने नेकपा(एमाले)ले त्यत्ति नै ठूलो क्षति बेहोरेको छ ।

कमजोर समाजवादी
एमालेबाट टुक्रिएर बनेको नेकपा(एकीकृत समाजवादी) कर्णाली प्रदेशमा भने निकै कमजोर देखिएको छ । समाजवादीले चार वटा पालिकाको नेतृत्व जितेको छ । जितेका चारमध्ये दुई वटामा निर्विरोध भएका थिए । बाँकी दुई वटामा निर्वाचनमार्र्फत समाजवादीका उम्मेदवार विजयी भएका छन् । यी दुवैमा गठबन्धनको बलमा जितेको देखिन्छ । गठबन्धन नगरेर एकल उमेदवारी दिएका अन्य कुनै पनि पालिकामा एकीकृत समाजवादीले जित हात पार्न सकेन । प्रदेशका चार वटा पालिकाको प्रमुखसहित समाजवादीले ६ वटामा उपप्रमुख समेत जितेको छ ।

रुकुममा कांग्रेस, दैलेखमा माओवादीको ‘प्रवेश’
यसपटकको चुनावले दलहरुको पकड मानिने जिल्लाहरु उनीहरुको पकडमा नरहेको पनि देखाएको छ । त्यस्तै देखियो रुकुम पश्चिममा । २०७४ को निर्वाचनमा माओवादी केन्द्रले रुकुम पश्चिमका सबै पालिका जितेर अन्य दललाई नतिजाविहीन बनाइएको थियो । तर त्यसको पाँच वर्षपछि दुई वटा पालिका गुमाउन पुगेको छ । माओवादीका प्रभावशाली नेता जनार्दन शर्माकै गृहपालिकासहित दुई वटाको नेतृत्व नेपाली कांग्रेसले खोस्न सफल भएको छ । माओवादीको दबदबा रहेको जिल्लाका दुई स्थानीय तह जित्न कांग्रेसलाई भने एमालेले साथ दिएको थियो । दुवै पालिकामा कांग्रेस र एमालेबीच चुनावी गठबन्धन भएको थियो । त्यसको क्षति माओवादीले बेहोर्नुप¥यो ।

यता दैलेखमा भने अघिल्लो चुनावमा माओवादी नतिजाशून्य भएको थियो । जिल्लाका कुनै पनि पालिका वडासमेत उसले जित्न सकेन । तर यसपटक भने दुई वटा पालिकाको प्रमुखमा बाजी मारेको छ । सांगठनिक रुपमा दैलेखमा माओवादी निकै कमजोर मानिन्छ । तर स्थानीय तहको निर्वाचनमा गठबन्धनको फाइदा उठाउँदै दुई वटा पालिकाको नेतृत्व हात पार्न सफल भएको हो ।

माओवादीले नौमुले र भगवतीमाई गाउँपालिका जितेको हो । उसले नौमुलेमा नेकपा(एकीकृत समाजवादी) र भगवतीमाईमा नेपाली कांग्रेससँग माओवादीले गठबन्धन गरेको थियो ।

प्रमुख दललाई स्वतन्त्रको चुनौती
कर्णाली प्रदेशमा यसपटक प्रमुख राजनीतिक दलका उम्मेदवारहरुलाई स्वतन्त्र उम्मेदवारहरुले चुनौती दिए । कतिसम्म भने प्रदेशका पाँच वटा पालिकामा स्वतन्त्र उम्मेदवारले नै बाजी मारेका छन् । जुम्लाको चन्दननाथ नगरपालिकामा नेपाली कांग्रेसले टिकट नदिएपछि बागी बनेर स्वतन्त्र उम्मेदवारी दिएका राजुसिंह कठायतले कांग्रेसकै उम्मेदवारलाई पराजित गरेर नगर प्रमुखमा निर्वाचित भए । उनीजस्तै अन्य चार पालिकामा पनि स्वतन्त्र उम्मेदवारहरु निर्वाचित भएका हुन् । स्वतन्त्र चिन्ह लिएर विजयी बनेकाहरु विभिन्न दलका बागी उम्मेदवार हुन् । कोही दलले टिकट नदिएपछि स्वतन्त्र बनेका थिए भने कोही दलहरुको चुनावी गठबन्धनप्रति असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

गठबन्धनले का‌ंग्रेसलाई फाइदा, एमालेलाई क्षति

सत्तारुढ दलहरुको चुनावी गठबन्धनले कर्णाली प्रदेशमा नेपाली कांग्रेसलाई फाइदा पुगेको छ । गठबन्धनको बलमा कांग्रेसले रुकुम पश्चिमका दुई वटा पालिकासहित अन्य आधा दर्जन बढी स्थानीय तहको नेतृत्व आफ्नो पक्षमा पार्न सफल भएको छ ।

एमाले भने यो निर्वाचनमा गठबन्धनको सिकार बन्यो । प्रदेशभरका सबै पालिकामा सत्तारुढ गठबन्धनका दलहरुबीच चुनावी तालमेल नभएपनि एमालेको पकड भएका अधिकांशमा गठबन्धन बनेको थियो । जसले गर्दा एमालेले नतिजा गुमाउन पुग्यो । सुर्खेतको चौकुने गाउँपालिकादेखि दैलेखको भगवतीमाईलगायत धेरै पालिकामा एमाले पराजयको मुख्य कारण गठबन्धनसँगको प्रतिस्पर्धा हो ।

अर्कोतर्फ एमालेको कमजोर नतिजामा पार्टी विभाजनको असर पनि देखिएको छ । दैलेखको नौमुलेमा एमालेबाट टुक्रिएको एकीकृत समाजवादीको सहयोगमा माओवादीका उम्मेदवार विजयी हुँदा एमाले तेस्रो हुन पुग्यो । यस्तो क्षति प्रदेशका अन्य पालिकामा पनि देखिएको छ ।

दुई पालिकाको नेतृत्वमा महिला
कर्णाली प्रदेशका दुई वटा पालिकाको नेतृत्व महिलाले गर्ने भएका छन् । वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा एमाले उम्मेदवार मोहनमाया भण्डारी विजयी भइन् । नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई पराजित गर्दै उनी नगर प्रमुखमा निर्वाचित भएकी हुन् ।

भण्डारी यसअघि वीरेन्द्रनगरको उपप्रमुख थिइन् । २०७४ मा नगर प्रमुखमा एमालेका उम्मेदवार पराजित हुँदा पनि भण्डारीले उपप्रमुखमा जित हात पारेकी थिइन् । यसपटक एमालेले उनै भण्डारीलाई प्रमुख पदको उम्मेदवार बनाएको थियो । जसमा उनी सफल भएकी छिन् । प्रदेश राजधानी समेत रहेको वीरेन्द्रनगरको नेतृत्व अब उनैले हाँक्नेछिन् ।

यस्तै दैलेखको भैरवी गाउँपालिकाले पनि महिला नेतृत्व पाएको छ । नेपाली कांग्रेसकी रीताकुमारी शाही पालिका अध्यक्षमा निर्वाचित भएकी छन् ।

प्रकाशित मितिः   ६ जेष्ठ २०७९, शुक्रबार १२:२८