गठबन्धनले फेरियो ‘पोजिसन’

सुर्खेत: कर्णालीका सबैजसो स्थानीय तहको निर्वाचन मत परिणाम सार्वजनिक भएको छ । एक साताअघि भएको चुनावको नतिजाले प्रतिस्पर्धी राजनीतिक दलहरूको विगतको अवस्था बदलिएको छ । प्रदेशमा नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा ‐माओवादी केन्द्र) ले अघिल्लो स्थानीय निर्वाचनमा बनाएको ‘पोजिसन’ फेरिएको हो । सत्तारुढ दलहरूको चुनावी गठबन्धन हुनु, एमाले विभाजनको असर देखिनु, नेपाली कांग्रेसको आन्तरिक बेमेल तथा साना दल र स्वतन्त्र उम्मेदवारहरूप्रति बढेको मतदाताको आकर्षणले दलहरूको विगतको विरासतमा फेरबदल आएको छ ।

पाँच वर्षअघि पहिलो पटक भएको स्थानीय तहको निर्वाचनमा कर्णालीमा एमाले, कांग्रेस र माओवादी केन्द्र मुख्य प्रतिस्पर्धी दलका रूपमा थिए । उक्त निर्वाचनमा यी तीनवटै दलले बराबरजस्तो पालिका जितेका थिए । यसपटक पनि खासगरी यीनै दलहरूबीच चुनावी प्रतिस्पर्धा भएको छ । तर, अधिकांश पालिकामा सत्तारुढ दलको चुनावी तालमेलले कांग्रेस र माओवादी केन्द्रलाई लाभ भएको देखिएको छ भने एमाले थोरै सीटमा खुम्चिनु परेको छ ।

२०७४ को स्थानीय तह निर्वाचनमा कर्णालीका ७९ मध्ये २७ पालिका जितेर एमाले पहिलो दल बनेको थियो । त्यसबेला कांग्रेस र माओवादी केन्द्रले समान २५/२५ पालिका जितेका थिए । यसपटक धेरै पालिकामा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले चुनावी गठबन्धन गरे । एकातिर गठबन्धनसँगको प्रतिस्पर्धा र अर्कोतिर पार्टी विभाजनको असर बेहोर्नुपर्दा एमाले अहिले १५ सिटमा झरेको छ । एमालेले यसपालि विगतमा विजयी भएकामध्ये झन्डै ५० प्रतिशत पालिका गुमाएको हो । कांग्रेस ३१ र माओवादी केन्द्र २१ पालिका जित्न सफल भएका छन् । त्यस्तै, एमाले विभाजनपछि बनेको नयाँ दल एकीकृत समाजवादीले प्रदेशका चार पालिकामा जित हासिल गरेको छ । कर्णालीमा यो पटक स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका चार जना पालिका प्रमुखमा निर्वाचित भएका छन् । यसले पनि ठूला राजनीतिक दलहरूलाई चुनौती थपिएको छ ।

एमालेले प्रदेशका केही पालिकामा अन्य दलहरूसँग छिटफुट तालमेल गरेपनि प्रदेशभरका अधिकांश स्थानीय तहमा गठबन्धनसँग एक्लै भिडेको थियो । जसले गर्दा एमालेका लागि गठबन्धन भारी परेको हो । स्थानीय तहको चुनावी तालमेलले विगतमा गढ मानिएका राजनीतिक दलका क्षेत्रमा यसपटक जनमत उल्टिएको छ । दैलेखमा चुनावी तालमेल गर्दा कांग्रेस–माओवादीलाई फाइदा भएको देखियो भने एमालेलाई क्षति पुगेको छ । अघिल्लो स्थानीय चुनावमा एमालेले जिल्लाका ११ मध्ये सात वटा पालिका जितेर पहिलो भएको थियो । यसपटक त्यहाँ एमालेले चार वटा पालिका मात्रै जितेको छ । कांग्रेसले दैलेखमा अघिल्लो पटक चार वटा पालिका जितेकोमा अहिले एउटा पालिका थपेको छ । पाँच वटा पालिकाको नेतृत्व लिएर कांग्रेस जिल्लामा पहिलो बन्न सफल भएको छ । माओवादी केन्द्रलाई पनि दैलेखमा चुनावी गठबन्धनले निकै फाइदा पुगेको छ । माओवादी केन्द्रले जिल्लाका दुई वटा पालिकाको नेतृत्व लिएको छ । जब कि २०७४ मा माओवादीले दैलेखमा वडासमेत जितेको थिएन । यसपटक केही वडासहित दुई पालिका लिन सफल भएको हो ।

मुगुमा एमालेलाई पार्टी विभाजनसँगै गठबन्धनको ठूलो असर देखिएको छ । अघिल्लो निर्वाचनमा एउटा पालिका प्रमुखसहित चारै पालिकाको उपप्रमुख जितेको एमाले अहिले शून्यमा झरेको हो । एमाले विभाजनपछि बनेको पार्टी एकीकृत समाजवादीले जिल्लामा एउटा पालिका जित्दा एमालेको भने नतिजा शून्य भएको हो । मुगुमा चार स्थानीय तह छन् । जसमध्ये कांग्रेसले दुई तथा एकीकृत समाजवादी र माओवादी केन्द्रले एक÷एक पालिकाको नेतृत्व लिएका हुन् । स्थानीय तहको प्राप्त नतिजाअनुसार जाजरकोटमा पनि दलहरूको विगतको अवस्था फेरिएको छ । उक्त जिल्लामा यसपटक कांग्रेसले एक पालिका थपेको छ भने माओवादीले एक पालिका गुमाएको छ । जिल्लामा कांग्रेस र एमालेले तीन÷तीन वटा स्थानीय तह जित्दा माओवादी केन्द्रले एउटा मात्रै पालिकाको नेतृत्व जितेर चित्त बुझाउनु परेको हो । २०७४ को स्थानीय चुनावमा एमालेले तीन पालिका, कांग्रेसले दुई र माओवादी केन्द्रले पनि दुई वटा पालिका जितेका थिए । माओवादीले यसपालि एउटा पालिका गुमाएको छ ।

त्यस्तै, आठ वटा स्थानीय तह रहेको जुम्लामा एमाले कुनै पनि पालिकाको प्रमुख जितेको छैन । २०७४ को स्थानीय चुनावमा त्यहाँ एमालेले एक पालिकामा अध्यक्ष र अर्कोमा उपाध्यक्ष जितेको थियो । अघिल्लो पटक तिला गाउँपालिकाको अध्यक्ष र सिंजा गाउँपालिकाको उपाध्यक्ष जितेको एमाले अहिले पालिको नेतृत्वमा निर्वाचित नभएको हो । जिल्लामा कांग्रेसले पाँच स्थानीय तह जितेर पहिलो पार्टी बनेको छ । यस्तै, माओवादी केन्द्रले दुई र एक पालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारले बाजी मारेका छन् ।

नौ स्थानीय तह रहेको सुर्खेतमा यसपटक एमाले र कांग्रेसले समान चार÷चार पालिका जिते । यहाँ माओवादी केन्द्रले एक पालिकाको नेतृत्व लिएको छ । अघिल्लो स्थानीय निर्वाचनमा कांग्रेस ६ पालिका जितेर पहिलो भएको थियो भने एमाले तीन वटा स्थानीय तहमा विजयी भएको थियो । यसपटक कांग्रेससँगको चुनावी तालमेलका कारण माओवादीले पनि एउटा पालिका जितेको हो । सुर्खेतमा कांग्रेसले दुई पालिका गुमाउँदा एमालेले एक पालिका थपेको छ । वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, सिम्ता गाउँपालिका र चिङ्गाड गाउँपालिका एमालेले जितेको छ । कांग्रेसले गुर्भाकोट नगरपालिका, लेकवेशी नगरपालिका, बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिकाको नेतृत्व जितेको हो । यसपालि माओवादी केन्द्रले चौकुने गाउँपालिको नेतृत्व लिएको छ । चौकुनेमा कांग्रेसले उपाध्यक्ष र लेकवेशीमा एमालेले उपप्रमुख जितेका छन् ।

पाँच जिल्लामा एमाले नतिजाविहीन

२०७४ मा २७ स्थानीय तह जितेर कर्णाली प्रदेशको पहिलो दल बनेको नेकपा (एमाले) यसपटक भने पाँच जिल्लामा नतिजाविहीन भएको छ । मतगणना सम्पन्न भएका हुम्ला, जुम्ला, कालीकोट, रुकुम–पश्चिम र मुगुमा एमालेले कुनै पनि पालिका जित्न सकेन ।
हुम्लामा यसअघि पनि कमजोर रहेको एमालेले अघिल्ला पटक एउटा पालिकाको प्रमुख जितेको थियो । यसपटक भने उक्त पालिका पनि गुमाएको छ ।

यस्तै एमालेले पालिकाको नेतृत्व शून्य भएको अर्को जिल्ला हो, जुम्ला । यहाँका आठ पालिकाको गणना सम्पन्न हुँदा पाँच वटामा नेपाली कांग्रेस, दुई वटामा नेकपा (माओवादी केन्द्र) विजयी हुँदा एउटामा स्वतन्त्र उम्मेदवारले जित हात पारेका छन् । एमाले भने जितविहीन हुन पुगेको हो । जुम्लामा अघिल्लो निर्वाचनमा एमालेले एउटा पालिकाको प्रमुख जितेको थियो ।

कालीकोटमा पनि यसपटक एमाले नतिजाविहीन भयो । अघिल्लो पटक तीन वटा पालिकाको प्रमुख र उपप्रमुख जितेको थियो । पाँच वर्षपछि दोस्रो पटक निर्वाचन हुँदा तीनै वटै पालिका एमालेले गुमाएको छ । मुगुमा अघिल्लो पटक एउटा पालिका प्रमुख जितेको एमालेले चारै पालिकाको उपप्रमुख र २१ वडाअध्यक्ष जितेको छ । यसपटक सबै पालिका गुमाउन पुगेको छ । रुकुम–पश्चिममा विगतमाजस्तै यसपटक पनि एमाले शून्य भयो । कुनै पनि पालिकामा जित हात पार्न सकेन ।

प्रकाशित मितिः   ६ जेष्ठ २०७९, शुक्रबार ०५:०५