डोल्पामा एमालेलाई फुटको असर, दुई पालिका गुमायो

डोल्पा – अघिल्लो निर्वाचनमा सबैभन्दा बलियो रहेको नेकपा(एमाले)ले डोल्पामा यसपटक भने क्षति बेहोरेको छ । पार्टी फुटको असर देखिएको छ । २०७४ मा जिल्लाका चार वटा पालिका जितेको एमाले यसपटक दुई वटामा सिमित भएको छ । बाँकी २ वटा गुमाएको छ ।

शेफोक्सुण्डो गाउँपालिका र त्रिपुरासुन्दरी नगरपालिका एमालेले जितेको छ । शेफोक्सुण्डोको अध्यक्षमा  धावा सम्डुङ गुरुङ निर्विरोध निर्वाचित भएका हुन् ।  त्रिपुरासुन्दरीमा  जनचन्द्र रोकाया विजयी भएका छन् ।
ठूलीभेरी नगरपालिका कांग्रेसले जित्दा जगदुल्ला र मुड्केचुला गाउँपालिका माओवादी केन्द्रले जितेको छ । ठूलीभेरीको प्रमुखमा कांग्रेसका स्वबर्णकुमार बुढा निर्वाचित भएका हुन् ।

जगदुल्ला गाउँपालिका अध्यक्षमा माओवादीका नारासिं रोकाया तथा  मुड्केचुला गाउँपालिकाको अध्यक्षमा पनि माओवादीकै दत्तबहादुर शाही विजयी भएका हुन् ।

दुई वटा पालिका भने एमाले टुक्रिएर बनेको नेकपा एकीकृत समाजवादीले जितेको हो । काइके गाउँपालिका र छार्काताङसोङ गाउँपालिकाको अध्यक्षमा समाजवादीका उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए ।

डोल्पो बुद्ध गाउँपालिकाको अध्यक्षमा भने स्वतन्त्र उम्मेदवार कार्मा छोइवेल गुरुङ निर्वाचित भए ।

प्रकाशित मितिः   ५ जेष्ठ २०७९, बिहीबार १५:५८