नागरिक फैसला

वैशाख ३० भएको स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । केही पालिकाको गणना सकिएको छ भने केहीको भइरहेको छ । गणना सम्पन्न भएका स्थानीय तहको नतिजा भने रोचक देखिएको छ । कतै प्रमुख दलहरूबीचको गठबन्धनलाई एक्लै प्रतिस्पर्धामा उत्रिएको दलले पराजित गरेको छ भने कतै स्वतन्त्र उम्मेदवारहरूले बाजी मारेका छन् । नतिजा कतिसम्म रोचक छ भने सुर्खेतको बराहताल गाउँपालिकाका निवर्तमान अध्यक्ष तेजबहादुर बस्नेत यसपटक वडा सदस्यमा पराजित भएका छन् । बस्नेत मात्र होइन दोहोरिन खोजेका जनप्रतिनिधिलाई मतदाताले नरुचाएको पाइएको छ । पालिकामा दोस्रो कार्यकालका लागि उम्मेदवार बनेका अधिकांश उम्मेदवार पराजित भएका हुन् । २०७४ को निर्वाचनमा लोकप्रिय मत ल्याएर निर्वाचित भएका कतिपय पालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षहरूले यसपटक हार बेहोर्नुपरेको हो । पार्टीको राम्रै जनाधार भएका ठाउँमा पनि त्यस्ता उम्मेदवारको मत निकै कमजोर देखिएको छ ।

हालसम्मको नतिजा हेर्दा एक कार्यकाल परीक्षण भइसकेका भन्दा नयाँ उम्मेदवारलाई मतदाताले बढी विश्वास गरेर मत दिएको पाइएको छ । केहीबाहेक धेरैजसो वडा र पालिकामा ‘टेस्टेड’ उम्मेदवारलाई मतदाताले फेरि नरोजेका हुन् । कर्णालीका केही पालिकका अध्यक्ष र प्रमुखहरूले राजीनामा दिएर पुनः सोही पदमा उम्मेदवार बनेका थिए । यसरी दोहोरिएर उम्मेदवार बनेकाहरूमध्ये धेरैजसोले पराजित बेहोरेका छन् । अत्यन्तै न्यून संख्याले मात्रै जित हात पारेका छन् । कर्णालीका ७९ स्थानीय तहमध्ये वडा र पालिकामा गरी ३० प्रतिशत हाराहारी जनप्रतिनिधि दोस्रो कार्यकालका लागि चुनावी मैदानमा रहेको आकलन छ । प्रदेशमा स्थानीय तहका झन्डै ४० प्रतिशत जनप्रतिनिधिले कार्यकाल नसकिँदै फेरि चुनाव लड्न राजीनामा दिएका थिए । त्यसमध्ये सबैले भने टिकट पाएनन् । दोहोरिने भन्दा पहिलो पटक उम्मेदवार बनेकाहरू नै निर्वाचित हुने सम्भावना बलियो देखिएको छ ।

पछिल्लो निर्वाचन अघिल्लो पटक निर्वाचित जनप्रतिनिधिहरूको मूल्याकन पनि भयो । नागरिक मूल्यांकनमा उत्तीर्ण सावित भएकाहरू दोस्रो पटक पनि अनुमोदन हुन सक्दछन् भने अनुत्तीर्ण हुनेहरूले पराजत भोग्नुपर्दछ । जुन अहिले भइरहेको छ । आफ्नो पाँच वर्षे कार्यकालमा जनअपेक्षा बमोजिम काम गर्न नसकेकाहरूलाई नागरिकले ‘दण्ड’ दिएका छन्, मत नदिएर । यसले पहिलेको जनप्रतिनिधिहरूलाई मात्रै होइन यो निर्वाचनबाट विजयी भएर आउने नयाँ जनप्रतिनिधिहरूलाई पनि सचेत बनाउनेछ । नागरिक हितमा काम गर्न उत्तरदायि बनाउने अपेक्षा गर्न सकिन्छ ।

प्रकाशित मितिः   ४ जेष्ठ २०७९, बुधबार ०५:०१