दोहोरिने उम्मेदवारलाई ‘दण्ड’

पहिलो पटक जित, दोस्रो पटक पराजित

सुर्खेत: स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । मत परिणामको प्रारम्भिक संकेतले दोहोरिन खोजेका जनप्रतिनिधिलाई मतदाताले नरुचाएको पाइएको छ । पालिकामा दोस्रो कार्यकालका लागि उम्मेदवार बनेका अधिकांश उम्मेदवार पराजित भएका हुन् । २०७४ को निर्वाचनमा लोकप्रिय मत ल्याएर निर्वाचित भएका कतिपय पालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षहरूले यसपटक हार बेहोर्नुपरेको हो । पार्टीको राम्रै जनाधार भएका ठाउँमा पनि त्यस्ता उम्मेदवारको मत निकै कमजोर देखिएको छ । हालसम्मको नतिजा हेर्दा एक कार्यकाल परीक्षण भइसकेका भन्दा नयाँ उम्मेदवारलाई मतदाताले बढी विश्वास गरेर मत दिएको पाइएको छ । केहीबाहेक धेरैजसो वडा र पालिकामा ‘टेस्टेड’ उम्मेदवारलाई मतदाताले फेरि नरोजेका हुन् ।

यसपालि सोही पदमा चुनाव लडेका दैलेखका चार पालिकाका निवर्तमान अध्यक्षहरू पराजित भएका छन् । गुराँस गाउँपालिका, डुङ्गेश्वर गाउँपालिका, नौमुले गाउँपालिका र महाबु गाउँपालिकाका बहालवाला अध्यक्षले राजीनामा दिएर पुनः अध्यक्षका उम्मेदवार बनेका थिए । उनीहरू पहिलो पटक पालिकाको उम्मेदवार बनेकाहरूसँग पराजित हुनुपरेको हो । गुराँस गाउँपालिकाका निवर्तमान अध्यक्ष खेमराज ओली र उपाध्यक्ष दिपाकुमारी बिसी नेपाली कांग्रेसबाट उम्मेदवार बनेका थिए । सोमवार सम्पन्न मत गणनाको परिणामअनुसार उनीहरू दुवै पराजित भए । त्यहाँ ६ वडासहित पालिका प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) ले जितेको हो । अध्यक्षमा टोपबहादुर विसी र उपाध्यक्षमा सिवाकुमारी खड्का निर्वाचित भएका छन् । आठ वटा वडा रहेको गुराँसमा यसअघि कांग्रेसको जनाधार राम्रो भएको मानिन्थ्यो । यसपटक कांग्रेसले गुराँसका दुई वटा वडामा चित्त बुझाउनु परेको हो । गुराँस गाउँपालिका–८ का एक मतदाता भन्छन्, ‘उनै व्यक्तिहरू फेरि उम्मेवार बन्दा मतदाताले मत दिएनन्, कि बितेको कार्यकालमा राम्रो काम गरेर मन जितेको हुनुप¥यो । हैन भने फेरि निर्वाचित हुन गाह्रै हुने देखियो ।’
डुङ्गेश्वर गाउँपालिकामा निवर्तमान अध्यक्ष नगेन्द्रबहादुर मल्ल कांग्रेसबाट पुनः उही पदमा उम्म्मेदवार बने । मल्ल पनि यसपालि पराजित भए । अघिल्लो स्थानीय तहको निर्वाचनमा लोेकप्रिय मत ल्याएर निर्वाचित भएका उनलाई एमालेका सुन्दरकुमार केसीले हराएका हुन् । २०७४ को निर्वाचनमा यहाँ अध्यक्ष र उपाध्यक्षसहित अधिकांश वडामा कांग्रेसका उम्मेदवार निर्वाचित भएका थिए । अहिले अध्यक्ष र उपाध्ययक्षसहित बहुमत वडा एमालेले लिएको छ । उक्त पालिकाका कतिपय वडाका जनप्रतिनिधिसमेत पुनः उम्मेदवार बनेका थिए । दोरिएकामध्ये धेरै पराजित भएका हुन् ।

यस्तै, नौमुले गाउँपालिकाका निवर्तमान अध्यक्ष भदे बुढा मगर अहिले पनि अध्यक्षको उम्मेदवार थिए । कांग्रेसबाट उम्मेदवार बनेका उनी यसपटक भने पराजित भएका छन् । त्यहाँ नेकपा ‐माओवादी केन्द्र) का छविराम सुवेदी पालिका अध्यक्षमा निर्वाचित भएका छन् । नौमुलेमा माओवादी केन्द्र र एकीकृत समाजवादीको चुनावी तालमेल थियो । दैलेखकै महाबु गाउँपालिकका निवर्तमान अध्यक्ष जंगबहादुर शाही दोस्रो कार्यकालका लागि यसपटक नेकपा ‐एकीकृत समाजवादी)बाट उम्मेदवार बनेका थिए । उनलाई कांग्रेसका लछुमन गुरुङ्गले पराजित गरेका छन् । २०७४ को निर्वाचनमा एमालेबाट निर्वाचित शाही पार्टी विभाजनपछि एकीकृत समाजवादीमा लागेका थिए । त्यहाँ माओवादी केन्द्र र एकीकृत समाजवादीको चुनावी गठबन्धन थियो ।

यी केही प्रतिनिधिमूलक जनप्रतिनिधि हुन् । जसले उही पदमा दोहोरिन खोज्दा पराजय भोग्नुप¥यो । कर्णालीका ७९ स्थानीय तहमध्ये वडा र पालिकामा गरी ३० प्रतिशत हाराहारी जनप्रतिनिधि दोस्रो कार्यकालका लागि चुनावी मैदानमा रहेको आकलन छ । प्रदेशमा स्थानीय तहका झन्डै ४० प्रतिशत जनप्रतिनिधिले कार्यकाल नसकिँदै फेरि चुनाव लड्न राजीनामा दिएका थिए । त्यसमध्ये सबैले भने टिकट पाएनन् । प्रारम्भिक नतिजालाई आधार मान्दा दोहोरिने भन्दा पहिलो पटक उम्मेदवार बनेकाहरू नै निर्वाचित हुने सम्भावना बलियो देखिएको मध्यपश्चिम विश्वविद्यालयका पूर्व डीन पिताम्बर ढकाल बताउँछन् । पछिल्लो समय मतदाता निकै सचेत भइसकेको उनले जनाए । ‘दोहोरिएकाहरूलाई कामको मूल्याङ्कन गरेर मात्र भोट दिने गरिएको पाइयो,’ उनले भने, ‘जनअपेक्षा अनुसार काम भएका ठाउँमा कतिपय जनप्रतिनिधि फेरि निर्वाचित भएका उदाहरण पनि छन् ।’ जनता सधैँ परिवर्तनको पक्षमा देखिने हुँदा नयाँ अनुहारप्रति बढी आशा र भरोसा हुने उनको भनाइ छ ।

यसपटकको सुरुआती परिणामबाट पालिकामा मात्र नभइ वडामा समेत दोहोरिन खोज्नेहरू धेरै पराजित भएका छन् । वीरेन्द्रनगर–१ मा एमालेबाट वडा अध्यक्षका उम्मेदवार बनेका गंगाराम सुनार र वीरेन्द्रनगर–१६ मा कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवार पूर्णबहादुर ढकाल पराजित भएका छन् । यी दुवै यसअघिको कार्यकालमा वडा अध्यक्ष थिए । वडा नं. १ मा सुनारबाहेक चार जना सदस्यमा भने एमालेले जितेको छ । त्यस्तै, वडा नं. १६ मा कांग्रेसका दुई सदस्य निर्वाचित भएका छन् । स्थानीय तहको निर्वाचनमा दल र अनुभवी उम्मेदवारभन्दा पनि युवा पुस्ता र नयाँ अनुहारलाई मतदाताले रोजेको देखिएको हो । सोही पदमा फेरि उम्मेदवार बनेका र एक कार्यकाल जनप्रतिनिधि भइसकेकाले मतसमेत कम ल्याउने गरेका छन् ।

अहिलेसम्मको विवरणअनुसार कर्णालीमा केही ठाउँमा भने दोस्रो कार्यकालका लागि उनै व्यक्ति पालिका प्रमुखमा निर्वाचित भएका छन् । डोल्पाको मुड्केचुला गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका दत्तबहादुर शाही एक हजार चास सय तीन मतसहित पुनः निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका लंकबहादुर रोकायाले एक हजार तीन सय ६७ मत ल्याएका छन् । त्यस्तै, डोल्पाको काइके गाउँपालिका र छार्काताङसोङ गाउँपालिकामा निर्विरोध भएका दुवै जना दोस्रो कार्यकालका लागि चुनिएका हुन् । काइके गाउँपालिका अध्यक्षमा अंगतकुमार राना र छार्काताङसोङ गाउँपालिकामा सेनाङ गुरूङ अध्यक्षमा निर्विरोध भएका हुन् । उनीहरू २०७४ को स्थानीय तह चुनावमा एमालेबाट अध्यक्ष निर्वाचित भएका थिए । एमाले विभाजपछि यी दुवै एकीकृत समाजवादीमा छन् ।

प्रकाशित मितिः   ३ जेष्ठ २०७९, मंगलवार ०५:०५