मत गणनामा ढिलाइ
वैशाख ३० गते स्थानीय तहको निर्वाचन भयो । निर्वाचनको मतगणना कार्य जारी छ । तर गणनाको अहिलेसम्मको गति भने निकै सुस्त देखिएको छ । शुक्रवार मतदान सम्पन्न भएपछि रातिदेखि नै केही पालिकाको गणना थालिएको थियो भने अधिकांशको शनिवार बिहानदेखि गणना सुरु गरिएको हो । तीन दिनको गणना हेर्दा कतिपय पालिकाको अन्तिम नतिजा आउन हप्ता दिनभन्दा बढी लाग्ने देखिन्छ । वीरेन्द्रनगरमा शनिवार मध्यान्ह १२ बजेपछि मत गन्न सुरु गरिएकोमा सोमवार साँझसम्म सात वटा वडाको मात्रै नतिजा सार्वजनिक भएको छ । यही गतिमा मत गणना भए १६ वटा वडा रहेको वीरेन्द्रनगरमा कम्तीमा एक साता समय लाग्ने देखिएको छ । ६७ हजार ५४ मतदाता रहेको वीरेन्द्रनगरमा ४८ हजार एक सय ७९ अर्थात् ७१ प्रतिशत मत खसेको छ । अन्य पालिकाहरूमा पनि गणनाको गति ढिलो छ । निर्वाचन सम्पन्न भएको तीन दिन बितिसक्दा केही वडाबाहेक धेरैजसोको परिणाम नआएको हो ।
मत गन्न ढिला हुँदा गणनास्थल बाहिर बसेका मतदाताले परिणामको पर्खाइ पट्यारलाग्दो भएको प्रतिक्रिया दिएका छन् । वीरेन्द्रनगरको मत गणना बुद्धपथस्थित सुर्खेत सभाहलमा चलिरहेको छ । सभाहलको पश्चिम र पूर्वी गेटमा परिणाम सुन्नेको भिड लाग्ने गरेको छ । कछुवा गतिमा भइरहेको मत गणनाका कारण नतिजाको पखाई दिक्क लाग्दो भएको मतदाताको गुनासो छ । आफ्नो वडाको परिणाम सुुन्न इच्छुुकहरूको उपस्थिति सभाहलको दुवैतिर बाक्लो देखिने गरेको हो । नतिजा सुन्न दैनिक धाइरहनुपर्ने भएकाले अलि छिटो गणना हुुने व्यवस्था मिलाउनुपर्ने मतदाताहरू बताउँछन् । वीरेन्द्रनगरमा २०७४ को स्थानीय तह निर्वाचनको मत गणना गर्न पाँच दिन लागेको थियो । त्यसबेला पहिलो दिन एक ठाउँमा मात्र मतगणना सुरु भएता पनि दोस्रो दिनदेखि दुई ठाउँबाट मतगणना गरिएको थियो ।
विगतको अभ्यास र अनुभवले पनि मत गणनाको विधिमा केही सुधार गर्नुपर्ने हो । तर निर्वाचन आयोगले पुरानै प्रक्रिया अबलम्बन गर्दा गणना कछुवा गतिमा भइरहेको छ । हालसम्मको प्राप्त मत परिणाम र समयलाई आधार मान्ने हो भने एउटा मत सदर वा बदर ठहर्याउन झन्डै १० देखि १५ मिनेटसम्म लाग्ने गरेको गणना स्थलमा रहेका राजनीतिक दलका स्वयम्सेवकहरू बताउँछन् । यसरी हेर्दा केही धेरै मतदाता भएका पालिकाहरूको अन्तिम नतिजा आउन हप्ता दिनभन्दा बढी समय लाग्ने आकलन छ । परिणाम आउन ढिला हुन थालेपछि कर्णाली प्रदेश निर्वाचन कार्यालयले गणनालाई छिटो–छरितो गर्न सुझाएको छ । गणनाको सुस्त गतिलाई बढाउनेतर्फ आयोग र गणनामा संलग्न प्रतिनिधिहरूले ध्यान दिनु आवश्यक देखिएको छ ।
प्रकाशित मितिः ३ जेष्ठ २०७९, मंगलवार ०५:०३
सम्पादकीय ।