सत्तारुढ दलको प्रस्ताव एमालेद्वारा अस्वीकार

काठमाडौं । सत्तारुढ दुई दल नेपाली कांग्रेस र माओवादीले प्रमुख विपक्षी एमालेसँग संविधान संशोधन विधेयकलाई संसदबाट टुंगो लगाउने प्रस्ताव राखेका छन् । तर, लगातार संसद अवरुद्ध पार्दै आएको एमालेले सरकारी प्रस्ताव अस्वीकार गरेका छन् ।

बुधबार बसेको तीन दलको बैठकमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले संशोधनको विषयबस्तुमा सहमति नभए प्रक्रियामा सहमति गर्ने प्रस्ताव गरे । दुबै नेताले त्यसका लागि संसदको अवरोध हटाउन एमालेलाई आग्रह गरेका छन् ।

सरकार र प्रतिपक्षको बीचमा विषयबस्तुमा सहमति हुन नसके आआफ्नो असहमति राखौं । तर, संसदबाट टुंगो लगाउँदा भन्यौं’ उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले भने ।

तर, एमालेले चुनावको प्रक्रिया अघि बढाउने हो भने मात्र संसदको अवरोध हटाउने बताएको छ । एमाले अध्यक्ष ओलीको भनाइ उदृत गर्दै गृहमन्त्री निधिले भने, ‘निर्वाचनको कुरा गर्नुहुन्छ भने हुन्छ । संशोधनको कुरा गर्नुहुन्छ भने हामी संसद खोल्दैनौं ।’

एमाले उपाध्यक्ष भीम रावलले पनि संविधान संशोधन विधेयक स्वीकार्य नभएको बताएका छन् ।

बैठकमा एमालेले प्रधानमन्त्री प्रचण्डलाई सहमति वि विमती मध्ये एक बाटो रोज्न आग्रह गरेका छन् । प्रधानमन्त्रीले निषेधको राजनीति गर्न खोजेको आभास भएको भन्दै रावलले भने, ‘प्रधानमन्त्रीले कुन बाटो रोज्नु हुन्छ, विमति कि सहमतिको प्रष्ट पार्नुस् भनेका छौं ।’

प्रमुख तीन दलको बैठकमा स्थानीय चुनावबारे छलफल भएको छ । र, स्थानीय तहकै चुनाव गर्न तीनै दल सकारात्मक देखिएको माओवादी नेता नारायणकाजी श्रेष्ठले बताए ।

बैठकमा माओवादीले स्थानीय तहकै चुनाव गर्नु पर्ने मत राखेको छ । एमालेले पनि आफ्नो पार्टीको सरकार हुँदा स्थानीय निकायको चुनाव गर्न खोज्दा कांग्रेसले नमानेको र अहिले स्थानीय तह पुनर्संरचनाको प्रतिवेदन बनिसकेको भन्दै तहकै चुनाव गर्नु पर्ने बताएको छ ।

यसमा कांग्रेस पनि सकारात्मक देखिएको छ । तर, मिति कहिले घोषणा गर्ने भन्ने समझदारी हुन सकेको छैन ।

प्रकाशित मितिः   १३ पुष २०७३, बुधबार १४:३०