पत्रकार महासंघ सुर्खेतमा लगाइएको ताला खुल्यो

नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको कार्यालयमा लगाइएको ताला खोलिएको छ । सदस्यता शुद्धिकरणको विषयमा असन्तुष्ट केही पत्रकारहरुले गत मंसिर ३ गते महासंघको कार्यालयमा तालाबन्दी गरेका थिए ।

महासंघका पदाधिकारी र असन्तुष्ट पक्षबीच छलफल भइ सहमति जुटेपछि आज ताला खोलिएको हो ।

शाखाको सदस्यता शुद्धिकरणमा जिल्लामा देखिएको असन्तुष्टि समाधानका लागि केन्द्रलाई जिम्मा दिने निर्णय भएको छ । शुद्धिकरणमा जिल्ला शाखाले सिफारिस गरेको नामावलीमा असन्तुष्ट सदस्यहरुको हकमा विधान बमोजिम महासंघ केन्द्रले निर्णय गर्ने सहमति भएको हो ।

महासंघकोतर्फबाट अध्यक्ष गणेशकञ्चन भारती, सचिव ललित बुढा तथा असन्तुष्ट पक्षबाट ललित भट्टराई र नवराज शर्माले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

सुर्खेत शाखाले शुद्धिकरण अभियान अन्तर्गत पत्रकारितामा क्रियाशिल नरहेको, राजनीतिमा सक्रिय रहेको, सरकारी सेवामा प्रवेश गरेको, गैरसरकारी संघसंस्थामा कार्यरत रहेको लगायतका मापदण्ड बनाएर ९० जना पुराना सदस्यहरुको सदस्यता खोरेजीका लागि सिफारिस गरेको थियो ।

प्रकाशित मितिः   १३ पुष २०७३, बुधबार १३:५४